आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउनको १२ औं दिन : तथ्यांक संकलनमा अलमल

लकडाउनको १२ औं दिन : तथ्यांक संकलनमा अलमल


  • ढोरपाटन संबाददाता
  • चैत्र २२ २०७६, शनिबार

बागलुङ, २२ चैत – लकडाउनको समयमा काम नचलेर गुजारा चलाउन कठिन परिवारका लागि राहत दिने प्रयोजनका लागि लगत संकलनमा लागेका बागलुङका स्थानीय तहले अझै तथ्यांक तयार गर्न सकेका छैनन् । केन्द्र सरकारले विपन्न तथा मजदुर परिवारको तथ्यांक संकलन गरी तत्काल राहत दिन भनेको १२ औं दिन बितिसक्दा पनि यहाँका स्थानीय तह भने लगत संकलनमा अलमल छन् । जिल्लाका चार नगर र छ गाउँपालिकाले शुक्रबारसम्म काम चलिरहेको प्रतिक्रिया दिए ।

बागलुङ नगरपालिकाले कोरोना रोकथाम र राहतको लागि कोष स्थापना गरेपनि शुक्रबारसम्म राहत वितरण गरेको छैन । नगरले तिरुपती बालाजी आश्रम कुँडुलेसंगको सहकार्यमा विपन्न र मजदूरको लागि धौलागिरी बहुमुखी क्याम्पसमा दिवा खानाको व्यवस्था गरेपनि चौतर्फी आलोचना भएपछि त्यो पनि हटाएको छ । ‘सूची तयार हुँदैछ’ नगर प्रमुख जनकराज पौडेलले भने, ‘छिट्टै राहत दिन्छौं ।’ विपन्न र मजदुरहरुको लगत संकलनका लागि वडाध्यक्षहरुलाई जिम्मेबारी दिईएको उनले बताए ।

जैमिनी नगरपालिकाले पनि वडाध्यक्षमार्फत नगरका विपन्न र मजदुरको लगत संकलनको कामसँगै केही वडामा राहत वितरणको काम भईरहेको छ । शुक्रबार जैनपा–१० राङखानीमा राहत सामग्री वितरण गरेको छ । त्यहाँ रहेका १ सय १० जना गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए । वडामार्फत तथ्यांक संकलन गर्दा कम प्रभावितहरु समेत सूचिकृत हुँदा जैमिनीलाई राहत वितरणमा समस्या भएको नगर प्रमुख इन्द्रराज पौडेलले भने, ‘वास्तविकले मात्रै राहत पाउन, दुरुपयोग नहोस् भन्ने हो ।’
काठेखोला गाउँपालिकाले पहिलो चरणको राहत सामग्री वितरणको काम सकेको अध्यक्ष अमर थापाले बताए । बरेङ गाउँपालिकाले बिहिबार बिहानदेखि वडाध्यक्षहरुको सिफारिसमा विपन्न तथा मजदुर परिवारलाई राहत सामग्री वितरण गर्ने काम जारी रहेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । बरेङले आन्तरीक र प्रदेश सरकारको सहयोग गरी १५ लाख रुपैयाँ बराबरको राहत वितरण गर्दैछ । तत्कालका १ सय ३८ परिवारलाई राहत दिईने अध्यक्ष शर्माले वताए ।
अति विपन्न र मजदुर परिवारको लगत संकलन गरिरहेको ताराखोला गाउँपालिकाले स्थानीय उत्पादन खरिदको काम सकेको छ । तथ्यांकसँगै खाद्यान्न जुटाउने काम चलिरहेको अध्यक्ष प्रकाश घर्तिले बताए । कोदो, मकै, गहुँ, जौ संकलन गरेर पीडित परिवारलाई बाँड्ने योजनामा ताराखोला छ । ६० मुरी मकै र १५ मुरी कोदो जुटाईएको गाउँपालिकाले फापर र जौ लगायतका अन्य बालीको समेत संकलन गरिरहेको छ ।
गल्कोट नगरपालिकाले गरिब तथा मजदुरका लागि राहत उपलव्ध गराउन आवश्यक सामग्रीको खरिद प्रकृयाका अघि बढाएको प्रमुख भरत गैरेले जानकारी दिए । शुक्रबारको नगर कार्यपालिकाको बैठकमा राहत वितरण कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको गैरेले बताए ।
ढोरपाटन नगरपालिकामा लकडाउनका कारण प्रभावितलाई राहत वितरण छलफल र तथ्यांक संकलन भैरहेको नगर प्रमुख देवकुमार नेपालीले बताए । तमानखोला गाउँपालिकाले पनि प्रदेश सरकारले पठाएको राहत रकम र गाउँपालिकाको स्रोत प्रयोग गरी राहत विरणका लागि लगत संकलनमा जुटेको छ । बडिगाड गाउँपालिकाले पनि वडा कार्यालय मार्फत अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले प्रदेश सरकारबाट प्राप्त राहत वितरण गर्नका लागि तथ्यांक संकलन कार्यमा जुटेको गाँउपालिका अध्यक्ष मेयरसिंज पाईजाले बताए । निसीखोलाले गाउँपालिकाले पनि राहतको लागि तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->