बागलुङ, २३ चैत– लकडाउनको बेवास्ता गर्नेहरुमाथि बागलुङ प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ । प्रहरीले आईतबार बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ समेत ग¥यो । प्रहरीले सक्रियता बढाएपछि जिल्ला सदरमुकाम पछिल्ला केही दिनको तुलनामा थप सुनसान बनेको छ । ‘आवश्यक काममा रोकिएको छैन, अनावश्यक हिँड्नेलाई सचेत गराईएको हो’ प्रहरी उपरीक्षक नवराज भट्टले भने ‘यो कदमले केही हदसम्म बाहिर निस्कने कम भएका छन् ।’ नागरिकमा चेतना फैलाउनकै लागि फोर्स परिचालन गर्नुपरेको उनले बताए ।
भट्टका अनुसार, बिनाकाम बजारमा हिँडीरहेका ४५ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आईतबार नियन्त्रणमा लिएर छाडेको छ । आईतबारदेखि लकडाउन कार्यान्वयनमा कडाई थालेको र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन शनिबारदेखि नै सूचना गरेपनि अटेर गर्नेलाई नियन्त्रणमा लिएको उपरीक्षक भट्टले बताए । दुध, पानी, तरकारी, औषधिजस्ता अत्यावश्यक सामग्री खरिदका लागि जानेहरुबाहेक कसैलाई बाहिर नजान आग्रह गरेको उनले बताए । एक दिन सामान किन्दा चार दिनको जोहो गर्न प्रहरीले आग्रह गरेको छ । दूधको लागि बिक्रेतालाई घर–घरै पु¥याउने व्यवस्था गर्न आग्रह गरेको भट्टले बताए । प्रहरीले लकडाउन अबधिभर उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने कार्य जारी राख्ने जनाएको छ ।





