बागलुङ, २४ चैत– ब्यक्तिगत सुरक्षा कवज (पिपिई) प्रयोगविधिको अभाव भइरहेको वेला बागलुङ नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई त्यसको प्रयोगविधि समबन्धी एकदिने तालिम दिएको छ । नगरपालिका हेल्थ डेस्क र क्वारेन्टाइनमा खटिएका स्वस्थ्यकर्मी र नगरका सुरक्षाकर्मीका लागि सुरक्षा कबज र स्वास्थ्य सुरक्षा सामग्री समबन्धी तालिम दिएको हो ।
कोरोना भाईरससँग बँच्नका लागि बिरामीको उपचार तथा रेखदेखमा खट्नुपर्नेहरुका लागि पीपीई, माक्स, ग्लवस् र सेनिटाईजर लगायतको प्रयोग बिधिका बिषयमा तालिम दिईएको बागलुङ नगर जनस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । करिव २५ जनालाई तालिम दिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डासँगको सहकार्यमा नगरपालिकाले तालिम चलाएको हो । रामरेखा आधारभूत बिद्यालय भवनमा निर्माण गरिएको क्वारेन्टाईनका लागि खटाईएका स्वास्थ्यकर्मी, मालढुंगा हेल्थ डेस्कमा खटाईएका स्वास्थ्यकर्मी र नगर रक्षकहरुलाई तालिम दिईएको हो ।
‘क्वारेन्टाईनमा बिरामी आए भने उनीहरुको सेवामा खट्ने सुरक्षा र स्वास्थ्य क्षेत्रका कर्मचारी हो, त्यसैले उनीहरुलाई सुरक्षा कवचको महत्व सहित प्रयोग बिधिको बिषयमा तालिम दिएका छौं ।’ खनालले भने, ‘असावधानिका कारण थप समस्या पैदा नहोस भन्ने हो ।’ नेपाली सेनाकी डा.राधिका सापकोटा सहितको टोलीले उनीहरुलाई तालिम दिएको थियो ।
रामरेखाको क्वारेन्टाईनका लागि तीन सिफ्टमा २ जनाका दरले ६ जना स्वास्थ्यकर्मी खटाईएको छ । ‘¥यापिड टेष्ट हुने कुरा छ, संक्रमणको शंका लागे क्वारेन्टाईन प्रयोगमा आउँछ’ खनालले भने, ‘हामी तयारी अवस्थामा रहनुपर्छ भनेर लागेका छौं ।’ ¥यापिड टेष्टका क्रममा शंकास्पद बिरामी देखा परे क्वारेन्टाईनमै राखेर थप चेकजाँचको व्यवस्था मिलाउने जिल्ला स्तरिय कमाण्ड पोष्टले निर्णय गरेको उनले बताए ।





