काठमाण्डौ, २५ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले कोरोना संक्रमणको महामारीबाट देश र जनतालाई सुरक्षित राख्न सरकार लागिपरेको बताएका छन् । ओलीले कोरोना भाइरसका सन्दर्भमा देशवासीका नाममा सम्बोधन गरेको यो दोस्रो पटक हो । ओलीले अझै दुई साता कठिन चुनौतीको सामना गर्न देशबासीलाई अपिल गरेका छन् । उनले आगामी दुई साता अहिले भन्दा धेरै चुनौतीपूर्ण हुने बताएपछि लकडाउन अझै दुई साता लम्बिने देखिएको हो । भारतमा कोरोनाले महामारीको रुप लिन थालिसकेको अवस्थामा नेपालमा दुई सातादेखि जारी लकडाउन वैशाख मध्यसम्म जाने अवस्था देखिएको हो । ‘ दुई सातादेखि लकडाउनका कारण म सम्बेदनशील छु । तर यो महामारीसँग जुध्न हामीसँग अर्को विकल्प पनि छैन’, उनले भने, ‘हामीले अझै दुई साता योभन्दा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ ।’ ओली नेतृत्वको मन्त्रिपरिषद्ले सोमबार मात्रै लकडाउनलाई वैशाख ३ सम्म लैजान निर्णय गरिसकेको छ । तर कोरोनाको संक्रमणमा नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा सरकाले लकडाउनलाई वैशाख मध्यसम्म लैजान सक्ने संकेत गरेको हो । सरकारल पर्याप्त तयारी गरेकै कारण कोरोनाले नेपालमा महामारीको रुप नलिएको ओलीले तर्क गरे । ‘नेपाल सरकारको प्रयासकै कारण नेपालमा नौजनालाई मात्रै कोरोना देखिएको छ’, उनले अगाडि भने, ‘संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण भूमिकाका कारण यो सम्भव भएको हो । कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी र चिकित्सको प्रयासले हामीलाई सजिलो भएको छ । तर चुनौती अझै आउँदैछ ।’ ओलीले लकडाउनका कारण समस्यामा परेका नागरिकको हितका लागि सरकार प्रयत्नशील रहेको पनि बताए । ‘सीमापारि रहेका नेपालीलाई उतै व्यवस्थापन गरेका छौँ’, उनले भने, ‘नेपालमा रहेका कसैलाई पनि लकडाउनका क्रममा समस्या पर्न दिँदैनौँ ।’





