बागलुङ, २६ चैत– नेपाल पत्रकार महासंघ बागलुङ शाखाले मिडिया परिचालन विशेष बजेट बिनियोजन गर्न स्थानीय तहसँग अपिल गरेको छ । जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चारमाध्यमको नियमितताका लागि स्थानीय सरकारको दायित्व हुने भन्दै महासंघले विशेष बजेट तथा राहत प्याकेजको माग गरेको हो ।
नयाँ बर्षको समयमा शुभकामना तथा विज्ञापनको माध्यमबाट सञ्चारमाध्यामले आफ्नो स्रोतको जोहो गर्दै आएको भन्दै महासंघले बिषम परिस्थितीका कारण त्यो अवस्था नरहेको भन्दै प्याकेजसहितको बजेटको माग गरेको हो ।
‘यो नयाँ बर्ष २०७७ को सम्मुखमा यस्तो संकट आएको छ कि जुन समय जिल्लाका सञ्चारमाध्यमले शुभकामना÷विज्ञापनमार्फत स्रोत संकलन गरेर अरु केही महिना मिडिया चलाउन सहज अवसरको रुपमा प्रयोग गर्थे ।’ बुधबार अध्यक्ष दिल शिरीषद्वारा जारी अपिलमा भनिएको छ– ‘नयाँ बर्षमा शुभकामना आदान–प्रदान उत्साहप्रद र शोभनिय नहुने परिस्थिति तथा जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि सबै स्थानीय तहलाई मिडिया परिचालनमा बिशेष बजेट बिनियोजन गर्न र कोरोना संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धि सचेतनामूलक सन्देश र सूचना प्रकाशन÷प्रसारण गर्न महासंघ, सहकार्य गर्न स्थानीय सरकारसँग आग्रह गर्दछ ।’
महासंघले सञ्चारमाध्यमको यस बर्षको स्थानीय तहमा तिर्नुपर्ने कर छुटसहित पत्रकारलाई बिशेष राहत प्याकेज ल्याउन अनुरोध गरेको छ । तथ्यमा आधारित समाचार सामग्री सम्प्रेषण गर्दै कोरोनाबिरुद्धको अभियानमा भुमिका खेलेको भन्दै जिल्लास्थित पत्रकारहरुलाई महासंघले अझै जिम्मेबार भएर लाग्न आग्रह गरेको छ । महासंघले राजनीतिक दल, सामाजिक संघसंस्था सबैलाई स्वार्थ, आरोपप्रत्यारोपमा नरमाई कोरोना संकटको सामनामा एकतावद्ध हुने अपिल गरेको छ ।
जिल्लास्थित कतिपय सञ्चारमाध्यमले यो कठिन घडीमा पनि नियमित तलब नदिएको गुनासो रहेकाले तत्काल उपलब्ध गराउन, यदी नियमित छ र लकडाउनमा जटिलता भए थप पेश्की तलबको व्यवस्था गर्न समेत महासंघले अपिल गरेको छ ।





