बागलुङ, २६ चैत– सरकारले घोषणा गरेको -यापिड टेष्टमा ढिलाई भएको भन्दै आलोचना भैरहेका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली बुधबार बागलुङ आईपुगेको छ । भेण्टिलेटर, पिपिई, मास्क, किट लगायतका स्वास्थ्य सामग्रीसहित मेडिकल ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पोडेल नेतृत्वको टोली बागलुङ आएको हो । टोलीमा नाष्टका बैज्ञानिक किशोर पाण्डे सहभागी छन् ।
स्वास्थ्य मन्त्रालयले २ थान भेण्टीलेटर, १ सय थान पर्शनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), १ हजार थान मास्क र १ हजार थान -यापिड टेष्टका लागि प्रयोग हुने आरबिटि किट लगायतका समाग्री ल्याएको पौडेलले बताए । उक्त सामग्री अस्पताललाई हस्तान्तरण गरिने छ । कोरोनाको जिवाणु अध्ययनका लागि नास्टले बैज्ञानिक पाण्डेलाई बागलुङ खटाएको हो । महाशाखाले -यापिड टेष्टका लागि बागलुङमा रहेका प्राबिधिकहरुलाई तालिम दिन आँफुहरुलाई खटाएको पौडेलले बताए । बैज्ञानिक पाण्डे भने तालिमसँगै जिवाणु अध्ययनका लागि केही समय बागलुङ र पर्वतमा रहने छन् ।
‘स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालका प्राबिधिकलाई हामीले जाँच गर्न सिकाउँछौं’ पौडेलले भने ‘त्यसपछि काम गर्ने उहाँहरुले नै हो ।’ दुईदेखि तीन घण्टा अवधिको तालिमपश्चात बिहिबारबाटै परीक्षण सुरु हुने पौडेलले बताए । तालिम र परामर्शपछि आँफु फर्किने र जिल्लामै उपलव्ध जनशक्तिले टेष्टको काम गर्ने उनले बताए ।
‘यो नयाँ बिधि हो, साथीहरुले तालिमपश्चात काम सुरु गर्नुहुन्छ’ उनले भने ‘नयाँ टेक्नोलोजी भएकाले यसले परिणाम १५ मिनेटमा दिन्छ ।’
यता, स्वास्थ्य कार्यालयले भने बिहिबारनै टेष्ट सुरु हुनेमा आशंका व्यक्त गरेको छ । आँफुहरु तयारी अवस्थामा रहेको भएपनि प्राबिधिकलाई तालिम र टेष्टमा सहभागि गराउनुपर्ने मापदण्ड आईनसकेकाले बिहिबारनै सुरु हुन्छ भन्न कठिन रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए ।
अञ्चल अस्पतालका ११ जना र स्वास्थ्य कार्यालयका १ जनासहित १२ जना प्राबिधिक भने तयारी अवस्थामा छन् । ‘मोडालिटी पाईएको छैन, सरहरुसँगै मोडालिटी आएको कुरा छ’ गुरौले भने ‘बिहिबार मोडालिटी अध्ययन गरेपछि मात्रै कसरी काम थाल्ने भन्ने योजना बन्छ ।’ जिल्लाभर ८ सयभन्दा धेरै भारत लगायत देशबाट आएका र संक्रमितको सम्पर्कमा रहेका समेतगरी ९ सय जनाभन्दा धेरैको -यापिड टेष्ट हुनेछ ।





