बागलुङ, २७ चैत– कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारका लागि लकडाउन भएको १६ औं दिन बितिसक्दा पनि पश्चिम बागलुङको वडिगाड गाउँपालिकाले राहत वितरण गर्न सकेका छैन । लकडाउनको मारमा परेका अति विपन्न र मजदुरीका आधारमा श्रम गर्नेहरुको पहिचानमा सकस हुँदा यी पालिकामा राहत वितरण हुन नसकेको हो ।
घरगाडी हुनेहरु राहतको लाईनमा !
वडा तहबाट वास्तविक मजदुर तथा विपन्नको तथ्यांक नआउँदा वडिगाड गाउँपालिकामा अहिलेसम्म राहत वितरण हुन सकेको छैन । ‘सामग्री खरिद गरेर तयारी अवस्थामा छ तर वास्तविक समस्यामा परेकाहरुको पहिचान गर्न समस्या भयो’ गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले भने– ‘वडाहरुबाट आएका तथ्यांकमा हुनेखानेको समेत नाम आयो, दुरुपयोग रोक्न तत्कालका लागि वितरणको काम रोकेका हौं ।’
गाँउपालिका राहत वितरण गर्न तयार भएपनि वडाले पठाएका तथ्यांकमा विश्वास गर्न नसक्दा राहत वितरणमा अल्झिनु परेको पाईजा दुखेसो सुनाए । ‘वास्तविक पीडितको विवरण मागेको तर घरजग्गा र गाडीवालाको समेत नाम आयो’ अध्यक्ष पाईजाले ढोरपाटनसंग भने, ‘राहतको नाममा राजनीति गर्न खोजियो ।’ वास्तविक पीडितको पहिचान नभएसम्म राहत वितरण नहुने पाइजा बताए ।
‘दलिय छलफल र आवश्यक तयारीपछि तथ्यांक संकलनको काम सुरु भएपनि राहत दिएर भोट जोगाउने खेल भयो, कोरोना आतंकभन्दा राहत आतंक छ ।’ पाईजाले भने, ‘दिने सरकारले हो तर सिफारिस राजनीतिक रुपमा भयो, सहयोग गर्नुपर्ने बेला मौका हेरियो ।’
गाउँपालिकाको ९ लाख र प्रदेश सरकारबाट प्राप्त हुने ५ लाख गरी १४ लाख रुपैयाँको कोषबाट गाउँपालिकाले राहत दिने भनेको छ । तत्कालै समस्या भएका दर्लिङका दुई परिवारलाई ९० किलो चामल र अन्य सामग्री भने गाउँपालिकाले उपलब्ध गराईसकेको छ ।
ग्रामिण क्षेत्र भएकाले स्थानीय उत्पादन र अैंचोपैंचोमा समेत उनीहरुको दैनिकी चल्ने गरेको छ । ‘विपन्न र मजदुरहरु खाली छाकै बसेको छैन’ पाईजाले भने, ‘चुनौतीको सामना गरेर भएपनि भोकै मर्न चाहिँ दिन्नौं ।’
बडिगाडमा गोर्खामा उत्पादित पिपिई
राहत वितरणमा केही समस्या भएपनि बडिगाड गाँउपालिकाले सबै स्वास्थ्य संस्थामा पिपिईको जोहो गरेको छ । गोरखामा उत्पादन भएका ५० थान, महाबीर पुनको आविष्कार केन्द्रबाट प्राप्त १० थान, सांसद देबेन्द्र पौडेलमार्फत प्राप्त ५ थान र धौलागिरी अन्चल अस्पतालमार्फत प्राप्त १० थान गरि ७५ थान पिपिई हरेक स्वास्थ्य संस्थामा पुराएको छ । विरामीका लागि सहज उपचार गर्न स्वास्थ्यकर्मीलाई सहज होस भनेर पिपिई तयारी अवस्थामा राखेको पालिकाले जनाएको छ ।
पालिकाभित्र रहेका स्वास्थ्य संस्था, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र आपतकालिन अवस्थामा खटिने स्वयंसेवकका लागि समेत पिपिई तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखाका चुडामणि कँडेलले जानकारी दिए ।

ग्रामीण भेग भएपनि उच्च सतर्कता
सदरमुकाममा कोरोनाका संक्रमित बिरामी देखा परेपछि अन्य स्थानीय तहले सतर्कतालाई चुस्त बनाएका छन् । अन्तरपालिका आवागमनमा कडाईसंगै सरोकारवालासँग सहकार्य गर्दै सरसफाईमा विशेष ध्यान दिईएको गाउँपालिका अध्यक्ष बताउँछन् । प्रहरी परिचालन गरेर भीडभाड कम गर्न र कोरोना संक्रमण रोकथामबारे सावर्जनिक सूचना जारी गरेको वडिगाड गापालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिए । गुल्मी र बागलुङको सिमा खर्बाङ नाकामा विशेष निगरानी बढाईएको छ ।
बडिगाड गाउँपालिका–२ खर्वाङमा १ जना, वडा नं. ७ भिमगिठेमा २ जना र वडा नं. ८ को किटेनी माविमा १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । तमानखोलामा भारतबाट आएका ७ जना र तेस्रो मुलुकबाट आएका १ जना क्वारेन्टाईनमा रहेका छन् । उनीहरुलाई खानेबस्ने व्यवस्था पालिकाले गर्दै आएको छ।





