हामीले आज पाएका मन्त्री र कर्मचारीहरु आकाशबाट फुत्त खसेका होइनन् । नत यिनीहरु राजा जनकले हलोको अनौले फुत्त निकालेकी सिता जस्तै निस्किएका हुन् । आजका मन्त्री, कर्मचारी, राजनीति, न्याय प्रशासनमा छन् । उनीहरु हाम्रो समाजकै उत्पादन हुन् । तपाईं हामी सबै यहिं समाजका उत्पादन हौं । हामीले पाउने उत्पादनमा बिउको ठुलो महत्व भएजस्तै हामीले देशको राजनीति, प्रशासन, न्याय क्षेत्रमा रोपेका मान्यता र विचार उनीहरुका क्रियाकलापबाट प्रर्दशित हुन्छन् ।
आज विश्व समुदाय भाइरससंग लडिरहेको छ, यस्तो कठिन अवस्थामा पनि केहि व्यक्ति कमिसनको चक्करमा लागेर न्युनतम मानविय समवेदनामाथि बन्चरो हान्दैछन् । यस्ता समाचार सुन्दा पनि ती मान्छे नामका मुनावाहरुदेखि दया जागेर आउँछ । हामीलाई के लागिरहेको छ भने जति नै ठुला र खतरनाक भाईरस आएपनि आफु नमरेसम्म मर्छु जस्तो लाग्दैन । जब आज मरिन्छ तब भोलिपल्ट दुईदिन हुन्छ । बाँचुन्जेल ‘मै खाउ मै लाउ’ भन्ने सोचले मान्छेहरु भोलिका लागि सम्पत्ति थुपार्न हानथाप गर्दैछन् । अरु त अरु लास बेर्ने कात्रोमा पनि कमिसन खानेहरुको कमी छैन । आज पुँजिपतिहरुको धन र पुँजी बाकसमा उकुसमुकुस छ । आज मान्छे पैसा लिन पनि मान्दैन किनकि पैसाबाट कोरोना सर्छ भन्ने त्रास जो छ । क्या दिन आए हगि ।
देशमा किन यस्तो बेतिथी छ ? किन यस्ता कठिन अवस्थामा पनि न्युनतम मानवीयता समेत ख्याल नगरी विभिन्न स्वरुप देखाइदैछ ? भ्रष्टचारको चास्नीमा डुबेकाहरुले पनि बाहिर चाहिँ हामीले जस्तै प्रश्न गर्छ । सबैलाई आफु ठिक नै लाग्छ, आफु सहि नै लाग्छ । भ्रष्टचार गरिरहेकाले त्यी क्रियाकलापलाई गलत ठान्दै ठान्दैन । त्यो उनीहरुको नित्यकर्म जस्तै हो । हामीले आर्थिक अनियमिततालाई मात्र भ्रष्टचार सोच्ने गर्दछौ तर बानी व्यवहार र कानुनी प्रावधान विपतरित अरुलाई दुःख हुने र आफ्ना हितका लागि मात्र सोच्ने व्यवहार पनि भ्रष्ट नै हो ।
सामान्यतः नेपालीहरुमा भ्रष्ट मानसिकताले भरिएको छ भन्दा अत्युक्ति नहोला । अर्काको खरबारीको दुई पाजा घाँस राम्रो देंखे मस्काउने, यसो आफ्ना आठोको जग्गा एक बित्ता भएपनि तन्काउने, विद्युत कार्यालय, अस्पतालमा र सेवा लिने ठाउँमा पालो मिचेर आफुले पहिला सेवा लिने, सकेसम्म सोर्सफोर्स लगाएर जागिर खाने यस्ता स–साना व्यवहारबाट सुरु हुने भ्रष्ट व्यवहारले देशका मुख्य द्वारहरु पनि दुषित भएका छन् । प्रणालीका टाउका मात्र दुषित छैनन् । हातखुट्टा, अंगप्रत्यांग सबै आफ्ना क्षमता र दक्षता अनुसार भ्रष्ट छन् । सानो गाउँमा सानै भ्रष्टचार, ठुला ठाउँमा ठुलै भ्रष्टचार ।
हाम्रो भ्रष्ट र कमिसन मानसिकताका लागि एउटा उदारण दिन चाहन्छु । गोँगबु बसपार्कभित्र एउटा अस्थायी शौचालय थियो । त्यहाँ पिसाब गरेको पाँच रुपैयाँ र दिसा गरेको दश रुपैयाँ लिईदोरहेछ । तर, त्यहाँभित्र निकै फोहोर छ, त्यहाँ नाक नछोपी पस्न सक्ने अवस्था चाहिँ छैन । पिसाबले ठेलेपछि जसरी पनि थैली खाली गर्न मान्छे बाध्यताका बिच त्यहाँ पस्नै पर्छ । दिसा र पिसाबमा ५ रुपैयाँको फरकले गर्दा त्यहाँ दिसा गरेको र पिसाब गरेको भन्ने विषयमा तनाब हुँदोरहेछ । दिसा गरेकाले ढाँटेर पिसाब गरेको भन्दै ढाँट्ने र समय अलि बढि लगाएपछि पिसाब गरेकालाई पनि दिसा गरेर ढाँटेको भन्दै ट्वाइलेट सन्चालकहरुले करकर गर्दा रहेछन् । पाँच रुपैयाँ लाभको चक्करमा नेपालीहरुको वास्तविक रुप त्यो भेगमा एक घण्टा जति बसे देखिन्छ । फाइदाका लागि मान्छे साइफनमा खसेको पाँच रुपैँया यसो टिस्युले पुछेर खल्तीमा हाल्न कुनै दकस मान्दैन । हामी दिसालाई पिसाब गरेको भनि ढाँट्नुमा हाम्रो मनोविज्ञानले सिकेको ज्ञानले काम गर्छ । पायो भने नेपालीले पिसाबमा पनि कमिसन खान्छ भने अन्य फाइदा पुग्ने कुरामा कमिसन खानु त भगवानको बरदान, भाग्यले दिएर आएको धन, खान लेखेको धन भैहाल्यो नि । किनकी हाम्रो समाज भाग्यबादको विउबाट उम्रिएको हो ।
हाम्रो समाज के कारण यस्तो भ्रष्ट बन्यो ?
हामी र हाम्रो सोच किन यस्तो निच भयो भन्ने बिषयमा हामी कुन सँस्कृति, कस्तो खालको परम्परा, राज्य व्यवस्थाबाट आयौं भन्ने इतिहासका सामान्य कुरा खोतल्नै पर्छ । नेपालमा शाह वंशीय शासन कालबाटै आर्थिक अनियमितता भए । १८५७ मा रणबहादुर शाह राज्यकोषबाट पैसा कुम्लाएर काशी गएका थिए । रानी सुप्रभाले पनि उनलाई पैसा बनारस पठाएकी थिइन् । रण बहादुर नेपाल फर्किदा राज्यको ढुकुटी सकियो । भारदारको सल्लाहमा ब्राम्हाणलाई दिइएका विर्ता, गुठी र देबालयका गुठी राष्ट्रियकरण गरि ढुकुटी केहि भरेर फेरि मोजमस्ती गरे । ढुकुटी मासेको बिषयमा कचरी बसेको थियो । १८६३ वैशाख १० गतेको राती रणबहादुरले आफुसँगै शेर बहादुर मल्ललाई पनि ढुकुटी मासेको बात लाग्नुपर्ने बताउँदा आफूले समातेको तरबारले रणबहादुर शाहको गर्धन छिनाएका घटना इतिहासमा पढ्न पाइन्छ । त्यो पछि भिमसेन थापा प्रधानमन्त्री हुँदा पनि आफ्ना भाइ, परिवार, आफन्तले राज्यकोषमा रजाई गरे । आफ्ना आफन्त र शक्तिशाली मान्छेले गरेका अनियमिततालाई ढाकछोप गरिन्थ्यो ।
मल्ल कालमा विशेष कला र क्षमता भएकाले दरबारमा जागिरको अवसर पाउथें नै । तर भाषा र लिपी लगाएतको शिक्षाका लागि विभिन्न सँस्कृत पाठशालामा अक्षर चिनेका र बनारस पुगेर ज्ञान लिने प्रचलन बस्यो । त्यहाँ गएर शिक्षा पाएकाहरुले नै राजकीय तथा प्रशासनिक क्षेत्रमा प्रवेश पाए । त्यही प्रवेश पाउने अधिकांश ब्राम्हाण समुदायका थिए र उनीहरुले नै राजकीय र प्रशासनिक क्षेत्रमा एकछत्र राज गरे । किनकी राणाकालमा ठुला जातलाई बाहेक अरुलाई पढ्ने अनुमती नै थिएन । पढ्यो र ज्ञानका कुरा सुन्यो भने पनि कठोर सजाय हुन्थ्यो ।
सात सालअघि यता सँस्कृतका पण्डित पुरेत या पाठशालाबाट दिक्षित सरकारी कर्मचारी काजी, सरदार, खरिदार, मुखियाराइटर आदिलाई नै समाजका मुख्य बुद्धि भएका मानिन्थ्यो । ठुला जातका ब्राम्हाण, क्षत्री, नेवार समुदायका व्यक्तिले राणाशासकको तलुवा चाटेर होस् या चाकडी गरेर होस्, शासकको मन जित्थे र विर्ता पाउथे, न्याय निसाफ हेर्ने, कर उठाउने, प्राकृतिक स्रोत र ठुला व्यापार ठेक्का लिने हाइहुकुम चल्थ्यो । ‘पढिलेखि छैन काम, हलो जोत्यो खायो माम’ ः पढेका मान्छेले काम गर्न नहुने र अनपढको काम हलो जोत्ने हो । जस्ता कथनसँग बर्ण व्यवस्थाले सिर्जित परिकल्पनालाई शिक्षा व्यवस्थाले अझै दरिलोसँग बारबान्धो लगाउने काम गरिदियो । बर्णव्यवस्थाले सिर्जित विचारलाई शिक्षा प्रणालीले अझै दरिलो विचारधारा बनाइदिएको थियो । मान्छे अक्षर पढ्न सक्ने भए ।
अक्षर ठम्याउन सक्ने संख्या अर्थात् शिक्षित त भए तर ज्ञान चाहिँ धर्म र घरपरिवार वरपरबाट सिके । माछा खाना हुन्न भनेर पढाउने शिक्षकले विद्यार्थीकै अगाडि माछा खान्छ र विद्यार्थीले माछा किन खाएको भनेर सोध्यो भने किताबका माछा पो खानु हुँदैन खोलाका माछा त खाना हुन्छ नि भन्ने उत्तर दिन्छ । रुद्री चण्डि र पुराण लगाउने बेला एउटा पण्डितले धन, सम्पती केहि होइन्, लोभलालच गर्नु हुँदैन, मरेर लानु केहि छैन । यी सुनचाँदी, हिरामोती केहि होइन भन्दै आम मान्छेलाई चिच्याएर कहन्छ, उनीहरुलाई मनोवैज्ञानिक ‘ब्लाकमेलिङ’ गर्छ तर तीनै व्यक्तिबाट टपरामा दुइचार पैसा यसो झार्न पाए हुन्थ्यो भन्ने अनेकौ जुक्ति निकाल्छ र स्वाहा भन्दै पैसा बटुलेर टाप कस्छ ।
संविधान र कानुनमा भ्रष्टचारलाई अपराध मानिन्छ तर दिनानुदिन यस्ता कार्यहरु असुरको रगतबाट जन्मिएका राक्षस जस्तै बढिरहेका छन् । हाम्रा अग्रज र बुद्धिजिवी भनौ, उनीहरु बोल्दा एउटा बोले र काम व्यवहार चाहिँ अर्कै गरे । त्यो संस्कारको प्रभाव हाम्रा मान्यवरमा किलो गडेझै गडेको छ । यहिं भनाई र गराईले नै समाजमा हात्तीको देखाउने दाँत र खाने दाँतका कथन जन्मायो । हामीले कामभन्दा पनि अरुलाई ठगेर, फटाही गरेर, अरुलाई दबाएर धनी बन्ने परम्परा बनायांै । काम गर्ने, श्रम गर्नेलाई उल्टै छिछि गर्ने, दासदासी बनाउने काममा हाम्रा शासक र व्यवस्था लाग्यो ।
साना जातका बनाइएका मान्छेले पढ्न पाएनन्, जसका कारण जागिर पाएनन् । हिजैबाट जागिर खाएकाहरु राज्यका मुख्य निकायमा पुगे, घुम्दैफिर्दै राजनीति शासन व्यवस्था पनि आफ्ना हातमा आए । फरक राजनीतिक विचारबाट आएपनि उनीहरुको पुरानो भ्रष्ट ज्ञानको स्रोत नास भएन । लोभीपापी मनमा कुनै बद्लाव आएन । जसका कारण आज पनि नेपाल खाल्डोमा भएका ठुला–साना भ्रष्टचारमा शर्मा, ढकाल, वाग्ले, बास्कोटा, अधिकारी, देउवाहरु कै नाम किन आउँछ भनेर मेरा अनपढ बाबाले मसँग प्रश्न गर्दा यसको उत्तर दिन कठिन हुन्छ । तर, यसको उत्तर जसरी पनि नेपाली समाजमा माथी भएका शासन र त्यहीं शासकहरुको गुणमा पुगेर ठोकिन्छ । धेरै साथीहरुले यस्ता कुरा लेख्दा जातीय कुरा किन गरेको भन्ने कडा खण्डन गर्नुपनि होला तर यो तितो यथार्थ हामीले स्वीकार्नै पर्छ ।
राणा शासनदेखि नै राजनीति, सेवा प्रशासनमा हालीमुहाली गर्दै आएको ब्राम्हाण क्षेत्री नै हुन् । तर शासन व्यवस्थाबाट बाहेक भएका नेतृत्व र प्रशासनिक सेवाबाट बञ्चित विकट ठाउँका ब्राम्हाण क्षेत्री भने निरिह नै छन् । पछिल्लो चरण अवसर पाएका दलित, जनजातीका अगुवाहरु पनि उस्तै भ्रष्ट बनेका छन् । स्वास्थ्य, शिक्षा, यातायात, सेना प्रहरी सबैतिर विभिन्न नामका ठुला भ्रष्टचारहरु हुँदै आएका छन् । ‘सिकसिक देउरानी घरै जेठानी’ यसै कारण भनियो । आजको परिदृश्य हिजोबाट सुरु भएका व्यवहारको निरन्तरता हो । परिवर्तित समय, नयाँ आविष्कार र सिद्धान्त घोक्दा पनि भ्रष्ट व्यवहार अझै जान सकेको छैन । त्यहीं सोच, मान्यता र व्यवहार तल्लो तहसम्म आज पनि प्रसारित छन् । राज्य र समाज व्यवस्थाले सिर्जित मान्यता र सोच आज प्रशासनदेखि हरेक नेपालीको दिमागमा बढिरहेको छ । त्यहीं भ्रष्ट व्यवहार र अनियमिततालाई राजनीति, न्यायलयले यो वा त्यो बहानामा समर्थन गरेर हुर्काइरहेका छन् । परिवार, समाजहुँदै केन्द्रसम्म विभिन्न स्वरुपमा भ्रष्टचार संरक्षित र विकसित भइरहेका छन् ।
बाउले चोर्ने काम गरे छोरो यसै पनि चोर बन्छ । राज्यले जे सिकाउँछ, बुद्धिजिवीले जे सिकाउँछ, समाज र परम्पराले जे सिकाउँछ त्यो देशका नागरिकले पनि त्यहिँ सिक्छ । आज पनि राजनीति, सेवा प्रशासन, न्याय प्रशासनमा बसेका मान्छेले नेपालीको रगत र लासहरुमाथि पनि भ्रष्टचार गरेका छन् । कमिसन खाएका छन् । तिनलाई लाजभन्ने नै छैन । लाज श्रमहिन मान्छेलाई उसको विवेकहिनतालाई ठिक पार्ने कानुनले हो तर हाम्रो देशको कानुनपालकहरु पनि भ्रष्टाचारबाट मुक्त छैनन् । जो सभापति उहिँ बापती क्या ! सयौ बर्षअघि सिकेका मान्यताको तालुमा छिरेको सोचलाई अहिलेका कागजी किताबका अक्षरले पखाल्न सकेको देखिदैन । बाउले श्रद्धा गर्दा बिरालो बानेको देखेको छोराले विदेशी विद्यालयबाट डिग्री हासिल गर्दा आज खोजेरै भएपनि श्रद्धा गर्दा बिरालै बान्ने यो निरन्तरतालाई कसरी रोक्ने ? उ बिरालो बान्नुको कारण खोतल्न कहिल्यै चाहँदैन ।
विद्यालयमा सरले ट्वाइलटमा दिसा–पिसाब गर्नुपर्छ भनेर पढाउँछ तर सम्बन्धित विद्यार्थीका बाउआमा बारीका कान्ला–कान्लीमा हग्छन् भने स्वभाविक रुपमा सरले पढाएको शिक्षाभन्दा बढि बाउआमाले बाँडेको ज्ञानलाई पछ्याउँछ र उ पनि कान्लाबारीमा हग्न दगुर्छ । त्यसैलै शिक्षा र ज्ञान दुई फरक विषय हुन् । शिक्षा पाएको मान्छे ज्ञानी नहुँदोरहेछ । आजका हाम्रा नेता, हाम्रा मन्त्रीहरुले ठुल्ठुला सिद्धान्त पढेका छन् तर तीको ज्ञान उहिँ राणशासानकालकै छ । उहिँ भाग्यवादको छ अनि उहिँ स्वार्थवादबाट परिचालित छ । दिमागमा कोचिएको सोच साफ नभएसम्म मानवियता बाहिर निस्कन सक्दैन । राणा शासनबाटै सुरु भएको चाकडी र भ्रष्ट मानसिकता शाही दरबारका कोठीहरु चाहर्दै राजनैतिक पार्टिमा आएको छ । अझै यी भ्रष्टचार त विस्तारै स्थानीय निकायहुँदै नागरिकमा पनि सरेको छ । भ्रष्टचार गर्नेलाई कारबाहि गर्ने निकाय कमजोर र सामाजिक बहिस्कार गर्ने सशक्त परम्परा नबन्दा भ्रष्टचार कोरोना भाइरस जस्तै फैलिदै छ ।
कमिसन र आर्थिक लाभ बिना कुनै काम गर्नै नसकिने भएको छ । सरकारका मन्त्रीहरु, कर्मचारीहरु महामारीका बेलामा पनि कमिसन खाने बाटो ढुकेर बसेका छन् । यसअघिका महाभुकम्पमा राहतका टिनका पाता समेत हडपेका हाम्रा नेतृत्वको सिको अहिलेका नेतृत्वले गर्न छाडेनन् । ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा नेपाल ३४ अंककासाथ अति भ्रष्ट मुलुकको सुचिमा छ । मानवीय विपतको अवस्थालाई भव्य सदुपयोग गरेर व्यापारीले अत्यावश्यक बस्तुमा कालोबजारी गर्ने, विभिन्न अभियानका नाममा पैसा उठाएर आफूलाई सामाजिक अभियान्ता बताउनेहरुले दुईचार पैसा हिसाब बंङ्गाएर लाभ निकाल्ने, ठेक्का प्रकृयामा सेटिङ मिलाई खानेहरु फेरि सक्रिय हुन थालेका छन् । सरकारले यो बेला अति विपन्नलाई दिन लागेको खाद्यान्नमा समेत कसरी कमिसन खाने भनेर जुक्ति निकाल्नेहरु केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय छन् । विपतमा समेत मान्छेको भोक र जीवनमाथि खेल गर्नेलाई कस्तो मगज भएका मान्छे भनेर सम्बोधन गर्ने ?
मान्छे काममा आर्थिक लाभ त खोज्छ तर दुनियाँ नै तहसनहस भए मानवीय सहयोगको बेला कालोबजारी, भ्रष्टचार र कमिसनको चक्करमा फस्नेहरु पशु हुन् । उनीहरुलाई जतिसुकै ठुलो सजाय दिँदा पनि फरक पर्दैन । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न गराउनैपर्छ । सानातिना मात्र होइना ठुला माछालाई अख्तियारको बल्छीमा पार्न आवश्यक छ । हामीले बनाएको भ्रष्ट ज्ञानको झुपडी आफ्नै दिमागबाट भत्काउन सक्नुपर्छ । गलतलाई गलत सावित गर्दै देशको कानुनलाई सबैले अक्षरस पालन र भ्रष्टलाई समाजबाटै बहिस्कार गर्न सक्ने आँट सबैतिरबाट हुनुपर्छ ।





