समाजसँगै मिडियाको विकासको हेर्दा ४० हजार वर्षअघि मानव पुर्खाहरुले ओढार, भित्तामा सूचना व्यक्त गर्थे । सन् १४५५ तिर जर्मनीमा गुटेनवर्गले छापाखाना आविष्कार गरेपछि मानिसको ज्ञान संकलन गर्ने र फैल्याउने क्षमता अचानक बढेको पाइन्छ । जुनबेलादेखि आजका दिनसम्म मानव समाज विकासमा सूचना र ज्ञानको प्रमुख भूमिका देखिन्छ । मिडिया विकासक्रम हेर्दा सन् १९९० को दशकमा आईपुग्दा इन्टरनेटको माध्यमले गुणात्मक फड्को मारेको छ ।
पछिल्लो समय सूचना, मनोरञ्जन र सुखशयलका लागि सूचना तथा सञ्चार प्रविधि विश्वभर जीवनशैली बनेको छ । यही जीवनशैली बनेको सूचना प्रविधिले मिडियाको पहुँच धेरैमा पुगेको छ । धेरैको पहुँचमा सूचना पुग्दा मिडिया स्वतः शक्तिशाली बनेको यर्थातता सबैसँग छर्लङ्गै छ । मिडियाको जति विकास भएको देखिन्छ त्योसँगै सूचानाबाट के पस्कने भन्ने बहस पनि चलिरहेका छन् ।
यसै सन्दर्भमा मिडियाको सामाजिक उत्तरदायित्वको सिद्धान्त र सञ्चार आधुनिककरण हुन्छ भन्ने सिद्धान्त सन् १९५० देखि ६० को दशकमा बहस चल्यो । यी सन्दर्भ अहिले किन महत्वपूर्ण बनेका छन भने नव–उदारवादमा सबै भन्दा विकास भएको छ भने मिडिया नै हो । यद्यपीय यसले पस्कने विषय वस्तु भने सधैं बहसका विषय बनेका छन् ।
विश्वमा आ–आफ्ना मुुलुकका संविधान, ऐन कानुन बमोजिम मिडियाका केही विषयम भिन्नता छन् । तर, नागरिक हकका लागि प्रेस स्वतन्त्राको अपरिहार्यताको आधारभूत सिद्धान्तमा दुई मत पाइन्न । यो दुई दशकबीच नव–उदारवादको चरमत्सकर्षको चरण भोग्यो । जसबाट विश्व्यापी रुपमा स्वतन्त्र प्रेसको झन् बढि पहँु पुगेको छ ।
सूचना प्रबिधिको गुणात्मक विकासको यो चरणमा विश्वमा धेरै उथपुथल घट्ना सञ्चार माध्यमले बेहोरिरहेको छ । यसको एउटा पाटाबाट धेरै सिक्ने अबसर, अर्को पाटा यसबाट कतिपय नकारात्मक पक्षहरु पनि विकास भए । यतिबेला मिडिया शैलीगत विश्वव्यापी एकै जस्तो देखिन्छ । अहिलेको युगमा एकाएक फैलिएको कोभिड–१९ को महामारीपछि मिडियामा रिपोर्टिङ गर्ने शैली लगभग एउटै ढाँचाको देखिन्छ । कारण, विश्वलाई उथलपुथल पार्ने नोवेल कोराना भाइरस (कोभिड–१९) एउटै छ ।
कोभिड–१९ को महामारीसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एउटा गजबकै शब्द प्रयोग गरेको थियो । कोभिड–१९ को संक्रमण रोक्नु भन्दा मिडियाको सूचना संक्रमण रोक्न गाह्रो भएको डब्ल्यूएचओले बताएको थियो । डब्लुएचओले भनेको थियो –‘प्यान्ड्यामिक (महामारी) भन्दा ईन्फोड्यामिक (सूचना–संक्रमण) झन् खतरा देखायो ।’
निश्चितै रुपमा विश्वभर एउटै भाइरसको संक्रमण फैलिंदा के सूचना दिने भन्ने एउटा गाइडलाईन यसअघि थिएन । भैपरी आउने र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड बाहेकको विकल्प पत्रकारहरुसँग पनि रहँदैन । तर, यो संक्रमणको रिपोर्टिङ गर्दा कम्तिमा बँच्न सक्ने केही किट्सहरु थिए । एकाएक प्राकृतिक विपत्ति र राज्यको तानशाही शैलीबाट उत्पन्न परिस्थिति जस्तो पक्कै होइन ।
श्रमजीवी पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था इन्टरनेशनल पत्रकार महासंघ (आईएफजे)ले महामारीपछि एउटा सचेत परिपत्र जारी ग¥यो । आर्ईएफजेले भनेको छ– ‘सञ्चारगृहहरुबाट रोजगारदाताहरूले कोरोनाभाइरसको प्रकोपलाई स्वास्थ्य र सुरक्षा संकटको रूपमा विचार गर्नुपर्छ उनीहरूको स्टाफप्रति हेरचाहको दायित्व पुरा गर्नुहोस् ।’
व्यावसायिक पत्रकारहरु आफ्नो पेशागत संगठन, डब्ल्यूएचओको मापदण्ड पालना गरेर काम गर्ने पहिलो घेरामा हुन्छन । किन भने हरे सार्वजनिक ठाउँदेखि संक्रमित ईपीसेन्टरमा समेत उनीहरु पहिलो घेरामा हुन्छन । पत्रकारहरु दुई कुरामा सचेत हुनुपर्छ । एउटा आफ्नो पेशागत संस्थाको निर्देशन । अर्को डब्ल्यूएचओको मापदण्ड पुरा गर्ने । एउटा सत्य के हो भने पहिलो घेराको रिपोर्टिङ गर्न स्वभाविक रुपमा एउटा रिपोर्टर पनि उत्साहित हुन्छ, उसको हाउसले पनि चाहन्छ । यो बेला पत्रकार अर्थात् रिपोर्टर पहिलो पटक आफू सुरक्षित हुने उपाय अप्नाएर मात्रै समाचार सम्प्रेशन गर्नुपर्छ । त्यससँगै कार्यालयका उपकरणहरुबाट समेत संक्रमण बढ्ने भएकाले त्यसमा सचेतता अप्नाउनु पर्छ ।
जनउत्तरदायी पत्रकारिता
पक्कै पनि यतिबेला महमारीको चपेटमा विश्व नै परेको छ । महामारीले कुनै भूगोल, जात, वर्ण, सीमा भन्दैन । आज विश्वभर देखिएको महामारीको कहाली लाग्दा घट्नाले प्रष्टाएको छ । कोभिड–१९ महामारीका रुपमा फैलिएका देश होस् वा पूर्व तयारीमा रहनु परेको देश आफ्नो साधन स्रोत बमोजिम देखिन्छ । यो शक्तिशाली राष्ट्रहरुलाई समेत संक्रमणले गाँजिरहेको बेला मिडिया पक्कै पनि सचेत हुनुपर्छ ।
महामारीको सीमा नहुने भएकाले आ–आफ्ना देशको संस्कृति, परम्परा, सामाजिक सम्बन्ध, परराष्ट्र नीति लगायतमा हामीले ध्यान दिनुपर्छ । जब, मिडियाले नश्लीय ढंगबाट आफ्नो मर्यादा माथि जाँदा पाठक बढ्ने पक्ष त राम्रो होला । तर, त्यसले सृजना गर्ने वातारण पक्कै पनि सुखमय हुँदैन । उदाहरणका लागि माओको मुखमा मास्क लगाएको स्केच अंग्रेजी भाषामा सञ्चालित नेपाली सञ्चारमाध्यमले प्रकाशन गरेपछि चिनियाँ राजदूतावासले खण्डन ग¥यो । जसलाई आफूहरुलाई ‘व्यवसायिक, स्वतन्त्र पत्रकारिताका अगुवा’ भन्नेहरुबाट केही रोइलो देखियो । यहीनिर हो प्रश्न उब्जिने । पत्रकारले खुला उदारताका नाममा आफ्नो मुलुकको सबै ऐन, कानुन, कुटनीतिक मर्यादा सबै कुल्चने ? नेपाल लकडाउन भइरहेको बेला ती ‘नश्लीय मास्क’को अर्थ के हुन्छ ? स्वभाविक रुपले यसको बहस हुन जरुरी छ ।
यसको अर्थ हाम्रो मुलुकमा अर्को अर्को मुलुकका प्रतिनिधिले त्यसरी हस्तक्षेप गर्न हुँदैन भन्ने राष्ट्रियताको सवालमा एक ठाउँ हुन सकिन्छ । सामान्य अवस्थामा कुनै देशबीच भएका घट्नामा त्यो अर्थ लगाउन सकिएला । तर, कोभिड–१९ले विश्वव्यापी महामारी रुप लिंदा त्यो ‘नश्लीय मास्क’ जरुरी हो कि होइन ? अहिले यो ‘नश्लीय मास्क’ नेपाली उखानसँँग मिल्न गएको छ– ‘गरिबलाई हेप्नु हुन्न, रोगीलाई छिछि दुरदुर गर्नुहुन्न ।’
अहिलेको अवस्था हेर्दा समाजशास्त्री डा. कृष्ण बहादुर भट्टचनको विश्लेषणसँग ठ्याक्कै मेल खान्छ । ‘महामारी फैलिंदा जहाँ पनि राज्य कमजोर हुन्छ । त्यसपछि मिडिया, औषधी उत्पादक उद्योग र सेना शक्तिशाली भएर आउँछ । त्यसबेला राज्यले कुनै बेला आफूलाई तानाशाहका रुपमा स्थापित पनि गर्न सक्छ । यसकारण शक्तिशाली मिडियाले खबरदारी गरिरहनुपर्छ । तर, सत्य र तथ्यका आधारमा ।’
डा. भट्टचनकै विश्लेषण अहिले मेल खाएको देखिन्छ । चीनबाट लिएको स्वास्थ्य उपकरणको मुद्दा मिडियाले उचाले । सरकार खुम्चियो । ठेक्का रद्द ग¥यो । पुनः सरकार–सरकार (जीटुजी) माध्यमबाट सेनालाई खरिदका लागि जिम्मा दिइयो । यहीँ वरपर सरकार अनुदार जस्तो देखिने, सेनाले तानाशाहको भ्रुण उत्पादन गर्ला जस्तो लाग्ने, नागरिक सरकार निरही, औषधी व्यापीरीहरु तस्करी र नाफामुखी देखिएको छ ।
यी धेरै विषयवस्तु हामीसामु छर्लङ्गै भएकाले अब, यसको निगरानी मिडियाकै हो । सञ्चारकर्मीहरुको यो ऐतिहासिक जिम्मेवारी हो । सत्य, सहि समाचार दिने र त्रसित समाजलाई दिशानिर्देश गर्ने समय । केही लाइक र भिवर्स देखाउन उत्तेजना, भन्दा संयम रहेर राष्ट्र र जनताप्रति उत्तरदायी रहेर भूमिका निभाउनुपर्छ । हरेक संकट सम्भावना बोकेर आएको हुन्छ । यो संकटलाई सम्भावनामा बदल्न मिडियाले अहिले खेलेको भूमिका युगौयुगसम्म स्मरणीय रहनेछ ।





