तस्बिर सौजन्य : जीवन पाण्डे/वडिगाड
बागलुङ, १ बैशाख– लामो समय मलेसियाको रोजगारीबाट फर्किएका श्रीमान । आफ्नो पुरानो घर र माईती भेट्न जानुपर्ने । कोरोना संक्रमणको हल्लाले देश लकडाउन हुने कुरा चल्दै थियो । पुख्र्यौली घर र माईतीको आँगन टेकेर फर्किने मनसायका साथ कपिलबस्तुको बाडगंगाबाट बागलुङको बुर्तिबाङ परिवारसहित आएकी भीमा अब कपिलवस्तु फर्किने छैनन् । अत्याधिक रक्तश्रावका कारण ढोरपाटन नगरपालिका–१ स्थायी घर भई कपिलबस्तुको बाडगंगामा बस्दै आएकी भीमा भुसाल पाण्डेले गण्डकी अस्पतालमा आफ्नो अन्तिम सास फेरिन् । गर्भवती रहेकी उनको पाठेघर बाहिर गर्भ बसेका कारण त्यसैको असरले उनको पाठेघरमा प्वाल पारेको चिकित्सकहरुले बताएका छन् ।
सोमबार बिहान नयाँ बर्षको पहिलो दिन । माईतीघरमा अरु बेलाको जस्तो नभए पनि नयाँ बर्षको रौनक थियो । तर भीमाको अनुहारमा बेचैन देखेपछि परिवारले सोधे ‘केही भएको छ ?’ ‘रिंगटा लागेको छ टाउको दुखेको छ भन्दै थिई’ भीमाका दाजु कमल भुसालले भने– ‘तत्कालै बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र (पिएससी) मा पु¥याईयो, त्यहाँ उपचार गर्दागर्दै प्रेसर कम भएको भन्दै पोखरा लैजान भन्नुभयो, ग्वालीचौरको खार पुगेका थियौं प्रेसर झनै कम भएपछि त्यहीँ रोकेर हेलिकप्टर मगाउने निधो भयो ।’
बडिगाड गाउँपालिकाको खार बजार पुग्ने बेलासम्म उनलाई बोकेको एम्बुलेन्सले १४ किलोमिटर दुरी मात्रै पार गरेको थियो । पोखरा पुग्न अझै धेरै बाटो रहेकाले उनको अवस्था कमजोर बन्दै गएकाले त्यहीँ रोकेर हेलिकप्टर मगाएको दाजु कमल बताउँछन् । ‘९ बजे बिहान हेलिकप्टरलाई खबर भएको हो, गृह मन्त्रालयको फ्याक्स ढिलो आएको भन्दै ३ घण्टा पछिमात्रै हेलि लिएर पाईलट आए, हामीले प्रयास थाल्दा बित्तिकै हेलि आएको भए बैनीको ज्यान बच्थ्यो ।’
खारबाट हेलिकप्टरमा गण्डकी अस्पताल पोखरा पु¥याईएकी भीमालाई अस्पतालले मृत घोषणा गरेको थियो । गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यका अनुसार, उनको अस्पताल नपुग्दै मृत्यु भईसकेको थियो । सामाजिक विकास मन्त्रालय गण्डकीको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरि पोखरा पु¥याईंदै थियो । तर, अस्पताल पुग्दा उनको मृत्यु भईसकेको डा. आचार्यले जानकारी दिए ।
परिवारका अनुसार, उनलाई अस्पताल पु¥याउन ढिलो भएकै कारण भीमाले ज्यान गुमाउनु परेको हो । ‘नजिकैको पिएससी लान त हामीले ढिलो गरेनौं’ कमलले भने ‘सरकारी प्रक्रिया पु¥याएर हेलिकप्टर आउँदा बैनीलाई बचाउने समय घर्किसकेको रहेछ ।’ गण्डकी अस्पतालले भने उनी पुग्दानै मृत घोषणा भैसकेकाले उनको समस्याको बिषयमा कुनै जानकारी गराएको छैन । उनका १० बर्षका छोरा र ६ बर्षकी छोरी छन् । उनीहरु लकडाउन पूर्व सपरिवार बुर्तिबाङ आएका थिए । मृतक पाण्डेको दाहसंस्कारका लागि पोखराबाट सोमबारनै बागलुङ ल्याउने तयारी भैरहेको छ ।





