शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

इपिसेन्टरका चिकित्सकको फेरिएको दैनिकी : भन्छन्, गुनासो होइन, कामगर्ने समय हो’

इपिसेन्टरका चिकित्सकको फेरिएको दैनिकी : भन्छन्, गुनासो होइन, कामगर्ने समय हो’


  • तारानाथ आचार्य
  • बैशाख ३ २०७७, बुधबार

बागलुङ, ३ बैशाख
‘डाक्टर साप नमस्कार’, आइतबार बिहान धौलागिरी अञ्चल अस्पतालको ‘ए’ ब्लकको दोस्रो तल्लामा दुई डाक्टरको भेट भयो । सुत्केरीहरुलाई राख्ने ‘पोष्ट अप’ वार्डसँगै जोडिएको नर्सिङ कक्षबाट निस्किन तयार नि. प्रमुख मेडिकल सुपरिडेण्डेण्ट डा. शैलेन्द्र वि. पोखरेल दुईहात जोड्दै रोकिए । उनीसँगै रहेकी नर्स करुणा रानाले पनि नमस्कार गरिन् । नमस्कार फर्काउँदै थिए, अर्का डा. कमल कार्की ।
हाइ, हेल्लोपछि पोष्ट वार्डमा पुगेका डा.पोखरेलले सुत्केरीलाई भेटेर उनीहरुको अवस्था बुझे । सँगै रहेकी नर्स करुणाले प्रसुती व्यथा भुलेर आरामको सास फेरिरहेका आमाहरुसँग भलाकुसारी गरिन् । पालैपालो बच्चा उठाइन् र उनीहरुको स्वास्थ्य अवस्थाबारे डाक्टरलाई ब्रिफिङ गरिन् । वार्डमा थिए, चार आमा, उनीहरुका नवजात शिशु र कुरुवाहरु ।
आपतकालीन अवस्था भएकाले अप्रेसनमार्फत जन्मिएका शिशु र आमाको अवस्था बुझ्न डा.पोखरेल पोष्ट वार्डमा पुगेका थिए । सुत्केरीहरुको चेकजाँचको जिम्मेवारी भने डा. कमल कार्कीको थियो । त्यहीँ जिम्मेबारी पूरागर्न कार्की पोष्ट वार्डमा पुगेका थिए । लकडाउनपछि अस्पतालमा डाक्टरहरुको दैनिकी फेरिएको छ । फेरिएको दैनिकीसँगै डाक्टरहरु बिरामी भेट्न पालेपालो वार्डहरुमा पुग्छन् । मास्क लगाएकाले डा. कार्कीको अनुहार छोपिएको थियो । मास्कले छोपेर मुख नदेखिए पनि निधारले उनको चेहराको भाव प्रकट गरेको प्रष्ट देखिन्थ्यो ।
कोरोना कहरका कारण अरु समयमा जस्तो अस्पतालमा बिरामीको चाप नभएपनि सेवा टुटेको छैन । डाक्टरहरु बहिरंग विभागमा बिरामी जाँच्न जानु त पर्दैन, तर उनीहरुको सेवा तालिका अहिले फेरिएको छ । कोरोना भाइरस संक्रमणका दुई विरामीको उपचार गरिरहेको धौलागिरी अञ्चल अस्पतालमा आपताकालिन सेवामा आएका बिरामीको मात्रै वार्डमा पुगेर हेरचाह र औषधि उपचारमा खटिनुपर्ने चिकित्सकहरुको समय तालिका छ । शनिबार मात्रै ४ जना प्रसुती, १ जना हाडजोर्नी र १ जनाको सर्जिकल शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएका र आपतकालिन अवस्थाका बिरामीहरु पनि अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् । उनीहरुलाई कोरोना भाइरस संक्रमणको चिन्ताबाट मुक्त गराउनुपर्ने दायित्व पनि सँगै थपिएको छ । मुलुककै पाँचो र छैठौ संक्रमित विरामी आइसोलेसन वार्डमा छन् । यसले बागलुङलाई इपिसेन्टर नै बनाएको भन्दै स्थानीय त्रसित छन् । यी दुई बिरामी युवती र महिलासँग सम्पर्क र संगत गर्ने धेरै छन् ।शनिबार बागलुङ नगरपालिकाको वडा नं. १३ पैञ्युपाटामा चट्याङ लागेर एक जनाको मृत्यु भयो । चार जना घाइते भए । घाईतेमध्ये दुईजनाको अस्पतालमा उपचार चलिरहेको छभने बाँकी दुईजना घर फर्किसकेका छन् । ‘हिजो चट्याङले हानेर आएको डाक्टरले उपचार गरे, अब ठीक हुन्छ भनेर घर पठाईदिए’ घाईते कोपिला नेपालीले भनिन्, ‘समयमै उपचार पाइयो, ज्यानलाई अलि बिसेक लागेको छ ।’ अस्पताल आउँदा कुनै कठिन नभएको उनले सुनाइन् । प्राकृतिक बिपत्ति र मानविय असावधानिका कारण हुने दुर्घटनाका पीडितको उपचार अस्पतालमा भैरहेकै छ । त्यसको लागि बिषयगत चिकित्सक खटिएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोनाको संक्रमण भएका बिरामीको पनि यहीँ अस्पतालमा उपचार चलिरहेको छ । आईसोलेसनमा रहेका दुई जनाको उपचार र हेरचाहको जिम्मेबारी पनि चिकित्सकहरुको काँधमा छ । ‘हिजो साँझ मेरो ड्युटी आइसोलेसनमा थियो’ डा. कार्कीले भने, ‘इमर्जेन्सीमा पनि तालिकाअनुसार खटिनुपर्छ ।’ बहिरंग सेवा नचलेको भएपनि चिकित्सकहरु फुर्सदमा छैनन् । ‘ड्युटी तालिका अब मिलाउने कुरा भएको छ’ उनले भने ‘दुबैतिर लगातार खटिन कठिन हुँदोरहेछ ।’ कहिलेकाहिँ आईसोलेसन र आकस्मिक दुवै कक्षमा उपचारको जिम्मेबारी पर्ने गरेको छ । आईसोलेसन वार्डमा उपचाररत बिरामीको नजिक जाँदा पिपिई लगाउनु पर्छ । ६÷८ घण्टा त्यहाँको ड्युटी सकेर वार्डका बिरामी हेर्न आउँदा सुरक्षित बनेर सबै प्रक्रिया पुरा गर्नैपर्ने उनले बताए । अस्पतालमा आकस्मिक उपचारका लागि आउने बिरामीको अहिले पनि कमी छैन । पछिल्लो एकसाता यता हाडजोर्नी तथा नशाका मात्रै दश जना बिरामीको शल्यक्रिया भएको छ । ‘ओपिडीमा बिरामी हेरेर अवस्था अनुसारको सिफारिस हुन्थ्यो’, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. नविन पौडेलले भने, ‘एमर्जेन्सी आउनुभएका सबै बिरामीको तत्काल उपचार भैरहेकै छ ।’ संकटको बेला भएकाले आफ्ना दैनिक काममा समेत चिकित्सकले समय दिन नपाएको बताउँछन् । ‘समयमा खानु छैन्, व्यक्तिगत कामको कुरै छोडौं’, पौडेलले भने ‘यो समय कम्प्लेन गर्ने होइन। काम गर्ने हो ।’
कोरोना संक्रमितहरु देखा पर्न थालेपछि अस्पतालले बिरामी लिन र उपचार गर्न नमान्ने गरेका गुनासा आईरहेका बेला धौलागिरी अञ्चल अस्पतालमा भने कुनै पनि बिरामीलाई समस्या पर्न नदिईएको मेसु पोखरेलले बताउँछन् । ‘शंकास्पद बिरामी जाँचको प्रबन्धदेखि संक्रमितको उपचारका काम भइरहेका छन्’ पोखरेल भन्छन् ‘हामीले जुनसुकै समस्या लिएर आउने बिरामीको उपचारमा पनि कमि हुन दिएका छैनौं ।’ कपाल काट्नेदेखि लुगा धुने फुर्सद समेत यहाँका चिकित्सकलाई नभएको पोखरेल बताउँछन् ।
काठेखोला गाउँपालिका–७ रेशकी गम्भीरा थापा चार दिनदेखि अस्पतालमा छिन् । प्रसुती व्यथाले च्यापेपछि उनी अस्पताल आएकी हुन् । शनिबार शल्यक्रियामार्फत उनको छोरा जन्मिएका छन् । शल्यक्रियापश्चात उनलाई वार्डमा राखिएको छ । उनी जस्तै वार्डमा रहेका सबै सुत्केरीको हेरचाह तथा उपचार डाक्टरहरुले गरिरहेका छन् । ‘समयमै आउनुहुन्छ सल्लाह र औषधि दिएर जानु हुन्छ’ थापाले भनिन् ,‘ढुक्क छ र’त निको हुँदै गैरहेको छ ।’ अस्पतालमा बस्दा कुनै अफ्ठेरो महशुस गर्न नपरेको उनले सुनाइन् । स्वास्थ्यकर्मीहरु आँफुलाई जाँच्नका लागि आउने गरेको उनले सुनाईन् ।सुत्केरीको स्याहारमा निरन्तर खटिने नर्सहरुको दैनिकी पनि फेरिएको छ । कहिले आईसोलेसनका बिरामी त कहिले सुत्केरीको हेरचाहमा खटिनुपर्छ । ‘हाम्रो सिफ्ट अनुसारको ड्युटी हुन्छ, सबै मिलेर काम गरिरहेका छौं’ नर्स करुणा रानाले भनिन्, ‘उपचारमा कुनै कठिनाई महशुस भएको छैन् ।’ कोरोनाका कारण चिकित्सकहरु बिरामीको नजिकै पर्न तर्सिएका खबर सुनेकी उनले आँफु सुरक्षित रहेर बिरामीको उपचार गरिरहेको बताउँछिन् ।
अरु समयमा जस्तो आपतकालिन कक्षमा दुर्घटना वा लडाई झगडाबाट घाईते भएका बिरामी भने अस्पतालमा आएका छैनन् । सामान्य लडेका, फ्याक्चर भएका, पेटको एपेण्डाइटिस भएका बिरामीहरु आपतकालिन कक्षमा आउने गरेका छन् । ‘पहिलेको जस्तो बिरामीको चाप छैन र हुने कुरा पनि भएन’ डा. आकाश चित्रकारले भने ‘तर हामीलाई फुर्सद भने छैन ।’ पछिल्लो केही दिन यता एपेण्डाइटिसका धेरै बिरामीको शल्यक्रिया गरेका चित्रकारले तीन जना बिरामी ढिलो गरी अस्पताल आएकाले माथिल्लो अस्पतालमा रिफर गर्नुपरेको बताए । एपेण्डाईटिस जस्तो खतरनाक समस्याको शंका लागेमा समयमै उपचारका लागि आउन बिरामीलाई उनले सुझाए । अस्पतालले प्रसुती, दीर्घरोगी, मृगौला, मुटुका बिरामी, क्षयरोय, एचआईभी÷ एड्स जस्ता रोगका बिरामीहरुको उपचार गरिरहेको छ । अस्पतालले एचआइभी÷ एड्सका बिरामीहरुको औषधि त घर घरमै पु¥याउने समेत व्यवस्था मिलाएको छ । यहाँ पुग्दा लाग्छ, चिकित्सकलाई फुर्सद होइन, दैनिकी मात्रै फेरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->