बागलुङ, ४ बैशाख – सरकारले कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि लगाएको लकडाउन मजबुत बनाउन बागलुङ प्रहरी कडा रूपमा उत्रिएको छ । विहिवार बागलुङ बजारबाट लकडाउन उलंघन गर्ने ३ दर्जनभन्दा बढी ब्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । बजारभित्र छरपस्ट हिड्ने ३५ जना पुरूष र एकजना महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्नेहरूलाई एकसाथ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ गरि लकडाउन उलंघन गर्नेहरूलार्इ धौलागिरि बहुमुखी क्याम्पसको प्रांङगणमा ४ घण्टा राखेर लकडाउनको अनुशासन सम्बन्धि सचेतना कक्षा दिने र कसरत गरेर छोड्न गरिएको प्रहरीले जनाएको छ । अटेर गरी लगातार रुपमा लकडाउनको अवज्ञा गरेमा अबदेखि उनीहरुलाई संक्रमण रोग ऐन २०२० दफा २ अनुसार कानुनी कार्वाही गर्ने जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।
सुचना अधिकृत हेमबहादुर केसीका अनुसार बिहिबारसम्म ४ सय भन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेका छन् । दुई दर्जनभन्दा बढी मोटर साइकल प्रहरी नियन्त्रणमा छन् भने जथाभावी स्कुटी चलाउने कार्वाहीमा परेका छन् ।
लकडाउन उल्लघंन गरि घरबाट बाहिर निस्केका ब्यक्तिहरूलार्इ पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेपछि छरपस्ट रूपमा घर बाहिर निस्कनमा धेरै कमी आएपनि नियन्त्रण भने भएको छैन् । लकडाउन अबधिभर घरमै सुरक्षित रुपमा बस्न र घरवाहिर ननिस्किन प्रहरीले नियमित रुपमा सुचना जारी गरिरहेको छ ।





