शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सडकका भोका कुकुरलाई खाना बाँड्दै दुई चेली

सडकका भोका कुकुरलाई खाना बाँड्दै दुई चेली


  • रामकृष्ण बोहरा
  • बैशाख ५ २०७७, शुक्रबार

बागलुङ, ५ बैशाख– पेशाले नितु खड्का स्वास्थ्यकर्मी हुन् । रोचक त के भने, यतिबेला उनी अस्पतालका बिरामीको सेवामा तल्लिन हुनुपर्ने हो, तर उनी बागलुङ नगरका चोक/गल्ली चहार्दै भोका कुकुरलाई खाना खुवाउन सक्रिय छिन् । उनको यो अभियानमा सहयात्री छिन् सम्झना कार्की खड्का । यि दुई एकै परिवारका सदस्य हुन् । नाताले अमाजुबुहारी ।
शुक्रबार दिउँसो बागलुङ नगरपालिका–१ रामरेखाका यि दुई चेलीले नगरका भोका कुकुरलाई खोजी–खोजी बोलाए, सुम्सुम्याए अनि खाना खुवाए । उनीहरुले भोका कुकुरकै लागि भनि बिहान खाना बनाए र दिउँसो नगरका चोक र गल्लीमा पुगेर बाँडे । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सरकारले देशमा लकडाउन घोषणा गरेपछि सडकका कुकुरहरु भोकै रहेको देख्न नसकेपछि खाना बाँडेको नितु खड्का बताउँछिन् । ‘कुकुरहरू भोकभोकै मर्ने अवस्था आएकाले हामी दुईको सल्लाहपछि खाना खुवाउने आइडिया फु¥यो’ खड्काले भनिन्– लकडाउनका कारण सडकका कुकुर भोकै मर्नु त भएन नि !’
होटल, रेष्टुरेण्ट, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पेट भर्न पाउँथे । तर, लकडाउनले यस्ता पसल बन्द भएपछि कुकरले खान पाएका छैनन् । भोकले कुकुरहरु रिसाउने, झगडा गर्ने र मान्छेलाई समेत आक्रमण गर्न थालेको दृश्य देखेपछि खानाको व्यवस्थापन गरेको सम्झना खड्काले बताइन् । शुक्रबार कुकुरलाई मासुभात बाँडेका उनीहरुले आगामी दिनमा पाउरोटी र विष्कुट खुवाउने योजना बनाएका छन् ।
‘मानवको लागि स्थानीय सरकारदेखि विभिन्न संघ संस्थाको सहकार्यमा फुड बैंक नै स्थापना गर्ने काम भएको छ तर पशुको लागि सोच्न कोही देखिएनन्’ खड्का भन्छिन्– ‘कुकुरलाई पनि खाना दिनुपर्छ भन्ने फिल आएपछि यो अभियान चलाईएको हो ।’ सामाजिक संजालमा लकडाउनको सदुपयोग भन्दै धेरैले खानाका रेसिपी राखेको देखे, तर पशुको विषयमा कसैले सोचेको देखिन, मन खिन्न भयो र कुकुरलाई खाना बाँड्ने सोच बनाए’ खड्काले भनिन् ।
उनीहरुले शुक्रबार जीपपार्क, उपल्लाचौर, हल्लनचोक, ट्राफिकचोक, पुरानो सिनेमा रोड र रामरेखासम्म पुगेर भोका रहेका सडक कुकुरलाई खाना बाँडेका छन् । यो अभियानलाई जारी राख्ने उनीहरुको योजना छ । संगसंगै अपिल पनि । त्यो हो, घरमा बचेको खाना सडक कुकुरलाई खुवाउन । ‘घरमा बचेको खाना फाल्नुभन्दा सडक कुकुरलाई खुवाउँदा कुकुरको भोक मेटाउन सकिन्छ नि’ उनले थपिन् ।
बागलुङ बजारमा थुप्रै सडक कुकुरहरु छन् । तिनको व्यवस्थापनमा पटक–पटक बहस चलेपनि कामले गति लिन सकेको छैन । पशुपन्छी पुज्ने नेपाली समुदायको मौलिक विशेषता हो यसलाई जोगाई राख्न पनि भोका कुकुरलाई खानाको व्यवस्था गर्नु हामी सबैको दायित्व भएको बताउँछिन् वेलनेस टिम (हरेक घर फस्ट एड बक्स) अभियानकी अध्यक्ष समेत रहेकी नितु खड्का ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->