बागलुङ, ९ बैशाख – पोखरादेखि पैदल हिडेर मंगलवार पनि बागलुङ हुँदै प्युठान र रोल्पा पुग्ने मजदुरहरु आउन थालेका छन् । सोमबार मात्र बागलुङ नगरपालिकाले बस चढाएर ४१ जनालाई रोल्पा पठाएकोमा फेरी १० जना थपिएका हुन् । सोमबार बेलुकी प्रहरीले उद्दार गरेर क्वारेनटाइनमा राखेपछि मंगलवार बिहान पश्चिम पठाइएको हो । मंगलवार पठाएकामा ८ जना प्युठान र २ जना रोल्पाको भएको प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।
रोल्पा, रुकुम, प्युठान, म्याग्दी र मुस्ताङका मजदुरहरु दिनदिनै आउने क्रम बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनीहरुलाई नगरपालिकाले खानेबस्ने व्यवस्था गरेर गन्तव्यमा पठाएको हो । मानवीयताको नाताले खानेबस्ने व्यवस्था गरेर पठाएको पौडेलले जानकारी दिए ।
तीन दिनमा बागलुङ नगरपालिकाले रोल्पाका २७, रुकुमका २, भीमगिठेका ३, गल्कोटका ४, विहुँका १, खरबाङका १ र बुर्तिबाङका ३ जना मजदुरको उद्दार गरी खानपिन गराएर गन्तव्यमा पठाउने काम गरेको नगरपालिकाका ऋषिराम गोतामेले वताए । नगरपालिकाले उनीहरु सवैको आरडिटी समेत गराएको थियो । आरडिटी रिपोर्ट सवैको नगेटीभ आएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले वताए ।
बागलुङको शान्ति समिति र रामरेखा आधारभूत बिद्यालयमा आश्रय स्थल तथा क्वारेन्टाइन बनाइएको छ । ती स्थानमा ५० जना सम्म राख्न सकिने व्यवथा छ । आश्रयस्थलमा बिहुँस्थित सडक, पैयुपाटाको नेपाल टेलिकमको टावरमा काम गर्ने मजदुरदेखि पैदल यात्रामा आएकाहरु राख्ने गरिएको छ । 
यो पनि पढ्नुहोसः हिँडेर घरजानेमा सुत्केरीदेखि बालाबालिकासम्म (फोटो फिचर)





