म्याग्दी, १० बैशाख – अन्यत्र कोरोना भाइरस संक्रमित भेटिएको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित विरामी देखिएका छन् । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा यहाँका एक युवामा डेंगुरोगको संक्रमण भेटिएको म्याग्दी अस्पताल बेनीले जनाएको छ ।
मंगला गाउँपालिका–५, अर्मनका ३२ वर्षीय युवामा उच्च ज्वरो, जोर्नी दुख्ने तथा जाडो हुने जस्ता लक्षणहरु देखिएपछि ल्याब परीक्षण गर्दा डेंगुरोग र स्क्रबटाईपसको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालका मेडिकल अधिकृत डा.अजय गौतमले बताए । १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएको ती युवाको अहिले चिकित्सकको निगरानीमा उपचार भैरहेको र उनको स्वस्थय अवस्था सामान्य रहेको डा.गौतमले वताए।
गर्मी मौसम बढ्दै जादा म्याग्दीमा डेंगुको पहिलो बिरामी भेटिएको हो । एडिज एजिप्टाई नामको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्छ । दिउँसोको समयमा सक्रिय हुने यो लामखुट्टे पानी जमेको ठाउँमा बस्ने र फुल पार्छ । भाइरसबाट सर्ने भएकाले यस रोगको हालसम्म खोप तथा खास उपचार भने छैन । यसैगरी मुसाको टोकाई वा संक्रमणबाट स्क्रबटाइपस रोग मानिसमा सर्ने चिकित्सकहरु बताउँछन् ।
गतवर्ष म्याग्दी जिल्लामा १२ जनामा डेंगुरोग तथा एक महिलामा स्क्रबटाईपसको संक्रमण भएको थियो । दुवै रोगबाट उच्च ज्वरो आउने लगायतका लक्षण देखिने भएकाले पनि अहिलेको समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेका छन् । डेंगु र स्क्रबटाइपस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।





