आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

उद्यम बिर्सिएको म

उद्यम बिर्सिएको म


  • शिवशरण ज्ञवाली
  • बैशाख ११ २०७७, बिहिबार

जागिरको सिलसिलामा घर छाडेको पनि बाह्र वर्षभन्दा बढी भइसक्यो । बहिनीहरू आफ्ना घर गए भने दाई क्यानडातिर लाग्नु भयो । घरमा बाआमा मात्रै । मेरोजस्तै हविगत नेपालका आम मानिसहरूको भोगिरहेका छन् । वडाध्यक्ष अंकलले पोहोरको जेठमा तपाईं पनि बाआमालाई छाडेर बाहिर बस्नुभा छ भन्दा म नाजवाफ भएको थिएँ । बाध्यता भनेर म उम्कन सकिनँ । जीवनको सङ्गीत नमिलेको महसुस मैले धेरै अघिदेखि नै गरिरहेको छु । घर बस्ने मनमा गहिरो इच्छा भए पनि म त्यसमा सफल हुन सकिन । वर्षमा दुई चारपटक घर आउनुलाई नै मैले सन्तोष मान्नुपर्ने छ । घरमा बारी खुम्चिएर सानो बनिरहेको छ । मेरो मन पनि बारीसँगै खुम्चँदै छ । घर आउँदा भैपरी आउने कृषि काम गर्नु, घाँस दाउरा काट्नु, फलफूलमा गोडमेल गर्नुबाहेक खास कृषि कामसँग मेरो सम्बन्ध टुटिसकेको छ । दिनदिनै यो काम ओरालो लागिरहेको छ र मेरो प्राकृतिक जीवन जिउने सपना पनि भत्किएको छ ।
गुल्मी जिल्ला अर्घाखाँची, प्युठान, बागलुङ, स्याङ्जा र पाल्पासँग जोडिएको छ । हरेक जिल्लाका सीमाका मानिसहरुले एकअर्को जिल्लासँग सोलीडोलीको सम्बन्ध राखेको पाइन्छ । मेरो गाउँको सीमा अर्घाखाँचीको छत्रदेव गाउँपालिकासँग जोडिएको छ । हामी सानोमा फूपुदिदीको घर जान्थ्यौं, छत्रदेवको डिही । दिदीले आफ्नै खेतको लामी धानको भात खुवाउनु हुन्थ्यो । फरक स्वादको खाना खान पाइनुले दिदीको घरको झझल्को अझै पनि ताजा गराउँछ । तर आजकाल भने दिदीको घरमा पनि लामी धानको भात होइन मधेसी चामल नै पाक्छ । मेरा दुई बहिनीहरूको घर पनि त्यतै छ भने ससुराल पनि अर्घाखाँची नै हो । तसर्थ अर्घाखाँची म सबैभन्दा बढी जाने जिल्ला पर्दछ । जाने बाटो भने अलि विकट नै पर्दछ, आफ्नो सवारी साधन नहुनेहरूका लागि । म पनि गाउँमा त्यस्तैमा पर्छु । सानोमा दिदीबहिनीको घर जाँदा बाटो रमाइलो थियो । बाटाभरि यात्रुहरू भेटिन्थे । खेतमा काम गर्ने मानिसहरु भेटिन्थे तर आज परिस्थिति फरक भएको छ । मोटरबाटोले डाँडाकाँडा जोडिएका छन् । बस दैनिक बुटवलबाट ओहोरदोहोर गर्छ । मोटरसाइकलमा यात्रीहरू हिड्छन् । बटुवाहरु हिड्दैनन् । बाटोको सामाजिकता हराएको छ । कहाँ होला घर ? कहाँ पुग्ने होला ? भन्ने प्रश्नहरू आजकाल सोधिदैनन् । अब वटुवाहरुसँग नाता गाँस्ने पुस्ता हराएको छ । मोटरसाइकलले मानिसलाई व्यक्तिवादी बनाएको छ । कसैका मुखमा हेर्ने, अभिवादन गर्ने, सन्चो बिसन्चो सोध्ने, चिनेका मान्छेहरुसँग बोल्ने, भेटघाट गर्ने, आत्मीयता साटासाट गर्ने कुरा हामी आधुनिक मान्छेलाई कहाँ सुहाउँछ र ! पढेका र कथित पढाइका नाममा हामी गजक्क फुलेका छौं । आमाले दुःख गरेर पठाएको घ्यु र कुराउनी मन परे पनि घाँस काट्दा र गोबर सोहर्दा भने हाम्रा हात गनाउँछन् । यस्तै भएका छौं हामीहरू । हामीले हाम्रा सन्ततिलाई घ्यु कुराउनी, कोदो, मकै आदि उपहार दिन सक्ने छैनौं । आज डेरीको घ्यु मिठो नमानेका हाम्रा सन्तानलाई आज हजूरामाहरूले पठाएको घ्यु ख्वाएर मुख बिगारिदिएकाले हामीले भोलि अपजसको भारी भने अवश्य पनि बोक्ने छौं ।
बाटोको सामाजिकता हराएको मात्रै होइन, कृषि पेशा पनि हराएको छ । गाउँघरतिरको बारी त बाँझा भएकै थिए । टारी र बेसीका खेतहरु पनि बाँझा भएका छन् । मोटर गुड्न थालेपछि खोलाको पानी पनि हराएको छ । खेतलाहरु पनि हराएका छन् । यी खेतलाहरु पनि हामीजस्तै सरकारी कारिन्दा भएका छन् । एघार बजे आउनु, जाँगर नलागिनलागि काम गर्नु, चिया खाजा खानु अनि पाँच बजे पैसा बुझ्नु अनि फर्किनु उनीहरूको शैली हो । हामी कर्मचारीहरू पनि त्यस्तै भएका छौं । हामीलाई बिदाकै पीर छ । अफिस पुग्न भ्याएका हुँदैनौ, हामीलाई घर जान बेर हुन्छ । शिक्षकहरूलाई पनि सकेसम्म विद्यार्थी नआएको जाति आए पनि कक्षामा नबसे जाति बसे पनि आफै कक्षामा नगए जाति गए पनि दश मिनेट ढिलो र दश मिनेट छिटो निस्कन जाति ! सानो निहुँमा कक्षा अवरोध गर्न हामी खप्पिस छौं । हामी प्रक्रियामा जोड दिन्छौं तर परिणामप्रति उदासिन छौं । परिणामले पोल्छ हामीलाई, त्यसकारण हामी परिणाम सुन्न पनि चाहन्नौं । त्यही सीमित स्रोत साधनका बीच एउटा निजी स्कुलले कुनै विद्यार्थीलाई डाक्टर बनाउन सक्छ तर सामुदायिक विद्यालयका कारिन्दा हामी सो कुरा सुन्न पनि चाहँदैनौं । सुने पनि नसुने झै गर्न माहिर छौं । तर छोराछोरीलाई त्यही स्कुलमा पठाएर डाइ सपना देख्ने विरोधाभाषी जीवन नि बाँचेका छौं । त्यसैले हामी भन्छौ, हामी यस्तै त हो नि ब्रोसिस !
मान्छे बोल्दाबोल्दै बरालिए जस्तै लेख्दालेख्दै पनि बरालिन्छ । थुक्क ! बिनासितैमा आफ्नै साथीहरुलाई गाली गरेँ । सरी है ! खासमा भन्न खोजेको कुरा के हो भने बाँझो खेतबारीका लागि खेतला कसले खोज्ने ? वृद्ध बाआमाले ? कृषि काम पनि सरकारी चपेटामा फसेको छ । मानसिक र व्यवाहरिक दुवै हिसाबले कृषि यस्तो चपेटामा परेको हो । कोरानापछिको विश्वको गतिशीलता फरक हुने निश्चित छ । त्यतिबेला विदेशिएका नेपालीहरूले पनि स्वदेशमै आशाका नजरले हेर्ने छन् । उद्योग, कलकारखाना नभएका हाम्रो जस्तो कमजोर मुलुकले आशावादी नजरहरूलाई भाषणले मात्रै सन्तुष्ट पार्न सक्ने छैन । भोकाएका पेटमा अन्न भरिदिनुपर्ने छ भने बेरोजगार हातहरूलाई श्रम दिनुपर्नेछ । हाम्रा उद्योग भनेको नै कृषि उद्योग हो । कृषिमा सरकारले अनुदान दिन्छ तर तीतो यथार्थ कस्तो छ भने त्यो अनुदान दलका टोलझोलेले पाउँछन् । टोलझोलेले कोरानाको त्राहीमाममा राहत त छाडेनन् भने सरकारी अनुदान के बाँकी राख्थे ? खेतखलातिर कृषि उद्योगका टहराहरू देखिन्छन् तर ती टहराहरू अनुदानलाई जस्तो आउँछ उस्तै मज्जाले पचाउने अमिताभ बच्चनका पाचकजस्तै हुन् । वास्तविक किसानले त अनुदाननै पाउँदैनन् । उनीहरूले आफ्नै श्रम, पसिना र पैसाले उत्पादन गरिरहेका छन् । आफ्नो स्वाभिमान दाउमा लगाएर दलका टोलझोले बन्न उनीहरू तयार छैनन् । अनुदान लिने टोलेझोलेले भने कृषि फार्म उद्घाटन गर्न आफना दाता नेता कार्यकर्ताको लर्को लगाए पनि समापन भने चुपचाप नै गर्छन् । तसर्थ वास्तविक किसान मर्कामा परेका पाइन्छन् ।
भर्खरभर्खर स्थानीय निकायको गठनको बेला हुनुपर्छ, जोशिला जनप्रतिनिधिहरूले खेतबारी बाँझो राख्न नपाइने निर्णय गरेका थिए । त्यो निर्णय वास्तविकतामा आधारित थिएन । गाउँघरमा बुढाआमाबा बाहेक कोही थिएनन् । युवाहरु अरबको खाडीतिर थिए । घरमा बाआमालाई अराजक प्रजातन्त्रले कमजोर तुल्याएको थियो । छोरो विदेशिए पनि छोरीबुहारी नातिनातिनालाई घरमै राख्ने अवस्था थिएन । कोरोनापछि फर्किएका बुहारीहरूलाई घर धान्न गारो छ भने शहरतिर अल्मलिएकाहरूलाई पैसाको स्रोत बन्द भयो भन्ने पीर छ । कैयौंको संसार कहालीलाग्दो बन्दा अरबले रोजगारी कटौती गर्ला भन्ने त्रासले कतिबेला मुटु भट्कन्छ । यिनैयिनै कारणले गर्दा स्थानीय निकायले गरेको निर्णयले माइन्युटको मसी नसुक्दै हावा खायो । न कसैले बारी खन्यो न त खेत नै ? पछि स्थानीय निकायले आफ्नो निर्णयमा अलिकति परिमार्जन गर्दै आलु, भटमास, लसुन, प्याज आदिका बिऊ, कखुराका चल्ला आदिआदि भने बाँडे । करेसाबारी बाँझो नराख्न उनीहरूले उत्प्रेरित गरे । यो महत्वपूर्ण सकारात्मक काम थियो । उनीहरूसँग उत्पादनका लागि कृषिको विकल्प छँदै छैन । तल हेर्छन् खेतबारी बाँझो छन् । गर्नु पाए त भन्ने कुराले मन कल्पिन्छ । तसर्थ उनीहरूको ध्यान पनि कृषि उपजमै छ । यो उद्योगको विकल्प छैन । तर उत्पादन कसले गर्ने ? वर्तमान संविधानको सबैभन्दा सबल पक्ष भनेको स्थानीयतानै हो । आज हामी स्थानीयता मास्न उद्धत छौं । त्यसकारण हामी विकासे मकैका नाममा स्थानीय मकै मासिरहेका छौं । आफ्नो घरमै बिऊ उत्पादन हुने मकै मासेर हामी हरेक वर्ष बिऊ किनेर मकै छर्न थालेका छौँ । धानमा पनि वास्मती, खुमलचार, जुम्ली, जडन वा लामी, घैया, मार्सी, चाइनाफोर, अनदी, कालो झिनुवाहरू हामीले सक्यौँ । सुन्तला होस् या कागती ती पनि आयातित विरूवा रोपेर हामी स्थानीय बिऊहरू मासिरहेका छौँ । फरकफरक स्वादका लोकल आँपहरूभन्दा बोटमा आधा डोको मात्रै फल्ने विकासे आँप हामीलाई मन पर्न थाल्यो । हाम्रो आफ्नो सम्पति विकासेका नाममा हामीले मासेका छौँ । गाउँघरमा बुझ्दा कमिसनको खेलमा नेपाली स्थानीय कृषि उपजमाथि प्रतिबन्ध लगाइएको छ । अब यो जोगाउने जिम्मा स्थानीय तहलाई आएको छ ।
तसर्थ हरेक स्थानीय तह चाहे त्यो नगरपालिका होस् चाहे गाउँपालिका उसले बाँझो जग्गा भाडामा लिनु पर्छ । ती बाँझो जग्गाका लागि चाहिने बीउबिजन, जनशक्ति, सुरक्षाप्रबन्ध, उत्पादित सामग्रीको व्यवस्थापन र बिक्री वितरणको सम्पूर्ण जिम्मा लिने र आफ्नो गाउँलाई चाहिने सम्पूर्ण कुरा आफै उत्पादन गर्ने आँट गर्नै पर्छ । कृषि पेसा आफैमा जोखिमपूर्ण छ । बजारको अभाव, लागतमा उतारचढाव, जनशक्ति अभाव आदिले यो जोखिम क्षेत्र बनेको हो । तसर्थ त्यस्तो जोखिम स्थानीय सरकारले मात्रै मोल्न सक्छ । त्यसो भयो भने युवा पलायन रोक्न सकिएला । मैले कथामा हो कि साँच्चै हो, एउटा गाउँमा एक घरले अर्को घरसँग सियो पनि माग्दैनथ्यो रे ! भन्ने सुनेको थिएँ । आत्मनिर्भर नभइकन सम्पन्नता सम्भव छैन । स्मरणरहोस्, नेपालको समस्या भनेको पैसाको होइन व्यवस्थापनको नै हो । नेतृत्व र व्यवस्थापन दुवैको जिम्मा स्थानीय सरकारे नै लिनुपर्छ ।
मेरो जस्तै धेरैको परम्परागत रूपमा सिकेको उद्यम पढाइका नाममा समाप्त भएको छ । पढाइ, पेशा र परम्परागत ज्ञान सिपलाई सँगसँगै लैजाने कामको अग्रसरता पनि नपार गापाले लिनैपर्छ । श्रमशिक्षा नेपालको विश्वविद्यालयले सुरू गरिसकेको छ । कहिलेकाहीँ घर आउँदा आफूलाई जाँगर लाग्ने र सन्तुष्टि बनाउने पेशाबाट २÷४ पैसा गोजीमा आइपुग्यो भने म पनि त धनी हुँला । जति कागज, कलम चलाए पनि साँझ बिहान खाने त अन्नै हो । गाउँमा अरूले कोदो लगाउलान् र मैले ढिंडो खाउँला भन्ने आशे मानसिकता समाप्त पार्नका लागि यी तहको अग्रसरता जरूरी भइसक्यो । कोराना रोकिएला र शहर फर्कुला भन्ने सरल सोचाइ काम लाग्ला जस्तो छैन किनकी यो भूकम्पजस्तो पराकम्प आउने नभई फेरि भूकम्प नै आउन सक्ने रोग रहेछ । मेरो सोझो मनले झिनामसिना यस्ता कुरा पो सोच्छ त ? अस्तु !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->