सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनमै भित्रिए बागलुङमा हुलका हुल मान्छे !

लकडाउनमै भित्रिए बागलुङमा हुलका हुल मान्छे !

स्थानीय सरकारको चिन्ता : जोखिम बढाउने काम भयो, कसरी व्यवस्थापन गर्नु ?


  • तारानाथ आचार्य
  • बैशाख १२ २०७७, शुक्रबार

बागलुङ, १२ बैशाख– कोरोना संक्रमणको त्रासले लकडाउनपछि सुनसान बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो । खचाखच मान्छे बोकेका सवारीसाधन बिहान ४ बजेदेखि ७ बजेसम्म यो सडकमा ताँतीनै देखिनेगरी गुडिरहे । गाडीका लस्कर देख्दा धेरैले त लकडाउन खुलेको अनुमान गरे ।
बागलुङ र पर्वतको सिमाना मालढुंगास्थित प्रहरी चेकपोष्टमा गरिएको सवारी दर्ता अनुसार, यो बिचमा यात्रु बोकेका दर्जनौं सवारी जिल्ला भित्रिएका छन् । सवारीमध्ये अधिकांश ठुला बस छन् । बसबाहेक अत्यावश्यक काम देखाएर जिल्ला भित्रिने र बाहिरिनेको साना सवारीको संख्या धेरै छ । लामो समयको लकडाउनपछि जिल्ला बाहिर रहेकालाई बागलुङ प्रबेश गराईएको छ । यो काममा यहाँका प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेलले पहलकदमी गरेका हुन् । प्रहरी पोष्टका अनुसार, शुक्रबार मात्रै यात्रुले भरिएका १८ ठुला बस मालढुंगा चेकपोष्टबाट भित्रिए । साना सवारीको संख्या त्योभन्दा बढि रहेको प्रहरी सहायक निरीक्षक रामबाबु शाह बताउँछन् ।
‘धेरै बिद्यार्थी र मजदुरहरुलाई उद्धार गरियो’ सांदसद पौडेलले भने, ‘काठमाण्डौमा खर्च सकिएकालाई घर पठाउने काम चलिरहेको छ । काठमाण्डौ मात्रै होईन पोखरा, नारायणगढ, गैंडाकोट लगायतका ठाउँबाट पनि जिल्लाबासी घर फर्केको शाहले बताए । उनका अनुसार, एक हजारभन्दा बढी सर्वसाधारण जिल्ला प्रबेश गरेका छन् । ‘हरेक बसमा ६० भन्दा धेरै आएका छन्’ शाह भन्छन्– ‘हिजोअस्तिभन्दा आज धेरै सवारी जिल्ला भित्रिए ।’

जिल्ला प्रबेश गरेकामध्ये मजदुर, बिद्यार्थी र पेशा व्यवसायका लागेका छन् । काठमाडौबाट जिल्लाको गलकोट, जैमिनी, ढोरपाटन र बागलुङ नगरपालिकाका धेरै नागरिक जिल्ला प्रबेश गरेको मालढुंगा प्रहरी पोष्टले जनाएको छ । त्यो बाहेक काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका पनि धेरै प्रबेश गरेका छन् ।

मालढुंगामा रहेको हेल्थडेक्सले उनीहरु सबैको ज्वरो जाँच गरेरमात्रै जिल्ला प्रबेश गराएको हो । उनीहरु सबैले स्थानीय तहबाट सिफारिस मगाएर गाउँ फर्केकाले सम्बन्धित स्थानीय तहमा पठाएको प्रहरी निरीक्षक दिपक रिजालले बताए । ‘हातमा पास लिएर आएकालाई हामीले रोक्न मिलेन’ रिजालले भने, ‘गाउँ पुगेर क्वारेन्टाईनमै बस्नु भनेका छौं ।’

स्थानीय तह भने असन्तुष्ट

जिल्ला बाहिर रहेका धमाधम गाउँ फर्किन थालेपछि स्थानीय तह भने असन्तुष्ट छन् । आँफुहरुसँग सल्लाहनै नगरी काठमाण्डौ पोखरा लगायतका शहरमा बस्नेहरु गाउँ भित्राईएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ‘हामी पहिलो चरणमा लकडाउनको कार्यान्वयन गराएर अब ढुक्क छौं भन्ने अवस्थामा थियौं, तर एकाएक मान्छेहरु बाहिरबाट आएका छन्’ गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, ‘लकडाउनको उल्लंघन गरेर मान्छे पठाएको पटक्कै चित्त बुझेको छैन् ।’
उनले आफ्ना नागरिकलाई गाउँ आउन नपाउने भन्न नमिल्ने भन्दै आएकालाई सुरक्षित कसरी राख्ने भन्ने समस्या रहेको बताए । ‘काठमाण्डौबाट मान्छे हिँडेपछि समन्वय गर्न भन्दै फोन आयो, कसरी व्यवस्थापन गर्न सकिन्छ’ गैरेले भने, ‘क्वारेन्टाईनमा राख्नु भन्ने छ, हामीसँग १८ वटा क्वारेन्टाईन बेड छन् तर मान्छे सयौं ।’ जो जहाँ छन् त्यहिँ रहेर सावधानी अपनाउनु पर्नेमा केन्द्र सरकारले नै लकडाउन पालनमा उदासिनता देखाएको उनले आरोप लगाए ।
जैमिनी नगरपालिकाले पनि देशका ठुला शहरबाट आएका नागरिकका कारण कोरोना संक्रमण रोक्न थप चुनौती खडा भएको जनाएको छ । जैमिनीका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘रोगको गाम्भिर्यतालाई ख्याल नगरेर मानिसको ओसारपसार गरिरहेका स्वघोषित समाजसेवीका कारणबाट गाउँमा जोखिमको मात्रा ह्वात्तै बढ्यो, झनै सचेत बनौ, बाहिरबाट भित्रिएकाले अनुशासनको पालना गरौं ।’
ठुला शहरबाट लकडाउनकै अवधिमा उद्दारको नाममा घर पठाउने काममा प्रदेशसभा सदस्यलाई समेत चित्त बुझेको छैन । ‘संकटमा परेका मजदुरहरुको उद्दार गरेर गन्तव्यमा पु¥याउनु ठिकै हो तर एक महिना काठमाण्डौमा बस्न निस्सिायौं भनेर गाउँ फर्कनु र फर्काईनु गलत हो’ गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भने, ‘देशभित्रै भएका नागरिकले त सहयोग गर्नुपर्ने बेला हो यो ।’ उनले लकडाउन र संक्रमणको त्रासलाई चुनौती दिने काम भैरहेको टिप्पणी गरे ।
काठमाण्डौबाट सवारी व्यवस्थापन गरेर मानिसहरु पठाईरहेका सांसद तथा नेकपा स्थायी कमिटि सदस्य समेत रहेका पौडेलले भने स्थानीय तहले नै क्वारेन्टाईनमा राख्छौं पठाईदिनु भनेपछि मात्रै पठाईएको प्रतिक्रिया दिए । काठमाण्डौमा लकडाउनका कारण अवस्था थप जटिल भएको भन्दै गाउँ फर्काउनुको बिकल्प नभएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->