बागलुङ, १५ बैशाख – लकडाउनको समयमा आफुहरुलाई बिना जानकारी जिल्ला बाहिरबाट आफ्नो आफ्नो गाउँमा मान्छे भित्राईएको भन्दै बागलुङ नगरपालिकाका १० वटा वडाका अध्यक्षहरुले आपत्ति जनाएका छन् । कोभिड–१९ महामारी व्यबस्थापनका चुनौतीबारे छलफल गर्न आईतवार वडाअध्यक्ष र स्वास्थ्य शाखाको बिचमा भएको बैठकमा सहभागी वडा अध्यक्षहरुले लकडाउनमा पनि जिल्ला बाहिर रहेका नागरिक बिना जानकारी गाउँ पठाईएको भन्दै आपत्ति जनाए ।
बैठकको अध्यक्षता गरेका बागलुङ नगरपालिका–१२ अमलाचौरका वडाअध्यक्ष गुरुदत्त पाठकले लकडाउन अरु बन्द जस्तो नभई महामारी नियन्त्रणका लागि गरिएको बन्द भएकाले सबै नागरिक आ–आफ्नै ठाउँमा रहेर यसको परिपालना गर्नुपर्ने बताए । बैठकले बिभिन्न संघ संस्था तथा व्यक्तिहरुको पहलमा जिल्ला बाहिर रहेका नागरिकलाई चेकजाँच बिनानै भित्र्याउँदा जोखिम बढ्ने ठहर गर्दै बाहिरबाट आउने नागरिकको बिषयमा सम्बन्धित वडाले जानकारी पाउनुपर्ने र कम्तिमा १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था मिलाउन नगरपालिका र जिल्ला कमाण्ड पोष्टलाई आग्रह गरेको छ ।
जिल्लामा भित्रिने सवैलाई कम्तीमा पिसिआर वा ¥यापिड डाइनोस्टकीक जाँचको व्यवस्था गर्न सरोकारवाल निकायसँग उनीहरुले माग गरेका छन् । जाँच नहुने बेलासम्म परिवार वा समुदायको सम्पर्कभन्दा टाढा बस्न बाहिरबाट आएका सम्बन्धित व्यक्तिहरुलाई पनि आग्रह गरेका छन् ।
रातीको समयमा बागलुङ र पर्वतको सिमा नाका मालढुंगाबाट बसका बस मान्छेहरु भित्रिएको भन्दै बिना जाँच जिल्ला भित्रिन नपाउने व्यवस्था गर्न र अनिवार्य क्वारेन्टाईनमा राखेर वडाले निगरानी गर्ने निर्णय वडाध्यक्षहरुको भेलाले गरेको छ । बैठकले कोरोनाको रोकथाम र व्यवस्थापनमा खटिएका सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमा वडा नं. ७, १०, ११ र १४ का वडाअध्यक्ष बाहेक सबै वडाका अध्यक्षहरु र स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





