पोखरा, १६ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा मंगलबारसम्म ४ करोड १० लाखभन्दा बढी जम्मा भएको छभने सहयोग आउने क्रम पनि चलिरहेको छ । कोषमा टान क्षेत्रीय संघ पोखराले ५० हजार सहयोग गरेको छ । टानका अध्यक्ष हरि भुजेलको नेतृत्वको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
यसैगरी, संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि ५० हजार सहयोग गरेका छन् । गण्डकी निर्माण समन्वय प्रा.लि.ले पनि कोषलाई ७५ हजार सहयोग गरेको छ । प्रा.लि.का प्रबन्ध निर्देशक रमेश सिकेले उक्त रकमको चेक महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । 
यसैगरी, पतञ्जली योग पिठ नेपालले पोखरा महानगरलाई २० कार्टुन साबुन हस्तान्तरण गरेको छ । महानगर–१९ का अध्यक्ष शोभामोहन पौडेलको समन्वयमा पतञ्जली योग पिठ नेपालका शालिग्राम सिंहको पहलमा गण्डकी प्रदेशका योग प्रमुख नरेन्द्र लालचन, उद्योग संयोजक धर्मराज शर्मा, संगठन मन्त्री लक्ष्मण पौडेल, गण्डकीका सदस्य मनोज श्रेष्ठसहितको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई साबुन हस्तान्तरण गरेका गरेको हो ।





