म्याग्दी, १८ बैशाख– पोखरामा एक महिनाभन्दा बढिको लकडाउनका कारण समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय भएको छ । अध्ययन, रोजगारी, मजदुरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द भएपछि समस्यामा परेका म्याग्देलीहरुलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेको व्यवस्थापनमा खाद्यान्न लगाएतका सामाग्रीहरु वितरण गरिएको छ ।
एक महिना लामो लकडाउनका कारण ज्यालामजदुरी गर्न नपाउँदा समस्यामा परेका व्यक्तिहरुलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष घिमिरेले बैशाख २ गते पोखरामा मजदुरी गर्ने म्याग्दीका १८ घरपरिवारलाई आफ्नै खर्चमा चामल, दाल, लगाएतका खाद्यान्न सहयोग गरेका थिए । यसैगरी, बिहीबार म्याग्दी पोखरा चौतारी र हरिकृष्ण गिरी (विज्ञान)को आर्थिक सहयोगमा ३७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको उपाध्यक्ष घिमिरेले जानकारी दिए । पोखराका विभिन्न स्थानमा रही ज्यालामजदुरी गर्ने र समस्यामा परेका व्यक्तिहरुको खोजी गरी सहयोग गर्ने क्रम जारी रहेको उपाध्यक्ष घिमिरेले बताए ।





