बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले सुरु गर्यो टेलिभिजन शैक्षिक कार्यक्रम

अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले सुरु गर्यो टेलिभिजन शैक्षिक कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७७, आइतबार

पोखरा, २१ वैशाख – विद्यालयलाई अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले लकडाउन अवधि लम्बिँदै गएपछि बालबालिकाका लागि टेलिभिजनमा शैक्षिक कार्यक्रम सुरु गरेको छ । बालबालिकाको घर बसाईं सिर्जनात्मक बनाउन ‘पोखरा शैक्षिक कार्यक्रम’ सुरु गरेको महानगर शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले जानकारी दिए ।
‘यतिबेला अभिभावक र बालबालिका सबै आत्तिनु भएको छ । उहाँहरुलाई मानसिक रुपमा स्वस्थ राखिराख्नु हाम्रो उद्धेश्य हो,’ गुरुङले भने, ‘शैक्षिक रुपमा सबल भएका परिवारलाई समस्या भएन तर, त्यो भन्दा बाहिरको परिवारलाई भने कार्यक्रम जरुरी देखियो ।’ महानगरले उत्पादन गरेको कार्यक्रम पोखराका विभिन्न ४ टेलिभिजनबाट प्रत्येक दिन बिहान प्रशारण हुँदै आएको छ ।
कार्यक्रम विभिन्न ४ विधामा सञ्चालन हुने गुरुङले जानकारी दिए । बालबालिका लागि व्यक्तित्व विकास, सम्बन्धित विषयका शिक्षकसँग कुराकानी, क्षमता वृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘प्रश्नोत्तर कार्यक्रम पनि गर्ने सोचेका छौं । तर, प्रश्नोत्तर कार्यक्रम गर्दा पनि हाल केही समस्या देखिने भएकाले त्यसबारे अध्ययन गर्दैछौं,’ उनले भने ।
केही दिनअघि पोखरा महानगरले कुनै पनि विद्यालयलाई अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न सूचना प्रकाशन गरेको थियो । प्रविधि र पूर्वाधारबिना चलाइएको अनलाइन कक्षाले विद्यार्थीलाई ज्ञानभन्दा मानसिक तनाव थोपर्ने महानगरको दाबी थियो ।
सूचना प्रकाशित गरेको केही दिनपछि नै महानगरले आफैं टेलिभिजन कार्यक्रम सुरुआत गरेको हो । ‘टेलिभिजन कार्यक्रम पनि लकडाउन अवधिभरका लागि मात्रै हो । लकडाउन थपिँदै गए मोडालिटी चेञ्ज हुन सक्छ,’ शिक्षा महाशाखा प्रमुख गुरुङले भने, ‘कसरी अघि बढ्न सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यास केछ, विज्ञको सुझाव के छ त्यसमा पनि ध्यान दिँदैछौं ।’
निश्चित मापदण्ड तयार नपार्दासम्म अनलाइन कक्षा सुरु नगर्ने गुरुङले स्पष्ट पारे । ‘अनलाइन कक्षाको नाममा नर्सरीका विद्यार्थीलाई पनि समावेश गराउने भन्ने कुरा रहँदैन । महानगरले आफ्नै मापदण्ड तयार पार्दैछ । त्यसपछिमात्रै सोचौंला,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->