पोखरा, २२ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किंचलो आइतबार सल्टिएको छ । यद्यपि, नेकपाको यो विवाद जुनसुकै बेला पनि बल्झिन सक्छ । सचिवालय बैठकले वामदेव गौतमलाई प्रतिनिधिसभामा लौजाने निर्णय गरेसँगै विवाद त साम्य भयो । तर, नेकपाले वामदेवलाई कसरी प्रतिनिधि सभामा लैजान्छ कि लैजाँदैन भन्ने विषयमा तर्क वितर्क सुरु हुन थालेका छन् ।
र वामदेवलाई प्रतिनिधिसभामा लैजाने प्रस्ताव गरेकै दिनदेखि कास्की पनि तरंगित बन्न पुग्यो । वामदेव राष्ट्रिय राजनीति तरंगित गर्नसक्ने नेता नै हुन् । तत्कालीन मालेको संगठन निर्माणको क्रममा यही क्षेत्रमा खटिएकाले पनि उनी गण्डकी र कास्कीको लागि नौला हैनन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँगै खालि भएको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उनलाई नै उम्मेदवार बनाउने हल्लाले पनि उनी चर्चित बनेका थिए । भला, त्यो चुनावमा वामदेव उम्मेदवार बनेनन् । प्रतिनिधिसभा पुग्ने महत्वाकांक्षा नलुकाए पनि आफ्ना राजनीतिक शिष्य रवीन्द्रको ठाउँबाट चुनाव नउठ्ने उनले नै घोषणा गरिदिए ।
राजनीति न हो, नेकपाभित्रको पछिल्लो रस्साकस्सीमा वामदेव पुन ः चर्चामा आए । धरर्मराएको प्रधानमन्त्री केपी ओली सरकार थमाउने बलिलो टेको उनी नै बने । वामदेव टेको बन्ने थाहा ओलीलाईै नहुने कुरै भएन, ओलीले नै वामदेवलाई प्रधानमन्त्री बनाउने बताएपछि उनको लागि आफूले जितेको ठाउँ छाड्न चाहने नेताहरु पनि देखिए । र, यो मेसोमा पहिलो नम्बरमा दरिए, कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद बनेका खगराज अधिकारी ।
खगराज सानो बलबुताले राजनीतिमा जमेका मान्छे हुँदै हैनन् । विद्यार्थी राजनीति, जनपक्षीय उम्मेदवार, सरकारका शक्तिशाली मन्त्री र स्पष्ट बोलीका कारण मात्रै हैन, नेकपाभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको सानिध्यताका कारण पनि उनी सधैँ चर्चामा रहन्छन् । राष्ट्रिय मुद्दामा आफ्नो अभिमत जाहेर गर्नु र परिआए आफ्नो त्यही एजेण्डा लिएर अघि बढ्न् उनको स्वभाव हो । खगराजले नेकपाभित्रको राजनीति तरल बनेको बेला आफ्नो पुरानै बानी दोहो¥याए । आवश्यक परे वामदेवलाई आफ्नो चुनावी क्षेत्र छाड्ने उद्घोष गरिदिए । समय र वस्तुस्थितिको गाम्भीर्यता बुझेका उनले आफ्नो ‘उदारता’मा केही सर्तहरु राख्न चाहिँ भुलेनन् । वामदेव देशलाई चाहिने नेता भएको बताउँदै उनले जनभावनाको कदर हुनेगरी सांसदबाट राजीनामा दिने कुरा बताएर आफूलाई नेकपाभित्रको शक्ति समीकरणमा होमिदिए ।
उसो त, खगराजले पद छाड्ने घोषणाकै सेरोफेरोमा वामदेवको लागि सुरक्षित निर्वाचन क्षेत्रको खोजी गरिएको सार्वजनिक भइसकेको थियो । बर्दियाबाट चुनाव हारेका वामदेवलाई पाल्पा क्षेत्र नम्बर खालि गराउने कुरा उठेकै थियो । तर, पाल्पाका सांसदले त्यो कुरा अस्वीकार गरिदिए । पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले पनि प्रधानमन्त्री ओलीको राजीनामा दिए मात्रै वामदेवको लागि आफ्नो क्षेत्र छोड्ने अडान कसेको पनि चर्चा चल्यो ।
यतिबेला नेकपाको सचिवालय बैठकले वामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने निर्णय गरिसकेको छ । वामदेव प्रतिनिधिसभा जाने नै भएपछि खगराजको घोषणा के हुन्छ ? अहिले कास्की र नेकपा वृत्तमा यो प्रश्न पेचिलो बनेको छ । खगराजलाई बुझ्नेहरुले उनको चातुर्यपूर्ण अभिव्यक्तिलाई विभिन्न कोणबाट अथ्र्याएका छन् । खगराजले चर्चामा आउनैको लागि दिएको अभिव्यक्ति साँच्चिकै वामदेव कस्सिँदा कायम रहन्छ कि रहँदैन ? भन्नेबारे पनि उनीहरुले मथिङ्गल घुमाएका छन् ।
राजनीतिक विश्लेषक कपिलमणि दाहाल एकपटक चुनाव हारिसकेको मान्छेलाई निर्वाचन क्षेत्र खालि गराएर निर्वाचित गराएर लैजानु प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेको बताउँछन् । जनताले वामदेवलाई अयोग्य ठह¥याएकाले ५ वर्षसम्म कुर्नु नै उनको मत छ । ‘उहाँले चुनाव हार्नुभयो । कसरी हार्नुभयो, त्यो बेला के भयो ? यो विषयमा जोड्नै मिल्दैन’, उनले भने, ‘जे होस्, जनताले उहाँलाई मानेनन्, त्यो भई सकेपछि उहाँ जस्तो मान्छेले पाँच वर्षको लागि मरिहत्ते गरेर मैले टिकट पाउनुपर्छ भन्नु, प्रजातान्त्रिक मूल्य, मान्यता, संवैधानिक व्यवस्था कुनैले पनि दिंदैन ।’ व्यक्तिगत आवश्यकताको लागि संविधान विपरित जान नमिल्ने उनले बताए । एकपटक चुनाव हारिसकेपछि पाँच वर्षको लागि त ऊ चुप हुन्छ । मन्त्री पनि हुन् पाउँदैन, उनले भने, ‘उहाँ त प्रधानमन्त्री नै हुने कुरा आइसकेको हुनाले, सांसद मात्रै जाने कुरा पनि छैन । यो त पुरै गैरसंवैधानिक छ ।’ सांसदहरुले संविधान विपरित ‘म छोड्छु’ भन्नु नै गलत भएको तर्क गर्दै उनले आफूले राजीनामा दिएपछि त्यो ठाउँमा सजिलै अर्को मान्छे ल्याउन सकिनेजस्तो सांसदहरुले ठान्न नहुने पनि बताए । ‘उहाँहरुले त हर्जना दिने, जग्गा जमिने दिने जस्तै सोच्नुभयो’, उनले भने, ‘त्यस्तो कुरा गर्नै मिल्ने होइन । उहाँहरुलाई पाँच वर्षको लागि दिएको म्यान्डेड हो यो ।’
केही विकसित देशहरुमा सांसदले गल्ति गरेको खण्डमा संसदबाट फिर्ता बोलाउने व्यवस्था भए पनि नेपालमा त्यो नभएको उनले बताए । नेपालमा भएको संवैधानिक व्यवस्था अनुसार आफूले जिताएर पठाएको जनप्रतिनिधि जस्तोसुकै भए पनि अर्को चुनाव नहुञ्जेलसम्मको लागि उही नै अधिकारमा रहने उनले सुनाए । ‘हिजो चुनाव लड्ने बेला मलाई भोट दिनुस् भनेर भन्ने’ उनले तर्क गरे, ‘अहिले छोड्ने बेलामा कोही जनतालाई नभनि छोड्छु भनेर छोडिने कुरा हो र ? भन्नै नमिल्ने कुरा हो यो ।’ कुनै सांसदलाई फिर्ता बोलाउन पार्टीमा निर्णय पनि नभइ सकेको समयमा स्वेच्छाले सांसदले राजीनामा दिन नपाउने उनले सुनाए ।
वचनमा पक्का हुनु एउटा कुरा होला, वामदेव स्वयं खगराजको क्षेत्रबाट चुनाव उठ्छन् कि उठ्दैनन् भन्ने अर्को सवाल पनि यहाँ रहन्छ नै । खगराज अधिकारीको चुनावी क्षेत्र नेकपाको लागि साह्रै सुरक्षित क्षेत्र हैन । यसको लागि कास्की क्षेत्र नम्बर १ को चुनावी परिणामहरुलाई नियाल्लुपर्ने हुन्छ । भला, कास्कीको निर्वाचन क्षेत्रहरु पटक–पटक फेरबदल भएकै किन नहुन् ? २०४८ सालको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट खगराजले कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटसँग प्रतिष्पर्धा गरेका थिए । जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायत हल्लाएका खगराज सो चुनावमा पराजीत भए । उनले १८ हजार ६८३ भोट ल्याउँदा तारानाथले २०४१६ मत ल्याएका थिए । २०५१ सालमा भने खगराजले तारानाथलाई थोरै मतले हराए । खगराजले १९९६५ र तारानाथले १८४१७ मत प्राप्त गरे । २०५६ सालमा खगराज तारानाथसँग पराजीत बने । त्यो बेला तारानाथले २३९३९ र खगराजले २०१३६ मत पाए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा सो क्षेत्रमा तत्कालीन माओवादीका देवप्रसाद गुरुङ विजयी हुँदा खगराज दोस्रो भए । देव गुरुङले १७४०९ मत पाए भने खगराजले १४८८६ मा चित्त बुझाए । कांग्रेसका यज्ञबहादुर थापा तेस्रो भए ।
यता, दोस्रो संविधानसभा चुनावमा सोही निर्वाचन क्षेत्रबाट यज्ञबहादुर थापाले चुनाव जिते । यो चुनावमा खगराज मैदानमा थिएनन् । २०७४ सालको चुनावमा भने खगराज भारी मतले विजयी बने । उनले आफ्ना निकट्म प्रतिद्धन्द्धी कांग्रेसका यज्ञबहादुर थापालाई १३४१६ मतले पछाडि पारे । पार्टी एकताले पनि मतान्तर बढायो । खगराजले पछिल्लो चुनाव भारी मतले जिते पनि नयाँ उम्मेदवारको लागि कास्की क्षेत्र नम्बर १ सधैँ खतरापूर्ण मानिन्छ । पटक–पटक चुनाव लडेका एवं हार÷जीत दुबैको अनुभव लिएका खगराजले यो सत्य नबुझ्ने कुरै भएन । पछिल्लो समय उनले सो क्षेत्रको विकासमा दिएको योगदान आफ्नो ठाउँमा होला तर खगराज जत्तिकै नजिकका उम्मेदवार नभएमा परिणाम जे पनि हुन सक्ने वामदेवले नबुझ्ने कुरै भएन । कास्की क्षेत्र नम्बर २ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मतान्तर पनि कम्ता लोभलाग्दो थिएन । त्यसले खगराजले देखाएको ‘उदारता’प्रति वामदेव स्वयं लोभिइहाल्छन् भन्ने चाहिँ छैन ।





