रोगले गालेपछि सकी नसकी जानै पर्ने ठाउँ अस्पताल र भेट्नै पर्ने मान्छे डाक्टर हुन् । मान्छे बिरामी परे पो अस्पताल जाने, यदि अस्पताल नै बिरामी भयोभने कहाँ जाने ? यो प्रश्नको उत्तर तपाइसँग छ ? सायद छैन । धौलागिरी अञ्चलका नागरिक धेरै बर्षसम्म आफ्नो शरीरको रोग र मदौरु अस्पतालको व्यथा बोकेर धेरैतिर भौतारिए । सामान्य खोकी लाग्दा, शरीरमा अलिकती तापमान बढ्दा पनि हुर्ररिदै उपचार गर्न पोखरा जानुपर्ने बाध्यता सम्हालेर बाँचे । हामीले दुईचार कक्षाबाटै पढ्दै आयौ कि स्वास्थ्यनै धन हो । राज्यले पनि नागरिकको स्वास्थ्य उपचारलाई आधारभुत आवश्यकताभित्र राखेको छ । दशौं बर्षसम्म रोगी अस्पतालले यहाँका नागरिकलाई उपचार कम हैरान बढी बनायो । धौलागिरी अञ्चल अस्पतालको गेटमा झुण्डिएको बोर्डले आफ्नो ओज राख्न सकेन । नत त्यहाँभित्रको सेवासुविधाले नागरिकको मन जित्यो । बरु त्यहिँ अस्पतालमा आधा जिन्दगी काम गरि १० हजार बढि मान्छेका मृत शरीर चिरेका बालकृष्ण बोहराले एउटा इतिहास रचे ।
घटना नं. १
आजभन्दा एक बर्षभित्रका केही घटना सुनाउन चाहे । बाबा बिरामी भएपछि उपचारका लागि अस्पताल लिएर पुगेको थिए । काउन्टरबाट टिकट लिई डाक्टर आउने कोठामा पुगियो । साढे दश बज्यो, डाक्टर आएनन् । काउन्टर गएर सोधे, केहीबेरमा आउने रे !, आधाघन्टा बस्नुस् भनेर भनियो । आधाघण्टा अझै थपेर एक घण्टा कुरेर बसियो । त्यहाँ आउने जति नर्स र देख्ने जति कर्मचारीलाई डाक्टर कतिबेला आउँछन्, भनेर सोधियो । यो तीन घण्टामा विश्वका कुनैपनि कुनामा हराएको मान्छेको पत्ता लाग्थ्यो होला तर डाक्टरको कुनै पत्तो लागेन, मतलब डाक्टर हराए । हामीजस्तै डाक्टर पर्खेर बसेका मरिचहरुको धैर्यताको बाँध टुटिसकेको थियो । अस्पतालको अध्यक्षको कार्यकक्षमा नेमप्लेट मात्र थियो । पटकपटक खोजी गर्दा डाक्टर बिदामा बसेको र अहिले डिमुवातिर भएको जानकारी पाइयो । नत उनको विदाको निवेदन थियो नत कसैलाई यसबारेमा जानकारी नै । यस्तो बेतिथीले नागरिकहरु धेरैबर्ष आजित भएका थिए । कोही पोखरा जाउ भन्न लागे, कोही फेरि आउला भन्दै निस्किए । अन्ततः म हार खाएर नजिकैको एउटा क्लिनिकमा छिरेर केही पोका औषधी लिए फर्के ।
घटना नं. २
पाँच महिना पहिला वान्ता भएर राती अस्पताल ल्याएकी भुकुण्डेकी ३ बर्षिय बालिकालाई चेकजाँच गरि सामान्य औषधी दिएर राती नै घर पठाइयो । घर पुगेपनि उनलाइ वान्ता हुन छाडेन । पुनः अस्पतालमा ल्याइयो । उनलाई खासै ठुलो समस्या केहि नभएको भनियो, छ वटाभन्दा बढि इन्जेक्सन दिइयो । निकै सामान्य अवस्था रहेको भनिएकी बालिकाको ज्यान गयो । त्यहाँका केहि स्वास्थ्यकर्मीलाई बुझ्दा बच्चाको किड्नी फेल भएको उत्तर पाइयो । यस्ता धेरै अप्रिय घटनाहरु अस्पतालबाट जानीनजानी भएका छन् । त्यसैले पनि धौलागिरी अस्पताल केवल बदनामको दाग लिएर बाँच्यो अर्थात् रेफर अस्पताल बनेर । यो अस्पतालले नागरिकलाई बागलुङ जिल्लाबाट बाहिर बसाई सार्नमा पनि भुमिका खेलेको छभन्दा फरक नपर्ला ।
जुन ठाउँमा स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता अत्यावश्यक सुविधा छैन भने त्यो ठाउँ यसै पनि बस्न लायक बन्दैन । बागलुङ बजारको भविष्यबारे अड्कल काँट्ने पण्डितहरुलाई पनि एउटा दरिलो आधार अस्पतालको सुविधा बनेको थियो । यो अस्पतालको बेतिथीको बारेमा मिडियाले धेरै नै उठाए तैपनि अस्पतालले बर्षौसम्म गति लिन सकेन । भवन बनाउने ठेक्का लिएको ठेकेदारले पटक–पटक म्याद थप गर्दा पनि भवन समयमा बनाएन । दुइवटा भवन निर्माण सम्पन्न भएपनि अझै एउटा भवन निर्माणाधिन छ ।
नागरिकको नजरमा आफैं बिरामी र मदौरीजस्तो बनेको धौलागिरी अन्चल अस्पतालले विस्तारै गति लिन थालेको छ । धौलागिरी अन्चलका ६ लाखभन्दा बढि नागरिकको स्वास्थ्य उपचारको अभिभारा बोकेको भनेर हौवा फैलाइएको धौलागिरी अन्चल अस्पताल बदनामी बनेर कहलियो । बेतिथी र अस्तव्यवस्ता नै अस्पतालको परिचय बन्यो । यसको बदनामीमा निजी अस्पताल ठडिने र दरिने अवसर पनि पाए तर ती अस्पताल पनि ‘मुसो ढुकेको बिरालो’जस्तै बिरामी ढुकेर बस्ने भएका छन् । यो कठिन घडिमा आम नागरिकले सरकारी अस्पतालको महत्व र निजी अस्पतालको नाडी छाम्ने अवसर पाएका छन् । सरकारी अस्पताललाई किन राम्रो बनाउने भन्ने जवाफ र दनक कोरोना भाइरसले सबैलाई दियो ।
२०१६ सालमा डिस्पेन्सरी अस्पतालका रुपमा स्थापना भई २०३३ सालमा बागलुङ जिल्ला अस्पतालका रुपमा नामी कहलिएको थियो तर यसको मानप्रतिष्ठा र क्षमता, भुमिकाको दायरा बढ्दै जाँदा गुणस्तरीयता र सेवा भने खुम्चिदै गयो । यसो हुनुमा धेरै कारण थिए । ती कारणमध्ये पहिलो कारण हो– कर्मचारी र डाक्टर । जिल्ला अस्पतालबाट २०६७ सालमा अन्चल अस्पतालमा बढुवा भएको अस्पताल राजनीतिको क्रिडास्थल बन्यो । सन्चालक समिती फेरिने श्रृंखला चलिरह्यो । उनीहरुसँगै आफ्ना विचार, वाद र नजिकका आसेपासेलाई जागिरमा भर्ति गर्नेबाहेक अरु काम भएनन् । केही आए केही गए । केही प्रयास भए तर अञ्चल अस्पताललाई सधैँ मदौरु नै बनाउन पल्केकाहरुको चेत खुलेन । मदौरु अस्पतालको उपचारले शिर उठाएन ।
एउटा गर्भवती महिलालाई सुत्केरी बनाउन नसकेर म्याग्दीको जिल्ला अस्पतालमा पु¥याइएको, अस्पतालकै लापरबाहीले पाँचभन्दा बढि सामान्य अवस्थाका बालबालिकाको ज्यान गएको, समयमै उपचार पनि नगरेको र अन्तिम अवस्थामा रिफर गरेका, अस्पतालको सेवासुविधा र काम गराई निकै निरीह, भनेको बेलामा डाक्टर भेट नहुने, भित्र काम गर्ने स्वास्थ्यकर्मीले आफ्ना निजी क्लिनिकमा डाक्टर बोलाउने अनि भारीका भारी औषधी थमाएर आफ्नो गोजी भर्ने काम गरेका गुनासाहरु आज पनि जनजनमा छन् ।
अस्पतालको घाँस देखाएर अस्पतालकै दानापानी खाएर नजिकै लैना गाई पालेकाहरुले पनि अस्पताललाई उभो लगाउन दिएनन् । अस्पतालका डाक्टरहरु यहाँको दरबन्दी लिएर बर्षाैसम्म देशविदेशको भ्रमण गरेर तलब पचाए । यहाँ डाक्टर टिक्नै सकेनन् अथवा यहाँ टिक्नै दिइएन् । डाक्टर त आए तर केवल दुई दिनलाई घुम्न ‘टुरिस्ट डाक्टर’ । डाक्टर अस्पतालमा किन बस्न सकेनन् भन्ने कुराप्रति धेरैले चासो देखाएनन् । जब बेतिथी र काम गर्ने राम्रो वातावरण हुँदैन डाक्टर त के डाँका पनि बस्न मान्दैन, होइन ? त्यसैले यो सरकारी अस्पताललाई तरकारी अस्पताल बनाउन सक्रिय गिरोह आज पनि सक्रिय छन् ।
अञ्चल अस्पतालमा जम्माजम्मी मेडिकल सुपरिटेन्डेन्टसहित १६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छभने मेडिकल अधिकृत, नर्सिङ, ल्याव, रेडियोलोजी र अन्य गरि ७८ जनाको सरकारी दरबन्दी छ । अस्पताल विकास समितीले विभिन्न तहमा ३२ बढि कर्मचारी खटाएको छ । गोठभरी गाइभैसी हल्लुडाको दुःख भनेझै अस्पतालले विस्तारै भौतिक विकाससँगै आम नागरिकको मनमा पनि विगतको आफ्नो छबिलाई उजिल्याउँदै छ । नयाँ समिती आएसँगै देख्दै उराठलाग्दो अस्पतालका वालहरुमा बारबन्धो र टिलिक्क रंग लगाइयो । अस्पताल छेवैमा एटिएम मेसिन पनि राखियो । एकजना गेटपाले राखियो । अन्त नपाए दिसा गर्न अस्पताल जाने, नर्स जिस्काउन अस्पताल जाने, आफ्ना गाडीको पार्किङ गर्न जानेहरुलाई रोक्दै अहिले गेटपालेसहितको व्यवस्थापन गरिएको छ ।
अस्पतालमा विभिन्न डिजिटल टोकन, बेल सिस्टम, औषधी बिक्रीकक्ष पनि बनाइएको छ । भौतिक विकास र बाहिरको व्यवस्थापनले पनि नागरिकमा एउटा उत्साह थपिएको छ । अस्पतालले क्रमिक रुपमा मेजर अप्रेसनहरु पनि गर्न थालेको छ । एचआइभी एड्स परामर्श, कुपोषण भएका बालबालिकाको हेरचाह र पौष्टिक आहारको व्यवस्था गर्दै आएको छ । नियमित डाइयलायसिस सेवा, फिजियोथेरापी, भिडियो एक्सरे, इन्डोस्कोपी, अल्ट्रा साउण्ड, चौबिसै घण्टा एर्मेजेन्सी र फार्मेसी सेवाको प्रवाह गरिएको छ । पछिल्लो समयमा भएका यी राम्रा कदमलाई सलाम गर्नैपर्छ र सबैले साथ दिनुपर्छ पनि । दरबन्दीमा भएका डाक्टरहरुको उपस्थितीले पनि दैनिकजसो अस्पतालमा नागरिकको घुईचो बढेको छ ।
कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङ देशकै चासोको बिषय बन्यो । कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीसँगै सौभाग्य पाएको धौलागिरी अञ्चल अस्पताल यहिँ कठिन अवस्थाबाट काँचुली फेर्ने अवसरमा छ । यतिखेर सरकारको नजर यो अस्पतालमा परेको छ । दश दिनभित्रै आइसियु सेवा सन्चालनका लागि बजेट छुट्याइसकेको छभने केहि भेन्टिलेटरहरु पनि आइसकेका छन् । कोरोनाको ¥यापिड टेस्ट गरि जिल्लाका नागरिकलाई कोरोनाको जोखिमबाट बच्ने र बचाउने जिम्मेवारी पनि यहाँ कार्यरत स्वास्थ्यकर्मी र अस्पतालकौ हातमा आएको छ । हरेक कठिन परिस्थितीले हामीलाई दुःख मात्र होइन अवसर पनि लिएर आएका हुन्छन् । अब यहि कठिन अवस्थामा आफ्नो अद्भुत क्षमता र उत्कृष्ट काम देखाएर धौलागिरी अञ्चल अस्पतालले आफ्नो गुमेको साख फर्काउनुपर्छ ।
स्थानीय तह, संघ, प्रदेश सांसद र गण्डकी प्रदेश सरकारले पनि यो अस्पतालमा सिटी स्क्यान लगायत अन्य आवश्यक उपकरण र आवश्यक जनशक्ति उपलब्ध गराउन पहल गर्ने होभने धौलागिरी अञ्चल अस्पताल आम नागरिकको रोजाइको मोडेल अस्पताल बन्न सक्छ । अहिले उपलब्ध भएका कर्मचारी तथा डाक्टरलाई टिकाउने, आवश्यक पर्ने कर्मचारी तथा चिकित्सकलाई परिपुर्ति गर्ने, नागरिकको सेवाप्रति विशेष सिस्टमको विकास गर्ने र जवाफदेही बनाउँदै सबैको मन जित्न सकिन्छ । यो चुनौतीलाई अबसरमा बदल्न सबैले प्रयत्न गरौ । एउटा मदौरु अस्पतालले जुनी फेर्ने यो अवसरलाई फुत्किन नदिऔँ ।





