लकडाउन (बन्दाबन्दी) सरकार वा प्रशासनको आदेशबाट लागु र नियमन हुने आकस्मिक अवस्था हो । यसले सृजना गर्ने थप परिस्थिति भनेको होम/क्वारेन्टाईन, सेल्फ/आईसोलेसन हुन । विगतका अभ्यासहरु हेर्दा संक्रामक रोगहरुको प्रकोप नियन्त्रण गर्ने उद्घेश्यले मास मुभमेन्ट रोक्न यो उपाय अपनाउने गरिन्छ । यो बाहेक अन्य आकस्मिक घटनाहरुको प्रभाव कम गर्न पनि कहिलेकाही लकडाउन गर्ने गरिन्छ । उदाहरणको लागि सन १९८६ को न्युक्लियर दुर्घटना र सन २००१ को आतंकबादी आक्रमणको समयमा लकडाउनको पयोग गरिएको उल्लेख छ । हाल कोभिड–१९ बिरुद्घको प्रभावकारी पतिरक्षात्मक कदमको रुपमा विश्वभर यसलाई लागु गरिएको छ ।
विभिन्न समयका महामारी र त्यसका विरुद्घ प्रयोग गरिएका समान प्रकारका सुरक्षा उपायहरुमा लकडाउन, क्वारेन्टाईन तथा आईसोलेसन हुन् । १४ औ शताब्धीमा एसियामा शुरु भएर विश्वभरी फैलिएको प्लेग, जसलाई पछि गएर ब्ल्याक डेथ भनियो, को समयमा बेलायतमा लकडाउनको नीति अख्तियार गरी संसदको बैठक सार्ने, सरकारी अधिकारीहरु घरबिदामा बस्ने र ब्यापारमा प्रतिबन्ध लगाउने काम भएको थियो । यहि प्रकोपको बेला ईटालिमा बन्दरगाह बन्द गरी यदि कुनै पानीजहाज प्रबेश गरेमा ४० दिन सम्म आईसोलेसनमा राख्ने गरिएको पाईन्छ । १६ औ र १७ औ शताब्धीमा देखिएको प्लेगको महामारीमा पनि ब्यक्तिहरु घरभित्र सिमित थिए भने पानीजहाजहरुलाई विशेष नियमन गरी यात्रुहरुलाई क्वारेन्टाईनमा राखिएको थियो । ब्यापारीहरु पोर्टमा प्रबेश गर्न नपाउने र बस्तुहरुबाट संक्रमण नसरोस भनि हावामा सुकाउने (एयर्ड) गरिन्थ्यो । बेलायत लगाएतका देशले सीमा आगामन कडा बनाईएका थिए । त्यसैगरी पुर्नजागरणको बेलामा ईटालीमा देखिएको प्लेग, १९ औ शताब्धी देखी २० औ शताब्धी सम्म पटक पटक देखिएको हैजा, सन १९१८ को फ्लु तथा सन २००२ को सार्सको संक्रमणको समयमा पनि लकडाउनको प्रभावकारीता प्रमाणित भैसकेको छ । ईटालीका ईतिहासकार प्रो.जोन हेन्डर्सनले उल्लेख गरे अनुसार प्लेगको समयमा ईटालीमा मुख्यतया होम क्वारेन्टाईनको ब्यवस्था र नियमन प्रभावकारी गरिएको, राज्यका सीमामा अवरोध (कर्डोन सेनिटायर) बनाईएको र शहरहरु बीचको व्यापार बन्द गरिएको थियो ।
हैजाको समयमा अमेरीका र युरोपियन देशहरुमा बन्दरगाहाहरु बन्द गर्ने, संक्रमण फैलियको ठाँउबाट आउने ब्यक्तिलाई क्वारेन्टाईनमा राख्ने र बिरामीलाई आईसोलेसन अस्पतालमा राख्ने गरिएको पाईन्छ । स्पेनिश फ्लुको समयमा सामाजिक दुरी (सोसल डिस्टेन्स) र मास्क लगाउने कामले ईटाली लगाएतका देशहरुले यसको प्रभावकारी रोकथाम गर्न सकेको देखिन्छ । सार्सको बेला गाँउ, ठुला ठुला भवनहरु, बिश्वविद्यालय सिल गरी मानिसलाई लकडाउनमा राखेको चीनले त्यो अनुभवलाई कोरोना संक्रमण रोकथाममा प्रयोग गरेर यसको नियन्त्रणमा सफलता हासिल गरेको छ ।
संक्रामक रोगहरुमा अपनाईने लकडाउन विधिका आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक प्रभावहरु हुन्छन् । पहिलो प्राथमिकता संक्रमण नियन्त्रण भएतापनि यसका अन्य प्रभावहरु दैनिक र दीर्घकालिन हुने हुनाले यसमा राज्य, निजी क्षेत्र र नागरिक पनि गम्भीर र जिम्मेवार हुनुपर्छ । यस प्रकारको परिस्थितिलाई नागरिक अधिकार तथा स्वतन्त्रताको हननको रुपमा ब्याख्या गरेर बिरोधी राजनैतिक शक्तिलाई नियन्त्रण गर्ने अवसरको रुपमा पनि लिने गरिन्छ । युरोपमा हैजाको महामारीको बेला बढ्दो क्वारेन्टाईन र आईसोलेसनले व्यक्तिगत स्वतन्त्रता तथा नागरिक अधिकारको हनन गरेको भन्ने असन्तुष्टि सन १७८९ को फ्रान्सेली राज्यक्रान्तीमा समेत देखापरेको थियो । नेपालमा पनि प्रधानमन्त्रीले यो महामारीको बेला ब्यक्तिगत स्वतन्त्रता भन्दा जीवनलाई प्राथमिकता दिनुपर्ने समय हो भन्ने आसयले नागरिकलाई सम्बोधन गर्दा निकै बिरोध भयो र सरकार माथि प्रहार गर्ने काम पनि भयो । स्वभाविक रुपमा लकडाउनमा नागरिकको दैनिक जीवन कष्टकर बन्छ भने रोजाईमा सीमित विकल्प हुन्छन । स्वतन्त्र पुर्वक हिड्डुल गर्न नसक्ने, आफ्नो पेशा व्यवसाय संचालन गर्न नसकिने र आवश्यकता अनुसार बस्तु किन्न नसकिने अवस्था भनेको आजको समयमा स्वतन्त्रतामा सम्झौता नै हो । तथापि कतिपय बिकसित मुलुकहरुको अवस्था संग तुलना गर्दा नेपाली जनताले निकै अनुशासित भएर लकडाउनलाई राज्यप्रतिको दायित्वको रुपमा लिएको देखिएको छ ।
लामो समयसम्म घरभित्र बस्नुपर्ने, कोरोना संक्रमण र लकडाउनले सृजना गरेको आर्थिक संकट आदि समाचारका कारण विशेष गरी विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र विशेष स्याहार आवश्यक पर्ने वर्गलाई मनोबैज्ञानिक असर पर्ने संभावना बढी हुन्छ । यहि बेला यी वर्गलाई राज्यको संरक्षण बढी चाहिन्छ । आराम गर्ने सस्कृति निकै कम भएको हाम्रो मुलुकमा यसले ब्यस्त जीवनमा आराम र परिवारको साथको महत्व बोध गराएको छ । उत्पादन, आपुर्ति प्रणालीको महत्व सबैले महसुुुस गर्ने र उपभोग शैलीमा परिवर्तन ल्याउने अवसर बनेको छ । मानिसले बातावरणको महत्व बुझेको छ भने विज्ञान प्रविधी र हाम्रो अत्याधिक निर्भरताको सीमाको बोध भएको छ । रक्सी तथा अन्य दुव्र्यसनमा फसेकाहरुको लागि कुलत त्याग गर्ने मौका बनेको छ । यो समयको रचनात्मक प्रयोग गर्ने हो भने यसले ब्यक्तिको दैनिकी सुधार गर्न, धैर्यताको विकास गराउन, नयाँ विषयहरुको अध्ययन गर्न सघाउने अनुभव धेरैले गरेका छन् । पारिवारिक तथा सामाजिक सम्वन्धहरुलाई भर्चुअल बनाउने, शारिरीकतथा मानसिक अभ्यासमा नयाँ थालनी गर्न सकेमा यसले मानिसको जीवनलाई नै परिवर्तन ल्याउन सक्छ ।
कोरोनाबाट सृजित लकडाउनको कारण अर्थतन्त्रले ठुलो मुल्य चुकाउनु पर्ने देखिन्छ । एकातिर राज्यले कोरोना रोकथाम नियन्त्रण र राहत प्याकेजमा नियमित पुँजीगत खर्च रकमान्तर गरेर ठुलो रकम खर्च गर्नुपरेको छ भने अर्कोतिर उत्पादन र आपुर्ति अबरुद्द छ । कृषिमा बाहेक रोजगारी सृजना गर्ने उद्योग तथा पर्यटन क्षेत्रका आर्थिक गतिबिधि ठप्प छन् । यसबाट ठुलो संख्यामा रोजगारी गुमिरहेको छ । कृषि उत्पादन बजारसम्म पुराउन नसक्दा बारीमा कुहिने गरेका समाचार आईरहेका छन् । नेपाल आत्मनिर्भरता तर्फ बढ्दै गरेको पशुपालन र पोल्ट्री व्यवसाय निकै कठिन अवस्थामा छन् । यी सबैको सीधा असर बजार मुल्य र नागरिकको क्रयशक्तिमा परिसकेको छ । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई तत्काल असर नगरेपनि असंगठित क्षेत्रमा दैनिक ज्यालादारीमा जीवन यापन गर्ने मजदुरहरु र बिपन्न नागरिकको दैनिकी कष्टकर भैरहेको छ । यो समयमा राज्यको मुख्य दायित्व नै कष्टकर जीवन बिताउन बाध्य विपन्न नागरिक, ज्यालादारी मजदुर, बृद्द, अपाङ्ग तथा अन्य विशेष संरक्षण आवश्यक पर्ने बर्गको न्युनतम आवश्यकता परिपुर्ति गर्नु हो ।
कोरोना भाईरसबिरुद्व खोपको आविश्कार नभएको सन्दर्भमा यसको प्रभाव लामो समयसम्म रहने हुदा जनजीवन र अर्थतन्त्रको सामान्य निरन्तरताको लागि लकडाउनलाई सहज बनाउने निश्कर्षमा विकसित तथा विकासोन्मुख मुलुकहरु पुगेको हुनुपर्छ । नेपालमा लकडाउनको स्वरुप परिवर्तनको आवश्यकता महसुस भैसकेको छ । देशभर संक्रमण एकै प्रकारले फैलिएको छैन । यसर्थमा आजको आवश्यकता कोरोनाको नियन्त्रण गर्ने, नागरिकको दैनिक जीवनको सुरक्षा र अर्थतन्त्रलाई सामान्य रुपमा क्रियाशिल राख्नको लागि हालको लकडाउनको स्वरुपमा परिवर्तन हो । अब कम जोखिमका स्थान र क्षेत्रहरुको पहिचान र विश्लेषण गरी कडा मापदण्ड बनाएर लकडाउनलाई खुकुलो बनाउने निर्णय जरुरी छ । टेक्सटायल उद्योगको केन्द्र रहेको ईटालिले १७ औ शताब्धीको हैजाको महामारीमा यी उद्योगहरुमा सिमीत संख्याका कामदारहरुलाई काममा लगाएर अर्थतन्त्रलाई केहि हदसम्म निरन्तरता दिने प्रयास गरेको थियो । अहिले संक्रमणबाट अति प्रभावित चीन र युरोपियन मुलुकहरु स्पेन, फ्रान्स, ईटाली लगाएतले लकडाउनको स्वरुप परिवर्तन गरी आंशिक खुला गरिसकेका छन् । यो आलेख तयार पार्दा सम्म छिमेकी मुलुक भारतले जिल्लाहरुलाई रेड, अरेन्ज र ग्रीनमा विभाजन गरी मे १७ सम्म लकडाउनको समय लम्बाएको छ । अव भारतमा ग्रामिण भेगका बजार, आबाशिय क्षेत्रका किराना पसल आदि क्षेत्रहरु सहज हुनेछन । नेपालमा पनि गण्डकी प्रदेशले लकडाउन अबधिमा अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादनलाई शुरु गर्न निर्माण व्यवसायी, उद्योगी र कृषकले पालना गर्ने मापदण्ड तयार गरीसकेको छ । राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले पनि सर्तकता अपनाउदै लकडाउन खुकुलो पार्न सरकारलाई निर्दैशन दिएको छ ।
नेपालमा लकडाउन खुकुलो बनाउने हो भने यसका केहि अनिवार्य सर्तहरु छन् । पहिलो र अति महत्वपुर्ण सर्त भनेको छिमेकी मुलुक संग गरिएको सीमा बन्दलाई थप कडा पार्ने र अनुगमन गर्ने हो । अर्को विषय तत्काल अन्र्तराष्ट्रिय उडानहरु नखुलाउने र भारत र चीनको सीमाबाट आयात गरिने बस्तुहरुको किटाणुशोधन (डिसईन्फेक्सन)गरी सुरक्षित बनाएर ल्याउने व्यवस्था गर्नु हो । आन्तरिक रुपमा कोरोना संक्रमितको पहिचान गर्न सरकारले परिक्षणको दायरालाई निकै फराकिलो गराउन जरुरी छ । हालको लकडाउनको स्वरुप परिबर्तन गर्दा पहिलो चरणमा यस प्रकारका विकल्पहरुमा जान उपयुक्त हुन्छ ।
पहिलो, ग्रामिण भेगलाई खुला गर्ने । नेपालको ग्रामिण जनजीवन कृषिमा आधारित छ । विगत ३ हप्तादेखि संक्रमण नदेखिएका जिल्लाका ग्रामिण भेगहरुमा सम्पुर्ण कृषिसंग सम्बन्धित क्रियाकलाप गर्न मिल्ने गरी लकडाउन खुला भएको घोषणा गर्नु पर्दछ । यो नीतिलेलकडाउनका कारण मनोबैज्ञानिक दबाबमा रहेका कृषकहरु उत्पादन प्रति सकरात्मक र उत्प्रेरित हुन्छन् । गाँउमा अहिले जनशक्तिको पनि अभाव छैन । प्रदेश तथा सम्वन्धित स्थानिय तहले मल, बीउ तथा आवश्यक प्राबिधिक सहयोग उपलब्ध गराउने, उत्पादित कृषिजन्य बस्तुको सुरक्षित ढुवानी र बजारको सुनिश्चितता गर्न सक्नुपर्छ । बढी क्षति बेहोरीसकेका पशुपालन तथा पोल्ट्री व्यवसायलाई तत्काल पुनरोत्थान गर्नको लागि दुग्ध सहकारी, डेरीहरु र मासु पसलहरु सञ्चालनमा अनुमति दिनु पर्दछ । साथै लकडाउन अघि बैदेशिक रोजगारबाट फर्केका युवाहरुको सीप, क्षमता, लगानी तथा नेटवर्कलाई कृषि तथा अन्य स्वरोजगारमा आर्कषण गर्न तत्काल स्थानिय तहले पहल लिनु पर्दछ ।
दोस्रो, सुरक्षित भनि छुट्टाईएका जिल्लामा निर्माणको कामलाई प्राथमिकताका साथ सहज बनाउन जरुरी छ । ठुलो संख्यामा दैनिक ज्यालादारी मजदुरले रोजगार प्राप्त गर्ने यो क्षेत्रमा निर्माण सामाग्रीको सुरक्षित ढुवानी गर्दै सम्झौता भएका निर्माण कार्यहरु अगाडि बढाउनु पर्छ । अहिले ग्रामिण पुर्वाधार निर्माण कार्य सहज हुनसक्छ किनभने निमार्ण संग सम्बन्धित मजदुरहरु आ–आफ्नो गाँउ फर्केका छन् भने निर्माण सामाग्रीको उपलब्धता र ढुवानीमा कठिनाई कम छ । तथापि शहरी क्षेत्रमा अव मजदुरको अभाव हुने समस्या देखिन सक्छ यसको लागि अन्य क्षेत्रमा काम गर्ने र लकडाउनको कारण अलपत्र परेका मजदुरहरुलाई निर्माण कार्यमा लगाउने गरी द्रुत योजना बनाउन सक्नुपर्छ । यसबाट विकास निर्माणको काम अगाडि बढ्ने र रोजगारीको सृजना हुदा स्थानिय तहहरुले राहतमा खर्च गर्नुपर्ने ठुलो रकम बचत हुन्छ । यस आर्थिक वर्षको लागि निर्माण सामाग्रीको उत्खनन् जेष्ठ सम्म गर्न नसकिएमा निर्माण सामाग्रीको अभाव हुने हुदा हरेक तहले ठेक्का सम्झौता अनुसारको नदिजन्य सामाग्री उत्खनन् र निकासी गर्ने गरी सहजता गर्नुपर्ने जरुरी भैसकेको छ ।
तेस्रो, ग्रामिण र शहरी क्षेत्रको बजारलाई व्यवस्थापन गर्नु पर्छ । लकडाउनले उत्पादन र बजारलाई जोड्ने आपुर्तिश्रृखलालाई विगारेको छ । ढुवानी र थोक बजारलाई अहिलेको जस्तो उच्च सर्तकतामा चलाउने र गाँउ तथा शहरमा रहेका खुद्रा व्यापार गर्ने पसलहरु खुला गर्नु पर्दछ । ठुला खाद्य स्टोरहरुलाई आवश्यक सर्तकताका साथ अनलाईन डेलिभरीमा जानेगरी सञ्चालनमा ल्याउने र तरकारी तथा फलफुलका साना बजारहरु धेरै ठाँउमा विस्तार गरी कम भिडभाडमा बजार सञ्चालन गर्न सकिन्छ । यसले मुल्यमा परेको चापलाई घटाउने र आवश्यक परिमाणमा बस्तु उपलव्ध हुने अवस्थाको सृजना गर्दछ । चौथो, औधोगिक क्षेत्रलाई क्रमिक रुपमा खुला गर्दै लैजानु पर्दछ । स्थानिय श्रम र कच्चापदार्थ प्रयोग हुने साना तथा घरेलु उद्योगहरु, स्वदेशी कच्चापदार्थ प्रयोग गरी उत्पादन गर्न सकिने फर्निचर, सिमेन्ट, जुक्ता, औषधी आदि उद्योगहरु न्युनतम संख्यामा कामदार प्रयोग गरी संंचालन गर्दा अर्थतन्त्रलाई निरन्तरता दिन महत्वपुर्ण भुमिकारहन्छ ।
सार्वजनिक यातायातलाई तत्काल खुला गर्ने परिस्थिति बनिनसकेकोले आवश्यक मापदण्ड तयार गरी निजी सवारी साधनहरुलाई काम विशेषमा प्रयोग गर्न मिल्ने गरी खुला गर्नुपर्दछ । यसले जनजीबनलाई सामान्य बनाउने महत्वपुर्ण काम गर्दछ । पानी, विजुली, ईन्टरनेटको बिल तथा कर तथा शुल्कहरु, दैनिक उपभोग्य सामान खरिदको भुत्तानी अनलाईनबाट तिर्दा छुट दिने व्यवस्था गर्नाले अहिले सरकारी कार्यालय र बैङकहरुमा भीड व्यवस्थापन सहज हुने र अर्थतन्त्र विस्तारै डिजिटलाईज बन्न सहयोग पुग्दछ ।
यस अर्थमा बैशाख २५ पछिको लकडाउन परिवर्तित स्वरुपमा हुनुपर्छ । पर्यटन क्षेत्र, होटल व्यवसाय, सिनेमा हल, पार्क र अन्य सार्वजनिक स्थलहरु तत्काल खोल्ने अवस्था छैन । स्वतन्त्रता र अर्थतन्त्र भन्दा मानव जीवन महत्वपुर्ण हो जसको लागि संक्रमण बढिरहेका र संभावित क्षेत्रमा लकडाउन कडा बनाई यी ठाँउबाट सुरक्षित स्थानमा प्रवेश पुर्ण रुपमा बन्द गर्ने र प्रभावकारी नियमन गर्न सक्नुपर्छ । यसैबीच केहि बिकल्पको प्रयोगले अर्थतन्त्रलाई निरन्तरता दिन सकिने संभावनालाई पुरै प्रयोग गर्नु उपयुक्त हुन्छ ।
Twitterː @SBheshraj
(लेखक शर्मा पोखरा महानगरपालिकाका शाखा अधिकृत हुन् ।)





