अहिलेको यो विश्वव्यापी नोबल कोरोना भाइरस (कोबिड–१९) को महामारीको अवस्थामा बालबालिकाहरुलाई अनलाइन शिक्षा के यो सम्भव छ ? हुनसक्छ कलेज र विश्व विद्यालयका विद्यार्थीलाई सम्भव, तर प्राथमिक, अभारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई धेरै नकरात्मक पक्ष छन् र केही थोरै सकारात्मक पक्ष त होलान तर नकारात्मक धेरै छन् ।
सर्वप्रथम, त के सबै विद्यार्थीहरुको घर–घरमा टिभी, इन्टरनेट, मोबाइल आइफोन सेट, ट्याब अथवा अन्य उपकरणहरु प्रसस्त मात्रामा छन् ? दोश्रो, सबैको घरमा इन्टरनेटको राम्रो सुविधा र पर्याप्त डेटा छ ? जस्ले गर्दा बालबालिकाहरुले ति उपकरणहरु प्रयोग गरी पढ्न सकुन । तेश्रो, हाम्रा शिक्षक साथीहरुले विद्यालयका कक्षाकोठामा त राम्रोसंग पढाउनु हुन्छ तर उहाँहरुलाई अनलाइनमार्फत आफ्नो विषय कसरी पढाउने र आफ्नो विषयलाई पिपिटी वा भिडियो बनाइ अनलाइनमार्फत अपलोड गरी कसरी फाल्ने भन्ने कुरा अहिलेसम्म कसैलाई तालिम दिईएको अवस्था पनि छैन । यस्तो अवस्थामा तत्काल कसरी सम्भव होला ? हुनतः म पनि प्रविधिमैत्री र नयाँ–नयाँ प्रविधिलाई प्रयोग गर्न रुचाउने व्यक्ति हुँ, तर मलाई पनि सोच्नु पर्ने बाध्य बनायो र आफ्ना मनका कुरा व्यक्त गर्न मन लाग्यो । जब गाउँ दूरदराजका बालबालिकाहरुलाई सम्झिने गर्छु, जस्को विद्यालय जाँदा राम्रो पोशाक छैन, साथमा कापीकलम र बोक्ने झोला छैन । ती मजदुरहरु जस्लाई यो कोरोनाको महामारीले गर्दा बिहान र बेलुका एक छाक खानाको व्यवस्था गर्न धौ–धौजस्तो छ । बिहान खाए बेलुका के खाने हो ? भन्ने चिन्ता छ । यस्तो अवस्थामा यी आइटीका उपकरण कसरी जुटाउन सक्छन् ? अर्को अनलाइन शिक्षाले बालबालिकाहरुमा थप बोझ थुपार्ने बाहेक अरु केही हुन सक्दैनजस्तो लाग्छ । त्यसको विकल्पमा उनीहरुलाई होम स्कुलिङका कुराहरु अभिभावक स्वयंले सिकाउने तरिकाहरु हामीले सिकाउनु राम्रो हुन्छ होला ।
अहिले कोरोनाको महामारीले गर्दा सबै गाउँ फर्केको अवस्थामा शहरका केही बालबालिकाहरुमा मात्र यो पहुँच सिमित गर्दा परिणाम खासै न देखिएला । किनकी शहरमा सक्षम परिवारका बालबालिकाहरु इन्टरनेटको पहुँच भएकाहरु त त्यसै ग्लोबल एजुकेशनमा भिजीसकेका छन् ।
एउटा परिवारमा कम्तीमा दुईतीन जना बालबालिकाहरु होलान् । साथमा बुबाआमा यी सबैलाई कसरी मोबाइल र ग्याजेटस्हरु उपलब्ध गराउन सक्छन् ? शिक्षणमा जबसम्म बालबालिकाहरुको सहभागिताको दृष्टिकोण हुँदैन तबसम्म राम्रोसंग बालबालिकाहरुले बुझ्न सक्दैनन् ।
अहिले जताततै होडबाजी भएको छ, कुन स्कुलले पहिला अनलाइन कक्षा संचालन गर्ने भनी । मलाई लाग्छ यसले बालबालिकाको मनोबल खस्किनुबाहेक अरु केही हुँदैन । यसरी अनलाइन शिक्षा लिने र त्यो पहँुचबाट बाहिर भएका बालबालिकाहरुबीच डिजिटल डिभाइड गरी भेदभाव न गरौं । अहिलेको महामारीको लकडाउनमा बालबालिकामा थप पठनपाठनको बोझ नबोकाउँदा राम्रो होला । जुन बालबालिका, अभिभावक, शिक्षक र विद्यालयको पहुँचभन्दा बाहिर छ । यो पाँच–छ हप्तामा घरमा बसेर समय कसरी उपलब्धीमुलक बनाउने भन्नेबारे सोच्नु उचित हुन्छ । उनीहरुलाई घरायसी तथा सिृजनात्मक काममा सहभागिताका लागि प्रोत्साहन गरी हाम्रो संस्कार, पारिवारिक कुराहरु, सरसफाई, खाना पकाउने, करेसाबारीको काम र गाउँमा बस्नेहरुले खेतीपातीमा सहयोग गर्न लगाई सानैदेखि आत्मनिर्भर बन्न सिकाउनुमा नै फलदायी होला । न कि अनलाइन शिक्षाको नाउँमा साना बालबालिकाहरुलाई एक्लै बन्द कोठामा राखेर मानसिक शिकार हुन दिनु कत्तिको उचित होला ?
हाम्रा बालबालिकाहरु खुल्ला ठाउँमा खेल्न र रमाउन रुचाउँछन्, समूहमा बस्न चाहन्छन् । तर अहिलेको लकडाउनले गर्दा यी सबै कुराहरुबाट बञ्चित गराएको छ । घरमा होस् वा विद्यालयमा होस् शिक्षक र बाबुआमाको निगरानीमा पढ्ने बालबालिकाहरुलाई एक्लै कोठामा राखेर अनलाइन शिक्षाको नाउँमा मोबाइल हातमा दिएर छोड्दा त्यसको परिणाम झनै खतरा हुन सक्छ । जुनचाहिं हामी हाम्रो समाज र विभिन्न देशका घटनाहरुबाट थाहा पाउँदछौं की बालबालिकाहरुले इन्टरनेट मोबाइलको लतले गर्दा सकरात्मकभन्दा नकरात्मक कुरातर्फ आफ्नो समय खेर फालेको र विकृतिको शिकार भएको धेरै देख्दछौं । जुन पछि गएर ठुलो पछुतो हुन सक्छ ।
अहिले विशेष गरेर आमाहरुलाई आफ्नो बच्चा भुलाउने सजिलो तरिका भनेको उस्को हातमा मोबाइल दिएर एक्लै छोडी दिए हुन्छ । तर त्यसरी एक्लै छोड्दा हुर्कदो उमेरका बालबालिकाहरुलाई भने इन्टरनेटमार्फत आउने गलत अपराधिक एप्स्ले कस्तो नकरात्मक कुरातर्फ उन्मुख गराएको हुन्छ, त्यो अवस्थाको पिडा भोग्ने अभिभावकलाई मात्र थाह होला । हुनतः सबै बालबालिकाहरु त्यस्तै हुन्छन् भन्ने त होइन तर पनि बेलैमा सचेत हुनु जरुरी छ ।
त्यसकारण मेरो विचारमा सबै वर्गका बालबालिकाहरुको पहुँच हुनेगरी सरकारले टेलिभिजनमार्फत यस्तो फरक कार्यक्रम ल्याओस् र निर्देशन गरोस् जस्ले बालबालिकाहरुले आफ्नै घरमा लकडाउनमा बसी दिनको दुई÷तीन घण्टा व्यस्त गराउन सकोस र त्यसलाई बालबालिका र अभिभावक बसी संगै हेर्न सकुन् । साथै विद्यालय, शिक्षक र अभिभावकलाई एउटा गाइडलाइन बनाएर दिन सकोस जस्ले गर्दा घरमा बालबालिकाहरुबाट काम लिन सकियोस् । त्यसैले अहिलेको महामारीको अवस्थामा यो अनलाइन शिक्षाले कतै बालबालिकाहरुमा बोझ थपिने, मानसिक तनाव हुने र विकृतिको शिकार हुने त होइनन ? यसतर्फ सबै सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।
(शाही होलीचाइल्ड आवासीय माध्यमीक विद्यालय, बागलुङका संस्थापक प्रिन्सिपल हुन् ।)





