आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

स्पेनको लकडाउन : केही अनुभूति

स्पेनको लकडाउन : केही अनुभूति


  • प्रकाश थापा
  • बैशाख २४ २०७७, बुधबार

म सन् २०१९ सेप्टेम्बर २७ मा स्पेनको बार्सिलोना सहरहुँदै लेइदा सहरसम्म पुग्दा बाटोमा देखिने समुन्द्रीतट, सुन्दर बस्ती, खेतीपातीका हरिया फाँटहरु र मेडिटेरेनियन वनजंगलले मेरो मन कति प्रफुल्ल थियो भन्ने व्यक्त गर्न शब्दले साथ दिंदैन होला । विश्वविद्यालयको पढाइसँगै लेइदा सहरको झिलिमिली, पबबारको चर्को आवाज, भीडभाड, समुन्द्रीबिच, पिरेनिज पहाड र मेडिटेरेनियन फरेष्ट्रको घुमफिरले दिनचर्या बितेको पत्तो थिएन । हर्ष र उल्लासको सिमै थिएन । नयाँवर्ष २०२० सँगसँगै कोभिड–१९ को ज्वालामुखी चिनियाँ वुहान सहरमा विस्फोट भयो रे भन्ने हल्ला युरोपमा पैmलियो । तर पनि युरोप आप्mनै मस्तीमा थियो । अकस्मात् चलचित्रको पर्दामा देखिने दृश्यझैं सूक्ष्म जीवाणुको आक्रमण एकाएक इरान–इटालीमा भयो । आपूm नमरी स्वर्ग देखिदैन भनेझैं स्पेनीहरुले अझै नटेरी फुटबल आयोजना, मार्च ८ को महिला दिवसको जुलुसजस्ता कार्यक्रम गर्दै थिए । एकाएक अष्ट्रेलियामा फैलिएको डढेलोरुपी कोभिड स्पेनमा पनि दन्कियो । दिन र रात उस्तै लाग्ने यहाँका चलायमान सहरहरु एकाएक ठप्प भए । सडकका पेटी, चौर र समुन्द्री बीचमा वियरको चुस्कीमा साथीसँग अङ्गालो मार्दै रमाउने जीवनशैली छिनभरमा फुटेको सिसाझैं चकनाचुर भयो । खुल्ला आकाशमा उड्ने पन्छी पिंजडाको चरीझै खुम्चियो । यही पिंजडाको परिवेशमा बसेर म यस आलेखमा स्पेनको लेइदा सहर घर नं. १३० बाट आपूmले देखेका र साेंचेका केही कोभिड अनुभूतिहरु कोर्ने जमर्को गर्दैछु ।
हालसम्म युरोपेली मुलुकहरुमध्ये कोभिड–१९ बाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश स्पेन हो । यो आलेख तयार गर्दासम्म स्पेनको लकडाउन (बन्दाबन्दी) ४३ औं दिन पुगेको छ । अझै कति लम्बिन्छ कुनै निश्चितता छैन । दुई लाखभन्दा बढी संक्रमित भएकामा बीस हजारभन्दा बढी मानिसहरु मृत्यलोक पुगेको समाचार छ । मार्च महिनादेखि नै सूक्ष्म जीवाणुसँगको घमासान युद्ध चलिरहेकै छ । युरोपका अधिकांश राष्ट्रहरुमा कोभिडले स्पेनमा जस्तै आक्रान्त पारिरहेको छ । युद्धस्तरमा नै स्पेनभर कोभिडसँग राज्यले पूर्ण रुपमा शक्ति, स्रोत र साधन उपयोग गरेर जुधिरहेको छ । अहिले सहरका ठूल्ठूला पर्यटकीय होटलहरु औषधालयमा परिणत भएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले राज्यको चरम संघर्षलाई सघाइरहेका छन् । बन्दाबन्दीको नियम कडा रुपमा लागू छ । बेकामले बरालिनेहरुलाई चर्को फाइनदेखि जेलसम्म सजायको घोषणा गरिएको छ । अत्यावश्यक सेवाहरुबाहेक अन्य कार्यहरुमा बन्देज नै लगाइएको छ । कोभिडका कारण वर्षभर पर्यटकले भरिभराउ हुने मड्रिड र बार्सिलोनाजस्ता आर्थिक हबका सहरहरु अहिले कोरोनाको इपिसेन्टर बनिरहेका छन् । दैनिक रुपमा अधिकांश मृत मानव शरीर यिनै इपिसेन्टरमा भेटिन्छन् । हजारौं दर्शकले हेर्ने फुटबलका खेल मैदान, डिस्को, बार, पब, होटलरेस्टुराँ, पार्क, चोक र सडकहरु उजाड छन् । सबैको मनस्थितिमा ‘उडायो सपना सबै हुरीले’ भन्ने अवस्था सिर्जना भइरहेको छ ।
कोभिडपूर्व र कोभिडपछिको मेरो मनस्थिति र दिनचर्या पनि पूर्णिमा र औसीको रातजस्तै फेरिएको छ । पहिलेका रमाइला पलहरु सम्झँदै कोभिड नियन्त्रण कहिले होला भन्ने आशाका त्यान्द्राहरु मथिङ्गलमा हरपल घुमिरहन्छन् । बन्दाबन्दीमै मेरो दैनिकी पनि लेखपढ, युट्युब, फोनकल र साथीभाइसँग गफगाफमा बितिरहेको छ । दुईतिन हप्तामा खाद्यान्न लिन जानेबाहेक घरबाहिर निस्कने परिस्थिति छैन् । खाद्य स्टोरले पनि सामान किन्नभित्र पस्दा हातमा पञ्जा दिने र सेनिटाइजर लगाउन लगाई सामाजिक दूरी कायम गराउँछ । यहाँको एउटा सुखद पक्ष के छ भने यो महामारीमा कसैले पनि खाद्यान्नको अभाव झेल्नुपरेको छैन । बजारमा कालोबजारीको मार कसैले भोग्नु परेको छैन । खाद्यान्नको लोडले भरिएका गाडीहरु चिल्ला सडकहरुमा गुडिरहेका देखिन्छन् । खेतीपातीका कामहरु अहिले पनि निरन्तर चलिरहेका छन् रे भन्ने सुनिन्छ । अहिलेसम्म त सरकारले खाद्य सुरक्षाको राम्रो प्रबन्ध मिलाएकै छ । तैपनि विश्वव्यापी रुपमा आउन सक्ने खाद्य संकटको चुनौती यहाँ पनि कस्तो आउने हो पूर्वअनुमान गर्न गाह्रो छ ।
युरोप र अमेरिकाका अन्य मुलुकमा झै स्पेनमा पनि अहिले सामान्य स्वास्थ्य सामग्रीको चरम अभाव छ । मास्क, पञ्जा र सेनिटाइजर समेत यहाँका फार्मेसीहरुमा सहज रुपमा पाइदैनन् । कोभिडअगाडि र कोभिडपछि मानवीय आवश्यकता र सोंचाइमा परिवर्तन आउँदै छ । सायद म मात्रै होइन यहाँका स्पेनियाहरु पनि अहिले महँगो भौतिक वस्तु होइन सामान्य मास्क र पञ्जाको महत्व बुझ्दै होलान् । स्वतान्त्रता, मानवता र मनोरञ्जन नै मानवका लागि आवश्यकीय आवश्यकता हो भन्ने स्पेनीयाहरु अहिले रोग र भोकलाई नै पहिलो प्राथमिकता दिंदै होलान् । पहिले मेस्सी, बार्सा, र फुटबलको नशामा झुम्ने स्पेनीयाँहरु अहिले मानवलाई बचाउने चिकित्सकहरुको महत्व र भूमिका बुझ्दै छन् । स्वास्थ्यकर्मीलाई भगवान र स्वास्थ्य शिक्षालाई ज्ञान भन्दै छन् । सायद विश्वले अबको समय चिकित्सा क्षेत्रमा लगानी थप्दै जाला । रोगसँगको लडाइका निम्ति प्रतिरोधात्मक क्षमता बढाउन खानपिन र सामाजिक व्यवहारमा पनि परिवर्तन आउला । स्पेनियाहरु हरेक सुविधाका लागि गगनचुम्बी भवनमा बस्ने, डान्सबार र रेस्टुरेन्टमा रमाउने अनि आत्मियता प्रकट गर्न ओंठ, अंगालो र हात मिलाउने गर्छन् । सायद यिनीहरु पनि अब छरिएर बस्ने, धोती फेरेर खाना खाने अनि दुई मिटर टाढैबाट नमस्कार गर्नेे पूर्वीय परम्पराको सिको गर्नेछन् ।
मेरो यहाँको दिनचर्या आप्mनो अध्ययनका साथै केही नयाँ पुस्तकको अध्ययन र विद्युतीय सञ्जालमै बित्दछ । यहाँ सबै सुविधा भएर पनि जाबो भाइरसले देशलाई नै अनिश्चितकालिन बन्दी बनाइरहेको छ । मेरो अवस्थाको त के वर्णन गर्नु । उता ‘कर्णालीब्लुज’ को कथाको नशामा सुदुर तराईको मटेरा गाउँ र कटासेहुँदै कालीकोटसम्म पुग्दछु । वास्तविक नेपाली जीवनशैली र जीवन भोगाइका पीडाले मेरो मन च्वास्स छुन्छ । भौतिक दूरी टाढा भए पनि अनलाइनका अखबारे पानाहरु छिनछिनमा पल्टाउँछु । संसार कोभिड महामारीसँग लडिरहेको छ । सुविधासम्पन्न राष्ट्रका मन्त्रीहरु जनताको पीडा र अभावलाई सहन नसकेर आत्महत्या गरे रे ! भन्ने सुनिन्छ । सत्ता र प्रतिपक्ष, गरिब र धनीबीच कुनै भेदभाव छैन । तर विडम्बनाको कुरा मेरो देशमा ‘‘नेताहरु भोटको राजनीति गरे, संविधानलाई बन्दक बनाए, सत्ता परिवर्तन हुने भयो, पार्टी फुट्ने र गाँसिने भए, राहत सामग्री वितरणमा धाँधली भयो, स्वास्थ्य सामग्री खरिदमा कमिसन खाइयो, व्यापारमा कालो बजारी भयो’जस्ता नकारात्मक खबरबाहेक केही सुन्न र पढ्न पाइदैन ।
विद्युतीय सञ्जालमा जे–जस्ता अफवाहहरु सुन्नमा आए पनि सही समयमा सरकारको बन्दाबन्दी कार्यक्रमले नेपालीहरु अनाहकमा दुष्ट भाइरसको शिकार बन्नुपरेको छैन । सरकारको दूरदर्शी र साहसी कदमलाई साधुवाद भन्नै पर्छ । युरोप र अमेरिकी सरकारहरुको स्वास्थ्य प्रबन्धका तुलनामा नेपाल सरकारले गरेको स्वास्थ्य प्रबन्धलाई प्रशंसा गर्नै पर्दछ । विश्व स्वास्थ्य संगठनले पनि नेपालको स्वास्थ्य कदमलाई स्वागतयोग्य काम भनेकै छ । अझै सरकारले देशमा कोभिडको टेस्ट, टेस्ट र रिटेस्ट गर्नुपर्ने धेरै काम बाँकी नै छन् । पिसिआर टेस्ट बढाउँदै जानुपर्ने अवस्था छ । विदेशमा रहेका लाखौं युवा जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्ने काम बाँकी नै छ । यो समय सत्ता र प्रतिपक्ष, धनी र गरिब, नाफा र घाटाको लेखाजोखा गर्ने बेला होइन । अहिल्लै सरकारको आलोचना र प्रशंसा गर्ने बेला आइसकेको छैन । अझै सत्ता र प्रतिपक्ष कसैले पनि सूक्ष्म जीवाणुशास्त्री र चिकित्सकको महत्व र गाम्भीर्यतालाई बुझेको जस्तो देखिंदैन । सरकारद्वारा विप्रेषणको विकल्पमा स्वनिर्भर नयाँ अर्थनीति अझै आएजस्तो पनि मलाई लाग्दैन । सरकार विरोधीहरुबाट पनि कोभिड प्रतिरोधी सुझाव र सल्लाहभन्दा पनि सत्ता अभावको आक्रोश मात्र गुन्जिएको महसुस हुन्छ ।
हरेक समस्यासँग सम्भावना पनि लुकेको हुन्छ । कोभिडले मानिसलाई बन्दी बनाए पनि अन्य प्राणीहरु मानवीय बन्धनबाट मुक्ति पाएका छन् । विश्वभर नै वायु प्रदूषणमा कमी आएको छ । वातावरणीय विशाक्तता कम भएको छ । प्रकृति आफैमा बोक्सी र आफै धामी पनि हो । प्रकृतिमा रमाएका जीवजन्तुको विनास नै अहिले कोभिड संकटको मूल कारक तत्व हो । मानिसको भूमिका प्रकृतिमा केवल क्षणिक व्यवस्थापकको रुपमा मात्रै हो । सही व्यवस्थापन गर्नसके प्रकृति वरदान हो, नत्र यही नै मानव जातिको अन्त्यका लागि अभिषाप पनि । मानव जातिले प्रकृतिको अत्याधिक दोहन गर्नाले अन्ततः आफूलाई नै यसरी चुनौती दिन्छ भनेर न साेंच्यो, न त सम्झियो । मानव केवल प्रविधिको विकास, प्रकृतिको दोहन, अन्तरिक्षको खोज, बमबारुदको निर्माण र युद्धको तयारीमा तल्लिन भयो । हिजोसम्म दम्भले भरिएको मानवीय स्वभावले आज प्रकृतिलाई नै महान् सम्झन थालेको छ । प्रकृतिको शरणमा पर्न बाध्य बनाएको छ । कोभिडले नै मानवलाई दम्भ र अहंकार त्यागेर नयाँ सोंचाइ र मार्गमा लाग्न सिकाउँदै छ ।
विज्ञान र प्रविधिमा धेरै आशातित उपलब्धि हासिल गर्न नसके पनि नेपाललाई प्रकृति, संस्कृति र पशुपतिनाथले साथ दिएकै छन् । राजनीतिले साथ नदिए पनि धन्य छ साथ दिने प्रकृति, संस्कृति र पशुपतिलाई । आखिर रोग र भोकको नियन्त्रण गरे मात्र राज्यको भूमिका देखिंदो रहेछ । बाँकी अन्य आवश्यकता त क्रमशः आउँदै र पूर्ति हुँदै जानेछन् । यो महामारीले गाउँघर, वनपाखा र उकालीओराली एकपटक सम्झायो । नेपालीपन र संकृतिको महत्व सिकायो । आशा गरौं बिग्रेको राजनीति सुध्रिनेछ, कोभिड नियन्त्रणमा आउने छ अनि स्वदेशमै शिक्षा, स्वास्थ्य र स्वरोजगारमा नेपाल आत्मनिर्भर हुनेछ । आगामी दिनमा हामी सबै नेपालीले स्वदेशमै कला, संस्कृति र प्रकृतिको जगेर्ना गर्न पाइयोस् । जय मातृभूमी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->