आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नेकपाभित्रको अन्तरसंघर्ष र यसको निकास

नेकपाभित्रको अन्तरसंघर्ष र यसको निकास


  • कृष्ण बहादुर केसी
  • बैशाख २४ २०७७, बुधबार

यतिबेला सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद चरमउत्कर्षमा पुगेको छ । गत शनिबार बसेको सचिवालयको बैठकले उक्त विवादलाई केही मथ्थर पार्न खोजे पनि उक्त विवाद स्थायी कमिटीको बैठकमा थप छताछुल्ल भएर पोखिने खतरा ताजै छ । यहिँ स्थितीलाई मध्येनजर राखेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली स्थायी कमिटीको बैठकप्रति बढि संशकित भईरहेको देखिन्छ । स्थायी कमिटीमा प्रस्तुत गर्ने एजेण्डा र प्रतिवेदन लेख्ने जिम्मेवारी पाएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यतिबेला सबैलाई मिलाएर लैजान सकिने अर्थात् सबै पक्षको भावना र चाहानाको प्रतिनिधित्व हुने प्रकारको प्रतिवेदन तयार पार्न अहोरात्र खटिरहेको देखिन्छ । त्यस्का लागि उनी कहिले बालुलाटार, कहिले नेपाल निवास कोटेश्वर, कहिले स्थायी समितिका सदस्यहरुलाई भेटेर छलफल र परामर्श गरिहेका छन् । तर, नेकपाभित्र विकसित विभिन्न घटनाक्रम र त्यस्बाट सृजित जटिल परिस्थितिको सामना गर्नका लागि स्थायी कमिटिको बैठकमा पेश हुने प्रचण्डको प्रतिवेदनले सबैलाई सन्तुष्ट बनाउन सक्ला भनेर कल्पना पनि गर्न सकिदैन । किनभने प्रधानमन्त्री ओली स्वयम् सचिवालयको निर्णयप्रति प्रतिवद्व छन् भन्ने कुरामा आशंका देखिन्छ । नेकपाभित्र लामो समयदेखि भित्रभित्र भूसको आगोको रुपमा विकास भएको अन्तरसंघर्ष मित्रवत नभएर प्रतिशोधपूर्ण अवस्थामा पुगेको छ । त्यो प्रतिशोधलाई अभिव्यक्त गर्न स्थायी कमिटिको बैठक उपयुक्त मौका र अवसर भएको अध्यक्ष ओली इतर नेताहरुले गरिरहेका छन् । सचिवालयको बैठकमा आफ्नो कमजोरीलाई स्वीकार्दै आत्मालोचना गरेका प्रधानमन्त्री ओलीले स्थायी कमिटिको बैठकमा सरकार र पार्टी नेतृत्वबाट आलोचना हुने डरले थप सशंकित भएका छन् । यसका पछाडिका मुख्यकारण सरकारको फितलो कार्यशैली, अलोकप्रियता, चौतर्फी आलोचना र विरोधनै प्रमुख रहेका छ ।
यसका बाबजुद पनि पार्टीभित्र चौतर्फी घेराबन्दीमा परेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कोरोनाको परिस्थितीले साथ दिईरहेको छ । यतिबेला मुलुक कोरोनाको महामारीबाट आक्रान्त बनेको छ । यद्यपी अन्य मुलुकको तुलनामा कोरोनाको संक्रमण नेपालमा नगन्य भएपनि मुलुक दिन प्रतिदिन संकटग्रस्त बन्दै गईरहेको छ । लाखौंको रोजगार र व्यवसाय खोसिएको छ, हजारौं भोक मार्नका लागि सडकमा लाम लागेका छन्, लकडाउन बाध्यता छ तर यसका कारण मुलुकको अर्थतन्त्र जोखिममा पर्दे गएको छ । छिमेकी भारतले विदेशमा भएका आफ्ना नागरिकलाई देशमा ल्याउने निर्णय गरिसक्यो दुर्भाग्य नेपालले विदेशमा भएका नेपालीप्रति केवल ओठेभक्ति जाहेर गर्दे आन्तरिक शक्तिसंघर्षमा हराईरहेको देखिन्छ । जसका कारण देशभित्र र बाहिरबाट सरकार व्यापक आलोचनाको घेराबन्दीमा पर्दैछ ।
सरकार र नेकपा विरोधी शक्तिहरु नेकपाको आन्तरिक शक्ति संघर्ष मुलुकको अहिलेको प्रतिकुल परिस्थितीमा बेमौसमी बाजा भएको संज्ञा दिँदै नेकपाको सरकारले शासकिय जिम्मेवारी र संवेदनशिलताको धज्जी उडाएको आरोप लगाईरहेका छन् । यो आलोचनाले ओली इतरहरु सोच्न बाध्य भएका छन् । जसका कारण प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवादलाई मत्थर पार्न कोरोनाको कहर र बजेट अधिवेशनको तयारीले पनि साथ दिईरहेको छ । तर पार्टीभित्रको परिस्थिति भने ओलीको प्रतिकुल देखिएको छ । तत्कालका लागि सचिवालय बैठकमा उधारो वामदेव कार्डले विवाद केही मत्थरजस्तो देखिए पनि स्थायी कमिटिको बैठकसम्म पुग्दा ओलीले ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यद्यपी ओलीले आफ्नो रक्षाको लागि शिर्ष नेताहरुसंग पार्टीमा समन्वयकारी भूमिका खेलिदिन अनुरोध गरिरहेका छन् ।
शनिबारको सचिवालय बैठकमा खेलिएका दृश्य–अदृश्य खेलबाट पार्टीभित्र तत्कालका लागि आफ्नो पल्लाभारी भएको महशुश गरेका प्रधानमन्त्रीले उधारो वामदेव कार्डमार्फत विरोधीहरुलाई फुटाउन सफल भए । आफुलाई क्रान्तिकारी ठान्ने लोभीपापीहरुको अस्थिरता, पदलोलुपता तथा आत्मासमर्पणका कारण पनि सचिवालयको बैठक प्रभावित बन्न पुग्यो । यो अन्तरसंघर्षमा ओलीको नियतमात्र होइन धेरै पात्र र प्रवृत्तिहरु उजागार हुन पुगे । पार्टी एकतालाई अन्तरसंघर्षहुँदै रुपान्तरणमा लैजानु पर्नेमा पुरानै सोच र गुटका विभाजन गर्ने र एकताबाट प्राप्त जनमतलाई व्यक्तिगत क्षमता र व्यक्तित्वका आधारमा प्राप्त भएको व्याख्या गर्नेजस्ता घातक प्रवृत्ति पनि यो अन्तरसंघर्षमा उजागर हुन गए । शिर्ष नेतृत्वमा देखिएको अहंकार आफ्नै हैसियत बराबरका अन्य नेतामाथि गरिने मानमर्दन तथा चरम गुटगत क्रियाकलाप, आलोचक र मिडियाप्रति असहिष्णु व्यवहारका कारण विकास हुँदै गएको अधिनायकवादी सोचकाविरुद्व पार्टीमा व्यापक असन्तुष्टि कायमै छ । प्राविधिक रुपमा सचिवालयको बैठकमा विभिन्न तिकडम गरेर उम्कन खोजे पनि त्यसले स्थायी समाधान दिने छैन । किनभने सारा तिकडम रोग जरामा लागेको छ औषधि पातमा छर्केर निकास खोज्नु जस्तै हो । त्यसैले समस्या समाधानका लागि स्थायी कमिटिको बैठकमा व्यापक बहस छलफल गरेर निकास निकाल्नु अहिलेको प्राथमिकता हो ।
पार्टीभित्र उत्पन्न हुने हरेक अन्तरसंघर्ष स्वभाविक हुन्छन् । माओले भन्छन्– हरेक वस्तुमा अन्तरविरोध विद्यमान हुन्छ । पार्टी पनि एउटा वस्तु भएकाले यसभित्र अन्तरविरोध हुन्छन् । जसरी वस्तुभित्र अन्तरविरोध भएनभने वस्तुको अन्त्य हुन्छ त्यसैगरी पार्टीभित्र पनि अन्तरविरोध भएनभने पार्टी जीवन अन्त्य हुन्छ । त्यसैले माओले अन्तरसंघर्षको परिणाम नयाँ आधारमा नयाँ एकता कायम गर्नुपर्नेमा जोड दिन्छन् । तर, नेकपाभित्र भने एकता, संघर्ष र रुपान्तरणको दिशामा भन्दा पनि एकता, संघर्ष, गुट, सम्झौता र सत्तामा हिस्साजस्ता कुराले अन्तरसंघर्षलाई दुरुपयोग गरेर निकास दिन खोजिदैछ जुन माक्र्सवादी पद्वती पनि होइन । चिनियाँ कम्युनिष्ट पार्टीभित्र अन्तरविरोधको सार खिच्दै सन् १९६१ तिर माओले पार्टीमा भनेका थिए– तपाईहरुले माक्र्सवादको अभ्यास गर्नुहुनेछ । संशोधनवाद होइन, तपाईहरु संगठित हुनुहुनेछ, फुट्ने होइन । तपाईहरु इमान्दार र खुल्ला हुनुहुनेछ खुराफात र षडयन्त्रकारी होइन् । नेकपामा अहिले यसको ठिक उल्टो भईरहेको छ । माओका उपरोक्त भनाई नेकपामा जोकजस्तै भएको देखिन्छ । यो अन्तरसंघर्षलाई विधि पद्वतीभन्दा बाहिरबाट स्वार्थसिद्व गर्ने औजारको रुपमा प्रयोग गरिनु पूर्णतः गलत छ ।
सचिवालयका ९ जना सदस्यहरुले के बुझ्नु पर्दछ भने सचिवालय भनेको आफ्ना पोजिसन सुदृढ र भागवण्डा गर्ने उपयुक्त थलो होइन यो त सिंगो नेकपाको विचार सिद्वान्त र राजनीतिलाई अभिव्यक्त गर्ने निकाय हो । यस्ले राष्ट्र, जनताप्रति उत्तरदायी बनेर निर्णय र निकास दिन सक्नुपर्दछ । अन्यथा यो सचिवालयको औचित्यमाथि नै गंभीर प्रश्नचिन्ह उठ्न सक्छ ।
जनतामा अलोकप्रिय र पार्टीभित्र कमजोर भएपछि प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष ओली सचिवालयभित्र छलकपटको राजनीति शुरु गर्न थालेका छन् । उनी व्यक्तिलाई पद बाँडी प्रलोभनमा पारेर आफुलाई शक्तिशाली भएको भ्रममा छन् । तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले विगतमा पार्टीभित्र ठिक यस्तै तिकडम गर्ने गरेका थिए । कांग्रेसमा गुट उपगुट निर्माण गर्ने, आफन्तलाई सुविधा र मौका दिने, आफुभन्दा शिर्ष तहका नेताहरु गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईजस्ता नेताहरुलाई मानमर्दन गर्दा उनीहरुबाट पार्टीनै छोड्न बाध्य भए । जसका कारण कांग्रेस नै विभाजन र चौपटमा पुग्यो । बहुमतको सरकारको ढल्यो । कांग्रेसका कारण मुलुकमा अस्थिरता र अराजकता सिर्जना हुन गयो । कांग्रेसले सिर्जना गरेको फोहोरी भद्दा संसदीय राजनीतिलाई सफा गर्ने र समाजवादतर्फको यात्रा गर्ने प्रतिवद्वतासहित जनतामा पुगेर नेकपाले बहमुत ल्याएको हो । दुई भिन्न सोच र कार्यशैली भएका ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकता यो बहुमतको आधार थियो । करिब दुई तिहाई नजिकको बहुमत सरकारको नेतृत्व गर्ने अवसर इतिहासले केपी ओलीलाई जिम्मा दियो तर उनकै नेतृत्वमा गिरिजा प्रसाद कोइराला कालको फोहोरी राजनीतिको पुनरावृत्ति कम्युनिष्ट पार्टीभित्र भित्रिनु इतिहासकै भद्दा मजाक हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->