सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

साना कक्षाका विद्यार्थीलाई स्वअध्ययन गराउँदै बरेङ

साना कक्षाका विद्यार्थीलाई स्वअध्ययन गराउँदै बरेङ

विद्यार्थीको घर घरमै पाठ्य सामग्री पुराउन थालियो


  • तारानाथ आचार्य
  • जेष्ठ १ २०७७, बिहिबार

बागलुङ, १ जेठ– लकडाउनअघि बन्द भएका विद्यालयमा नयाँ शैक्षिकशत्र सुरु गर्ने समय भएपनि कोरोना भाईरस संक्रमणको जोखिमका कारण सरकारले विद्यालय खोल्न सकेको छैन । चैतको ५ गते विद्यालय तहका सबै परीक्षा सकेका विद्यालय चैतको ६ गतेदेखि सरकारको निर्देशनमा बन्द भए ।
बागलुङका अधिकांश सामुदायीक विद्यालयले अनलाईन, सामाजिक सञ्जाल र शिक्षक सम्पर्कमार्फत नतिजा सार्वजनिक गर्दै आएका छन् । अहिले एकाध बाहेकका विद्यार्थी एक कक्षामाथि चढेका छन् । सबै विद्यार्थी घरमै छन् । उनीहरुको काम खेल्ने, मोबाईल हेर्ने र गाउँ चाहार्ने छ । विद्यालय बन्द रहेका कारण घरमै फुर्सदमा रहेका विद्यार्थीलाई कसरी सिकाईसँग जोड्ने र खाली समयको उपयोग गर्ने भन्ने बिषयमा कमैले सोचेको पाईन्छ ।
तर, बागलुङको बरेङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षाको तयारीमा रहेका विद्यार्थीको लागि सामुदायीक रेडियोमार्फत कक्षा चलाएको छ । बालबिकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई स्वअध्ययनका लागि बरेङले प्रेरित गर्दैछ । गाउँपालिकाले अभिभावकको सहयोगमा साना कक्षाका विद्यार्थीलाई स्वअध्ययनमा सहभागी गराउन लागेको हो । ‘लकडाउनका कारण अभिभावक पनि फुर्सदमा हुनुहुन्छ, विद्यार्थी घरमै छन्’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘लामो समय विद्यालय बाहिर हुँदा विद्यार्थीलाई समस्या हुन्छ त्यसैले साना कक्षाका विद्यार्थीलाई अभिभावकको सहयोगमा स्वअध्ययन गराउने नीति लिएका छौं ।’ सामान्य लाग्ने सिकाईको बिषयले बिद्यार्थीको भविश्यमा ठुलो प्रभाव छोड्ने भएकाले बाल मानसिकतालाई सिकाईमा केन्द्रित गर्न लागिएको उनले दाबी गरे ।
गाउँपालिकाले अभिभावकको सहयोगमा आफ्ना बालबालिकालाई घरमै गराउन सकिने सिकाई क्रियाकलापहरू समेटिएको पाठ्यसामग्री तयार गरेको छ । विद्यालयमार्फत ती पाठ्यसामग्री विद्यार्थीको घर घरमा पु¥याईने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । ‘सरल भाषाशैलीको पाठ्य सामग्री तयार भएको छ, जसबाट अभिभावकले आफ्ना बालबालिकालाई सिकाईमा सहभागि गराउन सक्नुहुन्छ’ थापा भन्छन् ‘गाउँपालिकाका विद्यार्थीको घरमा विद्यालयमार्फत सामग्री पु¥याउँछौं ।’
पाठ्यसामग्री तयारी पूर्व गाउँपालिकाको शिक्षा शाखाले कक्षा ३ सम्मका विद्यार्थीको लगत संकलन गरेको छ । झण्डै १ हजार २ सय जना विद्यार्थीको हातमा सजिलो सिकाई सामग्री पु¥याउने उनले बताए । गाउँपालिकाले आफ्नै स्रोत साधनको प्रयोग गरेर सिकाई सामग्री तयार गरेको हो । नेपाल सरकारले तोकेको पाठ्यक्रमका आधारमा मानव स्रोत विकास केन्द्रले तयार पारेको पाठ्यसामग्रीलाई जस्ताको तस्तै छपाई गरेर विद्यार्थीलाई बाँड्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->