पोखरा, ११ जेठ– संसद चलाउनु त छदैछ । त्यसमाथि सामाजिक दुरी पनि कायम राख्नुपर्ने ! बल्लतल्ल मुस्किलले छिर्न मिल्ने नदिपुरको संसद भवनमा सामाजिक दुरी कायम राख्न नमिल्ने भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद भवनको विकल्प खोज्दै केही समय भौतारिएर हिँडे । अन्तत ः विकल्पको रुपमा पोखरा सभागृह तय भयो । पोखरा सभागृहमा गण्डकी प्रदेश सरकारको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
अधिवेशन सुरु गर्न सभागृहको रंगरोगनदेखि डेकोरेसन फेर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ खर्चिसक्यो । टुटे–फुटेका कुर्सी र रंगरोगन लगाउन मात्रै प्रदेश सरकारले २५ लाख रुपैयाँ खर्चेको हो । ३२ वर्ष पुरानो सभा गृहलाई पोखरा महानगरले रंगरोगन गरेर मुहार फेर्न खोजे पनि महानगरको प्रयास सफल हुन सकेको थिएन । उच्च सतर्कता अपनाउँदै यसअघि नै सातै मन्त्री, सांसद, कर्मचारी सबैको कोरोना चेकजाँच पनि गरिएको थियो ।
लामो समयदेखि ठप्प भएर बसेको आर्थिक क्षेत्र चलायमान हुन नसक्दा बजेटको आकार घटेर आउने पक्कापक्कि जस्तै भई सकेको छ । प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले बन्दाबन्दीकै कारण प्रदेश सरकारलाई दैनिक ३८ करोड घाटा लागेको सामाजिक सञ्जालमै सेयर गरि सकेका छन् । अर्थमन्त्री गुरुङले सामाजिक सञ्जालमा अर्थतन्त्रबारे खुबै टिप्पणी पनि गरिरहेका छन् । राजश्य संकलनको दर ५० प्रतिशतभन्दा पनि कम हुने अर्थ मन्त्रालयको आँकलन थियो ।
गण्डकी प्रदेश सरकारले निर्वाचित भएर आईसकेपछि ३६ वटा विधेयक पास गरिसकेको छ । संशोधन विधेयकसहित पास भईसकेका छन् । बजेट अधिवेशनमा गण्डकी सरकारले थप ९ वटा विधेयक पेश गर्ने तयारीमा छ । वातावरण विधेयक लगायतका ९ विधेयक संसदमा पेश हुँदै छन् । प्रदेश सभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेका अनुसार, ९ विधेयक संसदमा दर्ता भईसकेका छन् । ‘८÷९ वटा लाइनमा छन् । अब कति वटा पास हुन्छन्, हेरौं,’ उनले भने । दिउँसो १ बजेदेखि सुुरु हुने छ । अधिवेशनमा दुई वटा कुर्सीको अन्तर कायम गरेर बस्ने व्यवस्था मिलाइएको छ ।
अघिल्लो वर्षमा ३ खर्ब ८ अर्बको कुल ग्राहस्थ उत्पादन निकालेको गण्डकी प्रदेशले यो वर्ष बढाएर ३ खर्ब ५४ अर्ब पु¥याउने लक्ष राखेको थियो । अघिल्लो वर्ष ३२ अर्ब बराबरको बजेट ल्याएको गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा ६÷७ अर्ब घटाएर ल्याउने केही समय अघिको कुराकानीमा अर्थमन्त्री किरण गुरुङले बताएका थिए । बन्दाबन्दीका कारण ६ अर्ब बराबरको क्षति ब्यहोर्नु परेको कारण बजेटको आकार बढाउन नसकिने उनले त्यसबेला बताएका थिए ।
यद्यपि, गण्डकी सरकारका प्रवक्तासमेत रहेका अर्का मन्त्री रामशरण बस्नेतले भने आगामी आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्बकै हाराहारीमा बजेट ल्याउने बताएका छन् । ‘यकिन त भईसकेको छैन । लगभग ३२÷३३ अर्बकै आउला,’ उनले भने, ‘चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउँछ । केही दिनमा सिलिङ तय हुन्छ । अहिलेको सिलिङ आधिकारिक होइन ।’
मन्त्री बस्नेतले ५÷७ वटा विधेयक संसदमा पेश हुने बताए । संसदमा पेश भएका सबै जसो विधेयक करिब करिब पास हुने उनले सुनाए । ‘करिब—करिब विधेयकहरु पनि पारित होलान्, बजेट अधिवेसन, बर्षे अधिवेशन भएको कारण धेरै कुरा त त्यतैतिर समेटिन्छ,’ उनले भने ।





