पोखरा, १३ जेठ– यतिबेला पोखरा सभागृह चिरिच्याट्ट देखिएको छ । सभागृहको मुलद्धार बाट छिर्ने बित्तिकै सभागृहको रुप फेरिएको देखिन्छ । लाग्छ, सभागृहको मर्मतसंभार भएको छ । तर, त्यो रुप भने बाहिरी हो, भित्र भने उस्तै ।
आइतबारदेखि पोखराको सभागृहमा गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएको छ । विश्व कोरोनाको चपेटामा परेको कारणले प्रदेश सरकारले सामाजिक दूरी कायम गर्नको लागि सभागृह रोजेको हो । सभागृहको बाहिर रंगरोगनको काम भएको छ भने भित्र पनि केही कुर्सीहरु मर्मत गरिएको छ । भुर्इँमा रातो कार्पेट समेत बिच्छाइएको छ तर सभागृहको छत (सिलिङ) भने कता खस्ने हो भन्ने डर छ भने विद्युतको समेत समस्या उस्तै छ । प्रदेश सरकारले स्टेजदेखि सांसद् बस्नेसम्म ठूलाठूला सेतो पर्दाले छोपिएको छ भने परेवाले छतमा गुँड समेत बनाएको छ ।
सभागृहमा केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्मका विभिन्न विषयक कार्यक्रमहरुको आयोजना हुने गर्छन् । प्रत्येक वर्ष पोखरा महानगरपालिकाको नीति तथा कायक्रम यही स्थानमा हुने गरेको छ । तर जस्ले त्यहाँ कार्यक्रम गर्छ, उसले सभागृहभित्र मर्मतको लागि समेत बजेट छुट्याउन पर्छ । बिजुलीको लागि जेनेरेटरको आवश्यक पर्दछ भने पंखाको लागि टेबल पंखादेखि टेबल एसीसम्मको प्रयोग गर्न बाध्य देखिन्छ । तर अहिले सम्म पनि सभागृहको स्तरोन्नति भने हुन सकेको छैन ।सभागृहमा गण्डकी प्रदेश सरकारले संसद् बैठक बस्नको लागि २५ लाख रुपैयाँ खर्चियो र सुरु ग¥यो बजेट अधिवेशन । बजेट अधिवेशनको सम्बोधन गर्दै प्रदेशसभा सदस्य हरिशरण आचार्यले सभागृहको संरक्षण गनै प्रदेश सरकारले बजेट छुट्याउनुपर्ने बताए । हामीले पहिले पनि यहाँ कार्यक्रम गरिसकेका छौँ, मैले दुईपटकसम्म यस विषयलाई महत्वका साथ समेटेको छु तर प्रदेश सरकारले यसमा कुनै चासो देखाएको छैन्’, आचार्यले भने ।





