बागलुङ, १४ जेठ– धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबि राना मगरले बागलुङ अस्पतालमा कार्यरत सिनियर अहेव कविता शाक्यलाई प्रशासनमा हाजिर गरेर मात्रै तलब खान भनिएको बताएका छन् । ‘हामीले कविता बैनीलाई हाजिर मात्रै गरेर तलव खान भनेका हौं, तथ्य नबुझी गलत ब्याख्या गरियो’, बुधबार दिउँसो अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष रानाले भने, ‘उनी अपांङ्ग छन् भन्ने हामीलाई थाहा छ, त्यहीं भएर अस्पतालले नै सुविधा सम्पन्न क्वारटरमा राखेको छ ।’
अस्पतालमा भइरहेको सुधारबाट आत्तिएका ब्यक्तिहरु सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत अस्पताल र आफुविरुद्ध योजनावद्ध रुपमा लागेको बताउदै अध्यक्ष रानाले अस्पतालमा कुनै काम नगरे पनि सि. अहेव शाक्यलाई चैत महिनासम्मको तलव भुक्तानी गरिइसकिएको बताए । दुर्घटनामा परेदेखि नै उनी हालसम्म अस्पतालको सुविधा सम्पन्न क्वाटरमा वस्दै आएकी छिन् ।
शाक्य दुर्घटनामा परी अपांग भएकाले नै उनलाई अस्पतालको क्वाटरको ब्यवस्था गरिएको र हालसम्मकुनै काम नगरी पनि प्रशासनले क्वाटरमा नै गएर हाजिर गराई तलव दिदै आएको बताए । मानवीय संवेदनाका आधारमा अस्पतालले उनलाई उच्च सम्मानसहित सहयोग गरेको स्मरण गर्दै अध्यक्ष रानाले पेन्सनका लागि योग्य हुने समयसम्म निवासमा नै लगी हाजिरी खातामा हस्ताक्षर गरेको सुनाए ।
२०७६ मंसिरमा उनी पेन्सनका लागि योग्य भएकी थिइन् । पेन्सनको समयसम्म आवासमा नै लगि हाजिर गराएको तर जीवनभर त्यसरी हाजिर गराउन कानुनी र नैतिक हिसाबले नमिल्ने अध्यक्ष रानाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘हाम्रो मेसुले पटक पटक हाजिर गर्न आउन पत्राचार गर्नुभएको छ तर हल्ला हाँजिर रोकेको भनेर आयो’ रानाले भने ‘यो गलत हो ।’
आफु अध्यक्ष भएपछि नेपालको संविधानले दिएको हरेक नागरिकको स्वास्थ्यको हकलाई कार्यान्वयन गर्ने अस्पतालको पहिलो प्राथमिकता भएको जनाएका छन् । आफुहरुले जिम्मेवारी पाएपछि अस्पतालमा सुधारको परिणाम देखिन थालेको बताउदै अध्यक्ष रानाले नागरिकको सेवामा कुनै कमी कमजोरी भएमा आफु यो पदमा एक मिनेट पनि नबस्ने प्रतिवद्धता जाहेर गरेका छन् । अस्पतालको सुधारका लागि विधि र सिस्टममा कुनै कम्परमाइज नहुने उनले बताए । ‘यो नागरिकको अस्पताल हो, यसमा ब्यक्तिको स्वार्थ ठूलो हुनै सन्दैन, अध्यक्ष रानाले भने, ‘यो अस्पताललाई विरामीमैत्री बनाउन सवैको सहयोगका लागि अनुरोध गर्दछु ।’
मलाई क्षमताअनुसार काम दिनुहोस भनेको हुँ : शाक्य

यसैबीच, अस्पतालकी सिनियर अहेव कविता शाक्यले आफु अपांग भएकाले आफुले गर्न सक्ने काम दिन अनुरोध गरेको बताइएकी छिन् । हालसम्म आफु अस्पतालकै क्वाटरमा बसिरहेको र चैतसम्मको तलब पनि आफ्नो खातामा आएको बताउँदै उनले आफुलाई पहिलेकै अवस्थामा काम गर्ने वातावरण मिलाउन आग्रह गरिन् ।
‘मैले यो निवासमा बसेरै गर्न सक्ने काम दिनुहोस् भनेकी छु’ शाक्यले अस्पताले उपलब्ध गराएको आफ्नै क्वाटरमा ढोरपाटनसंग कुरा गर्दै भनिन्, ‘कम्प्युटरमा इन्ट्री गर्ने काम त गर्नु सक्छु नि, तर मलाई काम गर्नै सक्दिनेस् भनिन्छ ।’ हातले काम गर्न सक्ने तर खुट्टाले हिंड्न नसक्ने अवस्थामा आफु भएको उनले बताइन ।
‘निवास ह्विलचियर चल्ने स्थानमा भए अन्य काम पनि गर्न सक्छु,’ सि. अहेव शाक्यले भनिन्, अहिले त म यहाँबाट निस्किन पनि चार जनाको सहयोग चाहिन्छ । शाक्य अस्पतालको क्वाटरको दोस्रो तलामा बस्दै आएकी छिन् । त्यहाँबाट ह्विलचियरमा भुईंतलामा आउन सकिने अवस्था छैन् ।
‘हामीले अब बन्ने संरचना अपांगमैत्री बनाईरहेका छौं’ विकास समितिका अध्यक्ष राना मगरले भने, ‘निजी निवास भाडामा लिँदा र बनिसकेका संरचना तत्काल अपांगमैत्री बनाउने काम कठिन छ । नयाँमा त्यो सबै व्यवस्था हुन्छ ।’
आफुले सधै यसरी नै निवासमा हाजिर गरेर तलब खाने ब्यवस्था गर्नुभन्दा निवासलाई अपांगमैत्री बनाएर काम गर्ने ब्यवस्था मिलाउनु पर्ने शाक्यको माग छ । मलाई भुइतलामा निवासको ब्यवस्था गरे सजिलो हुने थियो ।
‘मलाई पेन्सन निस्किन दवाव दिने गरिएको छ, म बाहिर गएर कसरी काम गरेर खान सक्छु र ?, भावब्हिलहुँदै शाक्यले भनिन्, ‘काम गर्न सक्ने अवस्थासम्म म यहीं काम गर्न चाहन्छु । एउटा अपांगता भएको ब्यक्तिले पाउने सुविधा मलाई दिनुप¥यो ।’ अपांगता भएका ब्यक्तिको लागि ऐनले दिएको सुविधा अस्पताल प्रशासनले मिलाउनु पर्ने उनले दोहोराईन् ।





