बागलुङ, १७ जेठ – कोरोना परिक्षणका लागि गलकोट नगरपालिकामा २६ जनाको स्वाव संकलन गरिएको छ । छिमेकी मुलुक भारतबाट ११ जेठसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए । नगर भित्र कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम कम गर्दै उच्च सतर्कता अपनाउन पीसीआर परिक्षणको दायरा अगाडि बढाइएको प्रवक्ता भण्डारीको भनाई छ ।
गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटी स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ९ जना, वडा नम्बर २ स्थित नरेठाँटी स्वास्थ्य चौकीको नयाँ भवनमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ३ स्थित गलकोट बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ४ स्थित खरुवा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जना र १ जना चालकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले बताईन ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको र रोजगारीको सिलसिलामा भारत गएका नागरिक धमाधम फर्कन थालेको हुँदा नगरभित्र संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापनसँगै कोरोना परीक्षणलाई पनि सँगसँगै अगाडि बढाइएको उपप्रमुख काउचाले बताईन । चेक जाँच गरेपछि क्वारेन्टाइनमा बसेकाहरु पनि ढुक्क हुने र परिवार र टोल छिमेकमा समेत त्रास कम हुने नगरपालिकाले विश्वास लिएको छ ।
स्वाव संकलनको लागि ल्याव टेक्निसियन मनोज पुन, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदी सहित जनप्रतिनधिको टोली सम्बन्धित ठाउँमा पुगेको थियो । स्वाव संकलनको लागि चाहिने आवश्यक किट तथा सामग्री जनस्वास्थ्य कार्यालय बागलुङले पठाएको थियो । जेठ ११ गतेसम्म गलकोट नगरपालिकामा प्रवेश गरी विभिन्न वडामा रहेका क्वारेन्टाइनमा रहेका नागरिकको स्वाव संकलन गरिएको हो । आईतबार पनि स्वाव संकलन गरिने छ । गलकोट नगरपालिका वडा नं ११ रिघामा जेठ १२ गते आएका १८ जनाको स्वाव संकलन गरिने छ ।





