पोखरा, १८ जेठ– गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख अमिक सेरचनले आइतबार ३ बजे प्रदेशसभासमक्ष आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । गण्डकी सरकारले यसअघि नै नीति तथा कार्यक्रम कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार एवं लकडाउनले पारेको आर्थिक प्रभाव न्यूनिकरणमा केन्द्रित हुने जानकारी दिइसकेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयकमा संचालनमा रहेका विकास निर्माणका कामहरुलाई सुचारु गर्ने, प्रदेश गौरवका आयोजनाहरुलाई अघि बढाउने जानकारी गराइसकेका छन् । यसैगरि सरकारको नीति तथा कार्यक्रममा कृषिलाई पनि विशेष प्राथमिकता दिइनेछ । यसअघि पर्यटन, कृषि, उर्जा र उद्योगलाई प्राथमिकतामा राखेको प्रदेश सरकारको लागि कोरोनापछिको जटिल परिस्थितिले प्राथमिकता बदल्नुपर्ने दवाव परेको हो । रोजगारी सृजना, उत्पादकत्व वृद्धि एवं संकटमा परेका उद्योग÷व्यवसायलाई पुनर्जीवन दिनेगरि नीति तथा कार्यक्रम आउने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसैबीच गण्डकी प्रदेश प्रमुख अमिक सेरचनको स्वाब परीक्षण गरिएको छ । आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व उनको स्वाब परीक्षण भएको हो ।





