बागलुङ, १८ जेठ– एकान्तबासमा रहेकाहरुलाई सहयोग पु¥याउन भन्दै बागलुङको रामरेखा आधारभूत विद्यालय क्वारेन्टिनमा योग प्रशिक्षण सुरु भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेका योग गुरु चन्द्रकान्त पौडेलले रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनालाई शनिबारदेखि योग प्रशिक्षण दिन सुरु गर्नु भएको हो ।
क्वारेन्टाइनमा रहेका भारतदेखि गृह जिल्ला फर्किएका १८ जना र सवारी चालक र सहचालक ४ जनालाई योग प्रशिक्षण दिन सुरु गरिएको बानपा–१ का वडा सदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्ने सबैको दिनचर्या, सरसफाइका उपाय, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचारका विषयमा प्रशिक्षण दिन शुरु गरिएको योग गुरु पौडेलले बताए ।
उता, कोरोना प्रभावित क्षेत्रबाट आउने युवाहरुलाई सहयोग र हौसला प्रदान गर्न जिल्लाको बरेङ गाउँपालिका वडा नं. ३ धनमुढाचौरका युवाहरुले कोरोना संघर्ष समिति गठन गरेका छन् । धनमुढाचौरका २५ जना युवाको भेलाले भारत लगायतका देशका विभिन्न ठाउँबाट आएर आफ्नो क्षेत्रको क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्न समिति बनाएका हुन् ।
उनीहरुले गाउँपालिकाको सिमासम्म आईपुगेकाहरुलाई उद्धार गर्ने, क्वारेन्टाईनमा बसेकालाई आवश्यक खानपान तथा मनोरञ्जनको समेत व्यवस्था गरेका छन् । कोरोना संक्रमण र रोकथाम गर्नु युवाहरुको दायित्व भएको बताउँदै समितिका संयोजक पदम बहादुर थापाले वडा कार्यालय र गाउँपालिकासँग सहकार्य गरेर समितिले चेतनामुलक कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।
बरेङ वडा नं. ३ को ज्ञानोदय आधारभूत विद्यालयमा रहेको क्वारेन्टाईनमा अहिले भारतबाट आएका दुई जना युवा बसेका छन् । उनीहरुलाई एकान्तमा बस्दा गाह्रो नहोस् भनेर समितिले साउण्ड सिस्टमको समेत व्यवस्था गरेको संयोजक थापाले बताए ।





