बागलुङ, १८ जेठ– धौलागिरी अस्पताल बागलुङले कोरोनाका बिरामी उपचारको बिषयलाई लिएर भैरहेका टिका–टिप्पणीमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सञ्चारमाध्याम र सामाजिक सञ्जालमा समेत अस्पताल र त्यहाँ कार्यरत चिकित्सकका बिषयमा भएका आलोचनाहरुको अस्पतालले प्रेस बिज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोना संक्रमण रहेका बिरामीको उपचारमा नगई फोनबाट मात्रै परामर्श दिएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उपचारमा संलग्न चिकित्सकहरु बिरामीको नजिक पुगेको र बाहिर आएकोजस्तो अवस्था नरहेको बिज्ञप्तीमा उल्लेख छ ।
अस्पतालले जारी गरेको बिज्ञप्तीमा भनिएको छ– ‘संक्रमित वा संकास्पद विरामीको उपचारमा यस अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु नियमित रुपमा खटिइरहेको अवस्थामा संक्रमितको उपचारमा डाक्टरहरु नियमित रुपमा नगएको र फोनबाट मात्रै परामर्श गर्ने गरेको भन्ने आशयका समाचारहरुमा अस्पतालको ध्यानाकर्षण भएको छ ।’
चिकित्सक तथा उपचारमा संलग्न कर्मचारीहरुको मनोवल गिराउने हिसावले आएका सामग्रीमा विश्वास नगर्न बिज्ञप्तीमा आग्रह गरिएको छ । ‘आईसोलेसन कक्षमानै गएर जाँचबुझ तथा परामर्श गर्ने गरेको, आकस्मिक सेवा, प्रसुती, शल्यकृया, हेमोडालासिस, एक्स रे, ल्याव, क्षयरोग, एच.आई.भी. एड्सको औषधि वितरण, ज्वोरो क्लिनिक, लगायतका स्थानमा अहोरात्र खटेको’ बिज्ञप्तीमा भनिएको छ ‘स्वास्थ्यकर्मिहरुको मनोवल घटाउनेखालका गलत र भ्रमपूर्ण सामग्रीहरु अनुमानका भरमा सम्प्रेषण नगरिदिनुहुन सम्बन्धित पक्षलाई आग्रह गर्दछौं ।





