सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सभासद भन्छन्, ‘सुनौलो आउला भनेको त, पढ्दा धन्नै आँसु झरेन’

सभासद भन्छन्, ‘सुनौलो आउला भनेको त, पढ्दा धन्नै आँसु झरेन’


  • श्याम राना मगर
  • जेष्ठ २० २०७७, मंगलबार

पोखरा, २० जेठ – स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । सरकारले प्रस्तुत गरेको सोही नीति तथा कार्यक्रम माथि सोमबार प्रदेश सभाको बैठकमा छलफल चलेको छ ।
नीति तथा कार्यक्रमलाई सत्तापक्षका सांसदहरुले तारिफ गर्दै पूर्ण समर्थन जनाए पनि विपक्षी दलका सांसदहरुले भने खोटैखोट लगाएका छन् । प्रदेश सभामा बोल्ने विपक्षी दलका सांसदहरुले छलफलमा बोल्दै ‘एक थोक आउँछ कि भनेर सोचेको अर्कै आएको’ प्रतिक्रिया दिएका छन् ।
नीति तथा कार्यक्रम माथि बोल्दै सांसद प्रकाशचन्द्र दवाडीले सरकारले ल्याएको निलो किताब कता न सुनैसुनले लेपेको आउँछ कि जस्तो लागे पनि घरमा गएर पढ्दा धन्नै आँसु नै झर्ने तरिकाले आएको देख्दा मन साह्रै पिरो भएको प्रतिक्रिया दिएका छन् । सांसद दवाडीले प्रदेश सरकारले गण्डकी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने कोसिस गर्छ कि जस्तो लागे पनि कहीँ पनि त्यो बुँदा नसमेटिएको बताउदै दुःख मनाउ गरेका छन् । ‘मलाई एउटा ख्याल आउँछ, सकारले एउटा सुरुमा गण्डकी प्रदेशले निर्णय गरेको थियो । हस्पिटल थियो, त्यो पनि सुरु भएन । लेखनाथ सामुदायिक लायन्स हस्पिटलमा सुरुमा एउटा घोषणा आएको थियो’, उनले भने, ‘त्यो घोषणा सुन्दा यसमा पनि आउछ कि जस्तो लागेको थियो । तर, आएन । त्यो हस्पिटलमा भेन्टिलेटर खडा गर्ने सरकारले घोषणा गरेको थियो खुसी लागेको थियो । अहिले हेर्दा अहिलेसम्म पनि खडा भएको छैन । धेरै माननीय मन्त्रीज्यू हरुले धेरै भनि सक्नु भयो । अहिलेसम्म कहाँ बनेको छ भेन्टिलेटर ?’
महामारिको रुपमा फैलिई रहेको कोरोना भाइरस विकराल समस्या बनेर आई सक्दा पनि सरकराले अहिलेसम्म गरेको छुँ, भनेको छु, गदैछु भन्ने मात्रै आवाज आएको उनले बताए । ‘यो सब देख्दा, कता कुराले मात्रै चिउरा भिजाएको हैन सरकारले जस्तो महसुस भएको छ’ उनले भने, ‘त्यसैले मलाई आज के बोल्ने ? के बोल्ने ? जस्तो मलाई लागेको छ । जति भने पनि जति गरे पनि सरकारको त्यो बाटो जनताको सामु भन्दा पनि असफलको बाटोमा गएको मलाई अनुभूति भएको छ ।’
सरकारको पहिलो प्राथमिकता जनतालाई बचाउने पक्षमा हुनुपर्ने उनले सुनाए । अहिले मेरो योजना भन्दा पनि सरकारले कोभिड–१९ रोकथामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
यता, सत्तापक्षका सांसद इन्द्रधारा विष्टले भने नीति तथा कार्यक्रम समय सान्दर्भिक आएको बताएका छन् । संसार नै थला परेको बेलामा सरकार पनि त्यसबाट अछुत नरहेको भन्दै उनले सरकारको बचाउ समेत गरे । यो नीति तथा कार्यक्रमले बुँदाबुँदामा प्रदेशबासीको जीवन रक्षा र प्रदेशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषयलाई नीति तथा कार्यक्रमले बोलेको उनले बताए । दिगो विकासमा लक्षित भएर निर्माण भएको जस्तो देखिन्छ, किनभने प्राविधिक शिक्षालाई जोड, गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चितता, कृषि क्षेत्रलाई व्यवस्थित गर्ने र मुख्यमन्त्री नमुनामैत्री कृषि गाउँ, पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने जस्ता उद्योग, उद्यमशिलता विकास गर्ने विशेष कार्यक्रम सञ्चालन गर्ने, उज्यालो प्रदेश, एक घर एक धारा, झोलुंगे पुल, मोटरेबल पुल, निर्वाचन क्षेत्र एक सडकजस्ता कार्यक्रमलाई निरन्तरता दिएको भन्दै उनले सरकारको बचाउ गरे।
‘नीति तथा कार्यक्रम ऐतिहासिक छ । इतिहासमै नभएको, इतिहासमै प्रस्तुत नभएको संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भयो’ उनले भने, ‘त्यही अनुरुप यो प्रदेश सभामा पनि बुँदा नम्बर ६ मा नेपालको भुमी, लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई सो अनुरुप परिमार्जन गर्न संविधान संसोधन गर्न प्रस्ताव अघि बढाउने । नेपाल सरकारको ऐतिहासिक र राष्ट्रवादी कदमको स्वागत गर्दछु ।’ राष्ट्रियताको पक्षमा सम्माननीय प्रधानमन्त्रीले दह्रो अडान लिएर चालेको साहसिक कदमको सिंगो गण्डकी प्रदेशले पूर्ण समर्थन प्रस्तुत गर्न पाउदा गौरवान्वित महसुस गर्दै, नीति तथा कार्यक्रम ऐतिहासिक भएको उनले प्रतिक्रिया दिए ।
विपक्षी दलका सांसदले दिएको प्रतिक्रियालाई कटाक्ष गर्दै सांसद विष्टले नीति तथा कार्यक्रम जसरी हे¥यो त्यस्तै रहेको बताए । विपक्षीलाई व्यंग गर्दै सांसद विष्टले सांसदमा गीत पनि गाएका थिए । सभामुखको अनुमति लिएर उनले
‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार’  बोलको गीत गाएका थिए ।
अर्का सांसद मेखलाल श्रेष्ठले भने प्रदेश सभामा जारी भएको नीति तथा कार्यक्रम रामायण जस्तै लागेको प्रतिक्रिया दिए । ‘१२ वर्ष पढायो सीता कस्की ? न यो सरकारले तत्काल कति पिसिआर गर्ने ? कति जना प्रदेश भित्र छिर्दै छन् ? उनीहरुको परिक्षण गर्ने ? परिक्षण गरि सकेपछि त्यसलाई आइसोलेसनमा राख्ने, क्वारेन्टाइनमा राख्ने हो कि ?’ उनले भने, ‘त्यो भन्दा जीर्ण बिरामीलाई डेडिकेटेड अस्पतालमा राख्ने हो कि ? यि कुरा सरकारले गरेको छ । तर, कहाँ कागज र भाषणमा सरकारले भन्ने गरेको छ ।’
सरकारप्रति कटाक्ष गर्दै सांसद श्रेष्ठले नागरिक खोलामा खस्दा समेत उद्धार गर्नुको सट्टा पुल बनाएर तर्दै गरौंला भन्ने गरेको उनले प्रतिक्रिया दिए । ‘सरकारले भन्दैन, आफूसँग स्रोत र साधन के छ ? त्यो स्रोत र साधनले टापुमा फर्केको त्यो व्यक्तिलाई हेलिकप्टरबाट हो कि ? रसीले तानेर हो कि त्यसलाई जिउँ दिएर त्यसलाई उद्धार दिन सरकार तयार छैन’, उनले भने, ‘सरकारले भन्दै छ, पख है म पुल बनाउँदै छुँ । पुलबाट तिमीले तर्दै गरौला । बिरामी मर्न लागि सक्यो । सरकारले भन्दै छ । हामी पिसिआर ल्याउँदै छौं । हामीले देश बनाउँदै छौं । हामीले हस्पिटल उच्च क्वालिटीको बनाउँदै छौं । तर जनता मरिसक्यो ।’
परीक्षणका दायरा बढाउनुको सट्टा दैनिक जम्मा ५७ जनाको परिक्षण गर्ने गरेको भन्द उनले कटाक्ष गरें । ‘प्रदेश सरकार याद छ कि छैन, यो गण्डकी प्रदेशको सबै जनतालाई नेपाली काँग्रेसले पनि भनेको थियो एउटा परिवार १ जनालाई गरौं । विदेशबाट आएका सबैलाई पिसिआर गरौं’,उनले भने, ‘क्वारेन्टाइन बरु नराखे पनि हुन्छ । किनभने, क्वारेन्टाइन कोभिड १९ उत्पादन गर्ने उद्योग बनेको छ ।’
अर्की सांसद धनमाया पोखरेल लामाले नाराहरु थुप्रै पढ्ने÷सुन्ने गरे पनि त्यसको परिणाम केही नदेखिएको उनले सुनाइन् । अहिलेको अवस्थामा हामीले कृषिलाई अझ व्यवस्थित गर्न प्रदेश सरकारले नीति मात्र होइन, साँच्चिकै कार्यक्रम बनाएर आत्ननिर्भर अर्थतन्त्र बनाउनको निम्ति कृषिमा भविष्य देख्नु पर्ने उनले तर्क राखिन् । प्रदेश सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा कौशी खेतीलाई प्रोत्साहन गरिने छ भन्ने बुँदा तत्काल खारेज गरिनुपर्ने समेत उनले तर्क राखिन् । ‘कौसी खेती त हेर्नलाई हो खानलाई होइन । हामीले नीति मात्रै बनाउने हो कि एघारै जिल्लालाई कसरी आत्मनिर्भर बनाउन सक्छौं ? भनेर हामीले कार्यक्रम बनाउने हो ?’ उनले भनिन् ।
मनाङ, मुस्ताङ र गोरखा जिल्लाको धार्चे, चुमनुब्रि गाउँपालिकालाई स्याउ उत्पादनको सुपर जोन बनाउने भन्ने मिठो नीति तथा कार्यक्रम समेटे पनि सस्तो लोकप्रियताको लागि योजना सार्वजनिक गरेको उनले बताइन् । ‘गोरखाको चुमनुब्रि भ्याली पुग्न अझैं पनि चार दिन पैदल यात्रा गर्नुपर्छ । त्यही क्षेत्रको प्रतिनिधित्व गर्ने माननीय मन्त्री ज्यू यहीं हुनुहुन्छ, बारम्बारको नीति तथा कार्यक्रममा गोरखाको धेरै नाम सुनियो । धेरै नाम सुन्दा विकास हुन्छ कि भनेर मन प्रफुल्ल पनि बन्यौं । तर, त्यहाँको वास्तविकता के हो ?’उनले भनिन्, ‘चुमनुब्रि अझैं चार दिन पैदल यात्रा गरेर चुमनुब्रि पुग्छौं भने त्यो ठाउँमा स्याउको बेर्ना कसरी पु¥याउने ? त्यहाँ उत्पादन भएको स्याउलाई कसरी बजार व्यवस्थापन गर्ने त्यतातिर ध्यान जान आवश्यक छ ।’
पैसा थुपारेर के गर्ने ?
सभासद विन्दुकुमार थापाले प्रदेश सरकारले ल्याएको नीति तथा योजनालाई पानीको फोकाको संज्ञा दिएका छन् । उनले नीति तथा कार्यक्रमले पुरानै योजनाको निरन्तरता दिएको जिकिर गर्दै भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नारा नै हास्याष्पद भएको टिप्पणी गरे ।
‘भ्रष्टचारलाई शुन्यमा झार्ने कुरा हास्यस्पद हो । यो सरकारबाट त्यो अपेक्षा राख्न सकिदैन । विगतमा पनि आलीदेखि थालीसम्म गोठदेखि ओँठसम्म जस्ता नारा र पोखरा वृहत चक्रपथ निर्माण, पोखरा बसपार्क निर्माणलाई १ करोड छुट्याइयो । प्रदेशमा मुटु मृगौला क्यान्सर उपचार सम्बन्धि विशिष्टकृत अस्पताल निर्माण जस्ता धेरै कुराहरु ल्याइए’, उनले भने,‘ तर ती सबै योजना पानीका फोकाजस्तै भए ।’उनले चालु वर्षको झण्डै ९ महिना यो सरकारले त्यसै खेर फालेको आरोप लगाउँदै रातो किताबमा परेका महत्वपूर्ण योजनाको टेण्डर नभएर बजेट सबै फ्रिज भएको जिकिर गरे ।‘अब हामी रातो किताबमा योजना पार्यौ भनेर ढुक्क हुनुपर्ने अवस्था रहेन ’, उनले थपे ।
उनले प्रदेश सरकार अनियमितता, अपारदर्शिता, कमिसनको खेल र भ्रष्टाचारमा रुमल्लिएको जिकिर गर्दै१० लाखको योजनामा पनि विकल्प हुँदाहुँदै अन्तिम समयमा आएर अनिवार्य टेण्डरमा जानुपर्छ भनिएको दृष्टान्त पेश गरे । प्रदेश सरकारको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १८ करोड ३ लाख भएपनि लकडाउनको ७० दिन पुग्दा करिब ७ करोड मात्रै किन खर्च भयो भन्दै खर्च कोषमा रकममा मात्रै थुपारेर समस्याको समाधान नहुने तर्क गरे । ‘जनता आरडीटी पीसीआर टेष्ट गर्न नपाएर छट्पटिएका छन् । खाना नपाएर भोकै बस्नुपर्ने अवस्था छ । भारतीय सिमाबाट आएका नेपालीहरुलाई सामान्य स्वास्थ्य परीक्षण तथा आरडीटी टेष्ट नगरिकन स्थानीय पालिकाको जिम्मामा पठाइएको छ’, उनले भने, किटको अभावका कारण प्रदेशमा रहेका क्वारेन्टाइनमा टेष्टनै नगरि अव्यवस्थित र असुरक्षित बस्नुपरेको छ । यस्तो अवस्थामा दुई तिहाईको दम्भ बोकेको सरकार काम भइरहेको भन्दै आश्वासन देखाउनु लज्जाष्पद हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->