बागलुङ, २० जेठ– ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको आरडिटी पोजेटिभ देखिएपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, कार्यकारी सम्पादक रामकृष्ण बोहरा, सञ्चालक सदस्य पिम्ला गौतम, संवाददाता सचिता गौतम, संजित पौडेल र केशव भण्डारीको धौलागिरी अस्पतालमा आरडिटी परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये गौतम बाहेक अन्य सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । पत्रिकाका सह–सम्पादक तारानाथ आचार्यको भने यसपूर्व नै स्वाव संकलन गरी परिक्षण गरिएको थियो । आचार्यको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सम्पादक गौतमको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो । सम्पादक गौतमसंगै अस्पताल विकास समितिका अध्यक्ष केवि राना मगर र सदस्य शालिकराम शर्माको पनि स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरामा पठाइएको छ । पिसिआरका लागि संकलन गरिएको स्वाव मंगलबार पोखरा पठाएकोले परिक्षणको नतिजा बुधवार बेलुकासम्म आइपुग्ने अस्पतालले जनाएको छ ।





