बागलुङ, २१ जेठ– जापानमा बसेर व्यवसाय गर्दै आएका जिल्लाको गलकोट नगरपालिका–७ मल्मका एक युवाले जन्मदिनमा हुने खर्च कटाएर पीडितलाई सहयोग गरेका छन् ।
गलकोट मल्मका सिवु थापा (लक्षु)ले गलकोटका आगलागी पीडित, विदेशमा मृत्यु भएकाको परिवार र क्वारेन्टाइनमा बसेकालाई गरी २५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
थापाले मल्म सिरबारेका आगलागी पीडित जुक्त बहादुर खड्काको परिवारलाई १० हजार, एक साताअघि साउदीमा ज्यान गुमाएका मल्म आरानटोलका लक्ष्मण सुनारको परिवारलाई १० हजार र मल्मको क्वारेन्टाइनमा रहेका ६ जनालाई ५ हजार बराबरको खाद्यान्न सहयोग गरेको गलकोट नगरपालिका–७ का वडासदस्य लोक बहादुर थापाले जानकारी दिए ।
संकटका बेला थोरै भएपनि राहत होस् भनी जन्मदिन मनाउँदा हुने खर्च कटाएर आफूले सहयोग गरेको थापाले बताए । गलकोट समाज जापान क्षेत्रिय समिति कान्साईका अध्यक्ष र घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्षसमेत रहेका थापा सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।





