शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा संक्रमित थपिए, उपचार कहाँ गर्ने तयारीनै छैन्

बागलुङमा संक्रमित थपिए, उपचार कहाँ गर्ने तयारीनै छैन्

स्थानीय तह र कमाण्ड पोष्टका बिच समन्वय र समझदारी नहुँदा समुदाय स्तरमा कोरोना फैलिने त्रास बढ्दो


  • तारानाथ आचार्य
  • जेष्ठ २२ २०७७, बिहिबार

बागलुङ, २२ जेठ – सदरमुकाममा रहेको धौलागिरी अस्पतालको आईसोलेसन कक्षको क्षमता भन्दा धेरै कोरोना संक्रमित देखिएपछि बागलुङमा विहिवार (आज) थपिएका कोरोना संक्रमितलाई उपचारका लागि कहाँ लैजाने अझै टुंगो लागेको छैन् । जिल्लामा एकाएक रुपमा संक्रमितको संख्या बढ्दै जादाँ उनीहरुलाई राख्ने ठाउँको बिषयमा टुंगो लगाउनै कठिन भएको छ । जिल्ला कमाण्ड पोष्टले दुई दिन अघिदेखिनै वैकल्पिक व्यवस्थापनको लागि खोजी गरेको भए पनि तदारुकताका साथ तयारी नथालेका कारण रिपोर्ट आएको घण्टौं बितिसक्दा समेत संक्रमितहरु समुहमै क्वारेन्टाइनमा छन् ।
जिल्लाको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकामा आज दशजना कोरोना भाईरस (कोभिड–१९) का बिरामीको पहिचान भएको छ । उनीहरु मध्ये निसीखोलाको राजकुतमा रहेको क्वारेन्टाईनमा तीन जना छन् । भारतबाट आएकाहरुको ठुलो समुह उक्त क्वारेन्टाईनमा छ । संक्रमितलाई त्यहाँबाट अलगै अस्पतालमा नलगिँदा क्वारेन्टाईनमा रहेका अरुमा त्रास छाएको छ । गलकोटको रिघामा रहेको मनेवा प्राविको क्वारेन्टाईनमा रहेका मध्ये २ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ पनि भारतबाट आएका दजर्नौं मान्छेसँगै बसेका छन्, रिघाकै रत्न राज्यलक्ष्मी माविमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई पनि त्यहाँबाट ननिकालिएको गलकोट नगरपालिकाले जनाएको छ । बडिगाड गाउँपालिकाको भानु माध्यमिक विद्यालय क्वारेन्टाईनमा रहेका ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ पनि धेरै मानिसहरु भारतबाट आएर बसेका छन् ।
उनीहरुलाई कहाँ राखेर कसरी उपचार गर्ने भन्ने बिषयमा जिल्ला कमाण्ड पोष्ट बैठक बसेर निधो गर्दैछ । ‘नेपाल सरकारले पनि नयाँ कार्यबिधि बनाएको छ, सोही अनुसार गर्नुपर्ला कि’ कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने, ‘अस्पताल ल्याउन सम्भव छैन्, आईसोलेसन पुग्दैन ।’ संक्रमित देखिएकै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थामा आईसोलेसन बनाउने वा पायक पर्ने मुख्य स्वास्थ्य संस्थामा पु¥याउने भन्ने बिषयमा कमाण्ड पोष्टले छलफल गर्दैछ । तर कमाण्ड पोष्टको निर्णय आउने र संक्रमितलाई क्वारेन्टाईनबाट निकाल्ने बेलासम्म धेरै ढिला भैसक्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे बताउँछन् ।
गण्डकी प्रदेशमा विहिवार एकै दिन देखिएका १६ नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै बागलुङमै देखिएका छन् । यहाँका तीन स्थानीय तहका क्वारेन्टाईनमा रहेका दश जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै, बडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समुहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । जिल्ला कमाण्ड पोष्टका अनुसार उनीहरु सबैको घर नजिकैको स्वास्थ्य संस्था वा क्वारिन्टिनलाई आईसोलेसन बनाएर उपचार सुरु हुनेछ । तर यो समाचार तयार पार्दा सम्म उनीहरुको उपचार गर्ने वा सुरक्षित राख्ने आईसोलेन कक्षकै बिषयमा टुंगो भने छैन् ।
पूर्व तयारी नरहेका कारण उनीहरुलाई उपचार स्थलमा पु¥याउन भने समय लाग्ने भएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा रहेका १२ वेड आइसोलेसन मध्ये ७ जनाको यस अघिनै उपचार सुरु भएको छ भने पाँच शैया मात्रै बाँकी छन् । बागलुङमा पछिल्लो समय थपिएकासँगै संक्रमितको संख्या १८ पुगेको छभने दुई जना निको भएर घर फर्किएका छन् । गाउँमा पुर्वाधार नरहेकाले सदरमुकामनै लानुपर्नेमा स्थानीय तहका प्रमुखहरुले अड्डी कसेका छन भने सदरमुकामको अस्पताल भरीएकाले विकल्पको खोजी गर्नुपर्नेमा कमाण्ड पोष्ट छ । स्थानीय तह र कमाण्ड पोष्टका बिच समन्वय र समझदारी नहुँदा समुदाय स्तरमा कोरोना फैलिने त्रास झन बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->