म्याग्दी, २२ जेठ– म्याग्दीको बेनीमा घर भई हाल अष्ट्रेलियामा कार्यरत एक युवकले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा बेनी अस्पताललाई डेंगु किट र मास्क सहयोग गरेका छन् ।
बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हाल अष्ट्रेलियामा रहेका हिक्मत श्रेष्ठले बुबा दलप्रसाद र दाई हिमाल श्रेष्ठमार्फत अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पताल प्रमुख डा. अमृत अधिकारीलाई ६० थान डेंगु किड र ४ सय थान सर्जिकल मास्क सहयोग गरेका हुन् ।
अष्टे«लियामा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रेष्ठले जिल्लामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेपछि उपचारमा सहज हुने गरी किट उपलब्ध गराउँदै थप आवश्यक परेमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
श्रेष्ठले अष्टे«लियामा कोरोनाका कारण रोजगार गुमाएका तथा समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । कार्यक्रममा कोरोना महामारी र बन्दाबन्दीको समयमा अस्पतालमा आवश्यक पर्ने साम्रागी सहयोग गरेकोमा ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले धन्यवाद दिएका थिए ।





