बागलुङ, २३ जेठ -पहिलो पटक बागलुङमा संक्रमित देखापर्दा भयावहको अवस्था सिर्जना भयो । त्यतिबेला तर्सिएका सर्वसाधारण समेत बिहिबार दश जनामा कोरोना संक्रण पुष्टि हुँदा त्यति धेरै वास्ता गरेनन् ।
लामो समय लकडाउन पालना गर्दै घरभीत्रै रहेका सर्वसाधारण बिस्तारै सडक र व्यवसायीक प्रतिष्ठानहरुमा समेत देखिन थाले । बैंकहरुमा भीडभाड नै छ । खाद्यान्न, दुध लगायतका बहानमा गुडेका गाडीहरुमा पनि उस्तै भीड छ । पहिलो पटक बागलुङमा गत चैतमा कोरोना संक्रमण भएका व्यक्तिको पहिचान हुँदा भन्दा अहिले कयौं गुणा बढी जोखिम छ, तर सतर्कता भने घट्दै गएको छ ।
बागलुङमा मात्रै होईन पछिल्लो पटक संक्रमण देखिएका गण्डकी प्रदेशका सबै जिल्लामा जोखिमको अवस्था उस्तै छ । बिशेष गरेर भारतवाट आउनेहरुका कारण जोखिम बढिरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ बताउँछन् । पछिल्लो पटक बिहिबार गण्डकी प्रदेशका चार जिल्लामा कोरोना संक्रमण रहेको पुष्टि भएका १६ जना सबै भारतबाट आएका हुन् ।
कोही भारतमै क्वारेन्टाईनमा बसेर आएका छन्भने केही स्थानीय तहले बनाएको क्वारेन्टाईनमा बसेको पाँच दिन पछि कोरोना जाँचका लागि थ्रोट स्वाव संकलन गरिएका हुन् । बागलुङको निसीखोला गाउँपालिकाले वडा नं. ७ को नरसिंहकोट मन्दिरको रामकोट टावरमा बनाएको क्वारेन्टाईनमा बसेका २६ जना मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुसँगै रामकोटमा बसेका २३ जनामा कोरोना नरहेको प्रादेशिक प्रयोगशालालले जनाएको छ ।
धेरैको संख्यामा रहेकाले उनीहरु मिलाएर एउटै कोठामा बस्ने पाँच देखि दश जना छन् । जहाँ नत एक मिटरको सामाजिक दुरी कायम हुनसक्थ्यो नत शौचालय लगायत उनीहरुले प्रयोग गर्ने सामग्रीहरु अलग अलग थिए । उनीहरुको स्वाव गत जेठ १८ गते संकलन भएको हो । प्रादेशिक प्रयोगशाला पोखरामा स्वाव पठाईएको पाचौं दिनका दिन मात्रै रिपोट आयो । एकै ठाउँमा बसेका कसैको नतिजा नेगेटिभ छभने कसैको पोजेटिभ । पोजेटिभ भएकालाई धौलागिरी अस्पताल पठाएर गाउँपालिकाले नेगेटिभ भएकालाई होम क्वारेन्टाईन पठाउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य बताउँछन् ।
यस्तै, बडिगाड गाउँपालिकाको भानु मावि क्वारेन्टाईनमा ५० जना थिए । उनीहरुमध्ये केहीको मात्रै थ्रोट स्वाव परीक्षणका लागि पठाईएको हो । चार जनामा पोजेटिभ देखिएको कोरोना अन्यको भने नेगेटिभ छ । उनीहरुको स्वाव जेठको १७ गते पठाईएको हो । छैटौं दिनका दिन आएको नतिजाले एकै ठाउँमा बसेकाको समेत नेगेटिभ र पोजेटिभ देखाएपछि कोरोना नरहेको पुष्टि भएकाहरुलाई घर पठाउने वा क्वारेन्टाईनमै राखेर ट्रेसिङ गर्ने भन्नेमा गाउँपालिकाको स्वास्थ्यशाखा अन्यौलमा छ ।
‘माथीको निर्देशन जे आउला त्यहि गरौंला भनेर बसेका छौं’ स्वास्थ्य शाखाका प्रमुख चुडामणी कँडेलले भने ‘नेगेटिभ आएकाहरुमा पनि यो बिचमा सरेको हुनसक्छ त्यसको लागि के गर्ने भन्ने छैन् ।’ जाँचका लागि पठाएको स्वावको नतिजा आउन समय लाग्ने र क्वारेन्टाइनमा समेत धान्नै नसक्नेगरी भारतबाट आएकाहरु रहेकाले कोरोना संक्रमण जोखिम समुदाय स्तरमा रहने उनले बताए ।
जिल्लाको गलकोट नगरपालिकामा देखिएका संक्रमितहरुसँग स्वाव पठाएपछि पनि २५ जना नेगेटिभ रिपोर्ट आउनेहरुले ६ दिनको समय बिताए । त्यहाँ पनि नेगेटिभ आउनेहरुलाई घर पठाउने तयारी भैरहेकै छ ।
म्याग्दीमा कोरोना पोजेटिभ रिपोर्ट देखिएका मंगला गाउँपालिका वडा नं ४ बरंजाका १९ वर्षिय युवक भारतको वाराणासीमा २२ दिनसम्म क्वारेन्टिनमा बसेका र म्याग्दी आएको ५ दिनमा कोरोना संक्रमण भेटिएको छ । कोरोना पुष्टि भएका युवा बेनी नगरपालिका–८ न्यू वेष्ट प्वाइन्ट आवासीय माविको रहेको क्वारेन्टाइनमा बसेका थिए । उनको जेठ १७ गते परीक्षणका लागि स्वाव लिइएको र १८ गते पोखरा पु¥याइएको जिल्लास्थित कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए । भारतबाट उनीसंगै आएका अन्य ३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ वर्षिय युवामा बिहिबारनै कोरोना संक्रमणको पुष्टि भयो । जेठ १८ गते स्वाब परीक्षणको लागि नमुना संकलन गरिएकोमा उनको रिपोर्ट आउन पनि ५ दिन लाग्यो । नेगेटिभ रिपोर्ट आएकाहरुपनि पोजेटिभ आउनेहरुसँग चार÷पाँच दिनको समय बिताएका घटना गण्डकीका सबै जिल्लामा छन् । हाल गाउँपालिकाको क्वारेन्टिनमा भारतबाट आएका ५१ जना रहेको गाउँपालिकाले जनाएको छ ।
पर्वतको बिहादी र फलेवास नगरपालिकाका पाँच जनामा संक्रमण देखियो । उनीहरु कुश्मामा रहेको सामुदायीक क्वारेन्टानमानै थिए । पर्वतमा पनि उनीहरुसँग रहेका केहीको रिपोर्ट नेगेटिभ आएको छ । सबै जिल्लामा नेगेटिभ आएकाहरुलाई घर पठाउने तयारी भैरहेको छ । तर स्वाव संकलन भएर नतिजा आउनेबेला सम्म संक्रमितको सम्पर्कमा रहेको बिषयमा भने कसैले पनि खोजेको भेटिएन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एकजना संक्रमित व्यक्ति र अर्को निसंक्रमण रहेको व्यक्ति १५ मिनेट एक मिटर भन्दा कम दुरीमा रहेभने कोरोना संक्रमण फैलिने सम्भावना हुन्छ । एक जना स्वस्थ्य मानिसलाई कोरोनाको संक्रमण भएको पाँच दिन सम्म एकान्तमा राखेपछि मात्रै कोरोनाको जाँच गर्न सकिन्छ । एकान्तमा नरहेकाहरुमा चार पाँच दिन पहिला लिएको थ्रोट स्वावको नतिजा मात्रै मान्ने हो भने बिचमा अरु कसैबाट सरेको भाईरसको बारे जानकारी नहुने विश्व स्वास्थ्य संगठनको निर्देशिकामा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौ बताउँछन् । कुनैपनि क्वारेन्टाईनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सामान्य सामाजिक दुरी पनि कायम भएको नपाईएकाले संक्रमणको सम्भावना रहने चिकित्सकहरुनै बताउँछन् ।
स्थानीय तहले बनाएका क्वारेन्टाईनको मापदण्ड विश्व स्वास्थ्य संगठनले सिफारीस गरे अनुसारको नहुनु र थ्रोट स्वाव संकलन भएपछि नतिजा आउन समय लाग्ने गरेकाले संक्रमण समुदाय स्तरमा फैलिन पनि सक्छ । नेगेटिभ रिपोर्ट आएर समुदायमा घुलमिलहुनेहरु त्यसको कारक बन्न सक्ने गुरौले सुझाए ।
गण्डकी प्रदेशका ११ जिल्लामा नेपाल सरकारको प्रोटोकल अनुसारका व्यक्तिहरुको थ्रोट स्वाव लिएर कोरोनाको जाँच गरीरहेको प्रादेशिक प्रयोगशालले भने स्वाव संकलन भएको कम्तिमा तीन दिनमा मात्रै नतिजा दिन सकिने बताउँछ । ‘चाप छ, जनशक्ति र मेसिनको पनि अभाव छ’ प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले भनिन, ‘पालै पालो जाँच्दा समय लाग्ने गरेको छ ।’ भारतबाट आएर क्वारेन्टाईनमा बस्ने मात्रै गण्डकीमा आठ हजार भन्दा धेरै छन् । उनीहरुको प्रोटकल अनुसार समयावधि पु¥याएर स्वाव संकलन गर्दा पनि दिनमा हजार भन्दा धेरैको स्वाव संकलन हुन सक्छ तर किटको अभाव र अन्य कारण देखाएर स्वाव संकलन समेत द्रुत भएको छैन् ।
एउटै क्वारेन्टाईनमा बसेकाहरुको स्वाव पठाएर पनि नतिजा आउन समय लाग्दा संक्रमितबाट संक्रमण नरहेको ब्यक्तिमा कोरोना सर्नसक्ने भन्दै आवाजहरु उठिरहेका छन् । बडिगाडका स्वास्थ्य शाखा प्रमुख कँडेल भन्छन, ‘लामो समय एकै ठाउँमा बसेकालाई होम क्वारेन्टाईनमा पनि उच्च निगरानीका साथ राख्न नसक्ने हो भने भयावह अवस्था नआउला भन्न सकिदैन ।’





