बागलुङ, २३ जेठ – धौलागिरी अस्पताल विकास समितका अध्यक्ष केबि राना मगर, सदस्य शालिकराम शर्मा र ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । धौलागिरी अस्पतालले सोमवार तिनै जनाको थ्रोड स्वाव संकलन गरेर मंगलवार प्रादेशिक प्रयोगशाला पोखरा पठाएको थियो । प्रादेशिक प्रयोगशालाले स्वाव परीक्षणको रिपोर्ट शुक्रवार दिउसो सार्वजानिक गरेको हो । ‘उहाँहरु तिनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ’, प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख सपना सुवेदीले भनिन, ‘परीक्षणका लागि प्रयोगशालामा आएका स्वावको संख्या धेरै भएकाले क्यूमा राखेर परीक्षण गर्दा ढिला भएको हो ।’
सरकारले धौलागिरी अञ्चल अस्पताललाई कोरोना उपचारको लागि डेडीकेटेड अस्पतालको रुपमा घोषणा गरेपछि तिनै जना अस्पताल निकट रहेर काम गरेका थिए । धौलागिरी अस्पतालले नेपालकै पाँचौ र छैठौ संक्रमित विरामीको उपचार गरेको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् । अस्पतालमा आरडिटी परीक्षण गर्दा सम्पादक गौतमको रिपोर्ट पोजेटिभ आएपछि तिनै जनाको स्वाव संकलन गरिएको थियो । यी तीन जनासहित बागलुङका क्वारेन्टाईनमा रहेका अन्य ४६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । काठेखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका २३ जना र निसीखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएका बागलुङका अर्का एक जना पत्रकारको पिसिआर रिपोर्टको नतिजा आउन भने बाँकी छ ।





