बागलुङ, २३ जेठ– एकीकृत दलीत मंच अमलाचौरले जातीय बिभेद बिरुद्ध शुक्रवार वृहत जनचेतना मुलक -याली, रुकुम घटनाको बिरोध र ज्ञापनपत्र बुझाएको छ ।
अधिकारकर्मी, दलीत समुदाय लगायतले नारा जुलुस गर्दै गाउँ परिक्रमा गरेका थिए । साथै उनीहरुले वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएको अधिकारकर्मी पूर्ण परियारले बताए ।
मंचका अध्यक्ष निसान बिकको अगुवाइमा गरिएको अभियानमा रुकुममा भएको जातीय बिभेदले देशको शिर निहुरिएको भन्दै उत्पिडित दलीत समुदायको संजाल बागलुङका पूर्व महासचिव पूर्ण परियारले दोषीमाथी कडा कारवाहीको माग गरेका थिए । उनले अब आइन्दा जातीय बिभेदका यस्ता घटना हुन नदिने वातावरण बनाउन समेत आग्रह गरे । अन्तरजातीय बिबाहको बिषयमा कथित उपल्लो जातीकाहरुले कुटपिट गरेर दलीत समुदायका ६ जना युवालाई मारेर भेरी नदीमा फालेका थिए । उक्त घटनालाई राज्यले पनि अझै गम्भिर रुपमा नदिएको उनीहरुको आरोप छ । कार्यक्रममा स्थानीय दलीत अगुवाहरुले छुवाछुत गर्ने काम गम्भिर अपराध भएपनि त्यस्तो अपराध नियन्त्रणमा राज्य उदासिन भएको आरोप लगाए । छुवाछुत मुक्त घोषणा भएपनि अहिले सम्म व्यवहारमा नहुनु बिडम्बनाको कुरा भएको परियारले बताए ।





