बागलुङ, २३ जेठ– बिहिबार कोरोना संक्रमण पुष्टि भएका दशैं जनाको धौलागिरी अस्पताल बागलुङमा उपचार सुरु भएको छ । बडिगाड गाउँपालिका ४, निसीखोला गाउँपालिकाका ३ र गलकोट नगरपालिकाका ३ जनालाई अस्पतालको आईसोलेसनमा राखेर उपचार थालिएको हो ।
एम्बुलेन्स अभावका कारण संक्रमण पुष्टि भएको झण्डै ३३ घण्टापछि निसीखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका तीन जना शुक्रबार मात्रै अस्पताल आईपुगेका छन् । सात जना बिहिबारनै अस्पताल आएका थिए । निसीखोलाका संक्रमितलाई बडिगाड गाउँपालिकाको मातहतमा रहेको एम्बुलेन्सबाट ल्याईएको हो ।
पहिलो चरणको चेकजाँचका क्रममा उनीहरुमा कुनैपनि समस्या नरहेको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले बताए । ‘उहाँहरुमा कुनै सिमटम छैन, यस्तो खालको बिरामीलाई होम आईसोलेसनमा राख्ने सरकारले निर्देशिका बनाएको छ’ उनले भने ‘तत्कालका लागि त्यो सम्भव नभएकाले अस्पतालमा ल्याईएको छ ।’
१२ शैय्याको मात्रै आईसोलेसन कक्ष बनाएको अस्पतालले बिहिबार एकै पटक दशजनामा कोरोना संक्रमण पुष्टि भएपछि थप ४ शैय्या थपेको थियो । प्रसुति कक्षलाई आईसोलेसन बनाएर उनीहरुको उपचार थालिएको हो । यसअघिनै ६ जना अस्पतालमा उपचाररत छन्भने दुई जना पहिलेनै निको भएर घर फर्किएका छन् । ‘अब समस्या प्रसुतिका लागि हो तर हामीले जसोतसो पोषण गृह प्रयोग गरेर भएपनि सेवा रोक्दैनौं’ पोखरेलले भने ‘केही समय उपचार हुन्छ, कुनै पनि लक्षण नदेखिएका बिरामीको हकमा सरकारको निर्देशिका बिस्तारै पालना गर्नैपर्छ ।’
अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारमा खटिँदा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिइ), मास्क, सेनिटाईजार लगायतका समाग्री एक साताका लागि पुग्ने मात्रै रहेको जनाएको छ । संक्रमित बढ्दै जाँदा उपचारमा खटिने स्वास्थयकर्मीको परिचालन धेरै हुने र स्वास्थ्य सुरक्षा सामग्री पनि बढी खपत हुने भएकाले अभाव हुनसक्ने अस्पतालले जनाएको छ ।





