बागलुङ, २४ जेठ– ताराखोलाका एक जना बिरामी छन् । उनी एचआइभी एड्सबाट संक्रमित हुन् । तर उनले अहिलेसम्म आफ्नो नाम गोप्य राखेका छन् ।
गोप्य रुपमा धौलागिरी अञ्चल अस्पतालमा आएर उनले एआरटी औषधि सेवन गर्थे । अस्पतालले तोकेको स्रोतव्यक्तिले उनीजस्तै जिल्लाभरका ४ सय ९९ जना एचआइभी संक्रमितलाई नियमित निशुल्क औषधि बितरण गरिरहेको थियो । यो काम गोप्य हुने भएकोले सार्वजनिक गरिंदैन । तर नियमित काम भैरहेको थियो ।
गत चैत ११ गतेदेखि भने देश लकडाउनमा छ । मानिसहरु अत्यावस्यक काम भएर पनि सदरमुकाम तथा अन्य पालिकाहरुमा आउजाउ गर्न कठिन छ । तर गम्भिर प्रकृतिका रोगको उपचार तथा औषधि बितरणमा स्वास्थ्य कार्यालय र धौालागिरी अञ्चल अस्पतालले कोरोना संक्रमणको जोखिम मोलेर पनि सेवा दिइरहेको छ । बिशेषगरी एचआइभी एड्स र क्षयरोगको संक्रमण भएका बिरामीलाइ अप्ठ्यारो समय नभनीकनै उपचार र औषधि बितरण गरिएको हो ।
त्यसका लागि अस्पतालकै दुई जना कर्मचारीले बढी जोखिम मोलेर काम गरिरहेका छन् । एचआइभीतर्पm परामर्शदाता प्रदिप आचार्य र क्षयरोगतर्फ क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरे । उनीहरुको यो अभियानमा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीका इन्चार्जहरुले पनि साथ दिएका छन् । त्यसका लागि उनले बागलुङका सबै पालिकामा पुग्नै पर्छ । बिहिबारमात्रै आचार्यले ताराखोलामा पुगेर संक्रमितलाई एआरटी औषधि बितरण गरेर फर्केको बताए । ‘गम्भिर रोग लागेका र संक्रमितको नाम गोप्य राख्ने नीति अनुसार घरमा पुगेर उपचार गराएका हौं;’ आचार्यले भने, ‘महिनामा कम्तिमा १ सय ६३ जनालाई भेटेर औषधि बितरण गरिरहेको छु ।’ चारसयको संख्यामा रहेकामध्ये सदरमुकाम आसपासमा भएकाहरु अस्पतालमै आउँछन् । कतिपय बसाइै सरेका छन् ।
टिवीतर्फ गम्भिर अबस्थाका ७ जना छन् । जिल्लाभर २ सय बढीलाई प्रत्यक्ष निगरानीमा औषधि खुवाउनुपर्छ । त्यसका लागि स्वास्थ्य चौकीका स्वास्वासथ्यकर्मीले पनि साथ दिएका छन् । तर पनि जिम्माको काम भएकोले लागत राख्ने, कतिपय स्थानमा आँफै पुग्ने गरिरहेको घिमिरेले बताए ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले हरेक पालिका र स्वास्थ्य चौकीको तथ्यांक अपडेट गरेर क्षयरोगको औषधि पठाउने र खुवाउने काम गरिरहेको बताए । लकडाउनको कारण दैनिक कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्ने र बचाउने काममा व्यस्त भएपनि अत्यावस्यक सेवाको रुपमा औषधि पठाउने, खाए नआएको अपडेट गर्ने काम भने भैरहेको उनले जानकारी दिए ।
एचआइभीतर्फ धौलागिरी पोजेटिभ समूहले औषधि बितरणमा साथ दिएको थियो । लकडाउनपछि भने समूहका कर्मचारी गाउँ गाउँ जान नसक्ने अबस्था भएपछि आचार्यले एक्लै काम गरिरहेका हुन् । समूहले संक्रमितको पहिचान र खोजी गर्ने अभियानमा भने निरन्तर सहयोग गरिरहेको छ । एड्स र क्षयरोगका संक्रमितले नियमित र तोकिएकै समयमा तोकिएको औषधि अनिवार्य खानुपर्छ । त्यसरी खाने औषधिले उनीहरुको जीवन बाँचेको छ । ‘नियमित औषधि खाएकै कारण लामो समयदेखि स्वस्थ्य भएर बाँचिरहेकी छु’ बानपा १३ की एक महिलाले भनिन्, ‘नियमित औषधि सेवन र आफ्नो नियमित अभ्यास सफल भयोभने मानिस मर्दैनन् ।’ संक्रामक रोग भएकोले यी दुवै रोगको लागि सरकारले निशुल्क औषधि सेवनको व्यवस्थापन गराएको हो ।





