बागलुङ, २४ जेठ– भीर मौरीको मह शिकार गर्ने बेला बागलुङको ताराखोला गाउँपालिका– ५ मा पर्ने छेल्डर खोलाको महभीरमा मह उत्सव लाग्थ्यो । गाउँभरीका युवा जम्मा भएर अक्करे भीरमा रहेको मौरीको पोलामा भीरमुनिबाट आगो लगाउँथे । धुँवाले निसास्यिएका मौरी भागेपछि हेर्दै डरलाग्दा अक्करे भीरमा युवा झुण्डिन्थे र मह निकाल्थे । गाउँका बुढापाकादेखि केटाकटीसम्म जम्मा भएर मह काँडेको रोमाञ्चक दृश्य हेर्थे । भीरछेउमा पुगेका गाउँले सबैले भाग पाउँथे ।
कतिले त्यहीँ मह खाँदै रमाउँथे भने कतिले मह बोकेर घर फर्किन्थे । भीरमौरीको मह काँड्ने ताराखोलाको परम्परा नै हो । कोरोना कहरका कारण पहिलेका बर्षहरुमा जस्तो यो बर्ष मौरीभिरमा रौनक आएन । ताराखोलाका मगर जातीको परम्परा नै भएकाले भीरमौरीको मह यो बर्ष पनि काँडियो तर बिगतमा जस्तो धेरै गाउँले जम्मा भएनन् ।
सामाजिक दुरी कायम गर्नुपर्ने, एक अर्काबीच सचेत र सजग हुनुपर्ने भएकाले आवश्यक मान्छेहरुको समुहमात्रै भीरमा पुगेर मह काँड्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । वर्षौँदेखि आफ्नो पुख्र्याैली चलनका रूपमा ताराखोलाबासीले ज्यानै दाउमा राखेर डरलाग्दो भीरबाट भीरमौरीको मह निकाल्दै आएका छन् । हरेक बर्ष जेठको अन्त्यतिर सुरु हुने यहाँको मह काँड्ने उत्सव यो बर्ष पनि सुरु भएको छ । मह काँढ्न जानेहरू झण्डै ५ सय मिटरभन्दा अग्लो भीरमा डोरीबाट निर्माण गरिएको भ¥याङको सहायताले भीरमा सिंगौरी खेल्दै मह निकाल्छन् । ताराखोलामा निंगालोको चोयाले बनाएको डोरीको सहयताले भीरमा जाने चलन छ । मौरीको टोकाइबाट बच्न शरीरमा बाक्लो कपडा, हातमा पन्जा र अनुहारमा जाली लगाएर मह सिकारीहरू भीरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन् अनि मौरीका चाकाहरू खसाल्छन् ।
मौरीका पोला खसालेर राख्ने अनि मह काँड्ने परम्परागत बाँसको चोयाका सामग्रीहरुकै प्रयोग हुने गरेको छ । धार्मिक परम्परासँग समेत जोडिएको यहाँको भीरमैरीको मह काँड्नका लागि निश्चित प्रकृया पु¥याउनुपर्ने मान्यता रहेको अध्यक्ष घर्ति बताउँछन् । ‘भीरमा आगो लगाउनुपूर्व पुजाआजा हुन्छ, त्यहाँ जाने चोखो बस्नुपर्ने मदिरा खान नहुने मान्यता छ’ अध्यक्ष घर्तिले भने ‘यो सबै गर्दा चोटपटक लाग्दैन, सुरक्षित भइन्छ भन्ने मान्यता मगर समुदायमा छ ।’ भीरमा मौरीको घार रहेको आधारमा यहाँको शिकार कति दिन लम्व्याउने भन्ने कुराको निर्धारण हुन्छ । यो बर्ष ताराखोलाका महभीरमा १६ वटा घारको शिकार हुँदैछ ।
पाँच दिन लगाएर सबै घारको शिकार गर्ने योजना रहेको ताराखोलाका स्थानीय बताउँछन् । हरेक बर्ष हुने यहाँको भिरमौरीको शिकारबाट १ सय ५० देखि २ सय ५० लिटरसम्म मह निकाल्ने गरिएको छ । गाउँले सबै जम्मा भएर बाँड्ने भएकाले व्यवसायीक खरिद बिक्री त हुँदैन तर बाँडेर घर लगेकाहरुले यहिं मह बेचेर आम्दानीसमेत गर्ने गरेको अध्यक्ष घर्ति बताउँछन् । भीरमा सिकार खेल्न गएकाहरू कसैले भ¥याङ तयार पार्छन्, कोही खाना पकाउँछन्, कोही भिरमा चढ्छन् त कोहीले जमिनबाट डोरीको सहायतामा टोकरी तलमाथि गर्दै महका चाकाहरू जमिनसम्म झार्छन् ।
डोरीमा झुण्डिएर भीरमा बसेर चाका खसाल्ने काम गर्ने व्यक्तिलाई अरूको तुलनामा दोब्बर मात्रामा मह भाग लगाइन्छ भने अरू काम गर्नेहरूले समान परिमाणमा मह पाउँछन् । आफ्नो भागमा पर्ने महलाई उनीहरू एकै ठाउँमा बसेर परम्परागत रूपमै प्रशोधन गरेर सबैलाई बाँड्ने चलन ताराखोलामा छ । पहिले ताराखोलामा रहेका मगर समुदायको थरका आधारमा भीर बाँडिन्थ्यो । आ–आफ्नो भीर भागमा पर्नेहरुले मात्रै मह काँड्थे तर अहिले सबै मिलेर मह काँड्ने गरेको बुढापाकाहरु बताउँछन् ।
गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयको पुख्र्यौली पेसाको संरक्षण र पर्यटनसँग जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको अध्यक्ष घर्तिले बताए । ‘हनि हन्टिङमा धेरैको चासो छ यो बर्षदेखि यसलाई पर्यटनसँग जोडेर महोत्सव चलाउने योजना थियो तर कोरोनाले प्रभावित भयो’ उनले भने ‘आगामी दिनमा हामी थप व्यवस्थित गर्छौं ।’ भीरमौरीको मह औषधिको रूपमा प्रयोग हुने गरेको छ । जंगलमा बस्ने मौरीले जंगलमा नै पाइने विभिन्न जडीबुटीहरूका फूलबाट रस लिने भएकोले भीरमौरीको महलाई घर मौरीको महभन्दा पनि बढी महत्वको मानिन्छ । शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष फाइदा दिनुका साथै शक्ति प्रदान गर्ने तत्वका रूपमा पनि भीर महलाई लिने गरिन्छ ।
भिरमौरीको मह गाउँबाट नै एक लिटरको झन्डै १५ सय रुपैयाँमा बिक्री हुने गरेको भिर मह जिल्लाका बाहिरका बजारमा पठाउँदा भने अझै महँगो हुने गरेको छ । ताराखोलाका हिल अर्गललगायतका ठाउँमा समेत तीन बर्षको अन्तरमा भीरमौरीको महको शिकार हुने गरेको छ ।





