पोखरा, २५ जेठ – देशकै ठूलो महानगर हो, पोखरा । ४ लाख २ हजार ९९५ जना नागरिक बस्ने पोखरा ४६४.२४ वर्गकिलोमिटरमा फैलिएको छ । हो, आकारले पोखरा ठूलै छ तर गण्डकी प्रदेशको राजधानी पोखरा दुई दिनयता भने सानो लाग्न थालेको छ । पोखरा–८,का एक व्यक्तिमा कोरोना संक्रमण पुष्टिसँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको नालिबेलीले पोखरा सानो देखिएको हो । पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा अधिवक्ता अचानक बिरामी भए । उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं लगियो । त्यहाँसम्म ठीकै थियो तर अचानक उनी कोरोना संक्रमित भएको खबर आयो । उनलाई काठमाडौं छाड्न जानेहरुले सामाजिक सञ्जालमार्फत् यो जानकारी गराइसकेका थिए । संक्रमित भनिएका र जानकारी दिनेहरुसँग एकपछि अर्को व्यक्तिको भेटघाट भएको चर्चाले अहिले पोखरा तातिरहेको छ । सम्भवत् ः यो उपक्रम अझ केही दिनसम्म जारी नै हुनेछ । गण्डकीका मन्त्रीहरु पनि त्यो भीडमा मिसिएिको चर्चा चलिरहेछ । हल्लामा सत्यको मात्रा कम हुन्छ, आशा गरौं, त्यस्तो नहोस् ! तर, यो घटनाक्रमले पोखरा सानो रहेछ भन्ने चाहिँ प्रमाणित गरेको छ । हल्लाकै बीचमा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले पोखरा साँच्चिकै सानो भएको स्वीकारे ।‘हो, पोखरा सानै रहेछ’, उनले टेलिफोनमा ढोरपाटनसँग भने,‘कोरोनाले यो वा त्यो भन्दैन, विदेशमा मन्त्रीहरु पनि संक्रमणमा परेका उदाहरण छन्, जो भए पनि परीक्षणको दायरामा आउनुपर्छ ।’
औलो उन्मूलन हुन अघिसम्म पोखरा उपत्यकामा मान्छेको खासै बस्ती थिएन । औलो र विफर उन्मूलनपछि मात्रै पोखराले सहरको परिचय बनाउन थाल्यो । पोखरा आसपासका र अन्य जिल्लाबाट यहाँ मान्छे ओइरिन थाले । लाहुेर सहरको परिचय बन्न थालेका पनि त्यही बेलादेखि हो । त्यसैले पनि पोखराको बस्ती आफन्त र नातेदारले जेलिएको छ । शीरदेखि पुछारसम्म यहाँ सबैको अर्को व्यक्तिसँग पारिवारिक सम्बन्ध रहेको छ । त्यसैले पनि पोखरा सानो लाग्छ । यहाँ संक्रमण नै फैलियो भने नातागोतालाई पनि सर्ने डर रहन्छ ।
त्यसो त पोखराले यस्ता महामारीको सामना नगरेको भने हैन । बिफरले पोखरालाई सताएकै हो । नेपालमा सन् २०३२ सालतिर अन्तिम पटक विफर देखिएको थियो । सन् १९७० को दशकमा मात्रै नेपालले बिफरको महामारीबाट मुक्ति पाएको इतिहास रहेकहो छ । हैजाले पनि पोखरालाई गाँजेको प्राध्यापक डाक्टर जगमान गुरुङ बताउँछन् । सन् १८८५ को जेठ महिनामा काठमाडौंमा फैलिएको हैजाले सुरुमा पाटन, भक्तपुर र देशका अन्य भागलाई पनि प्रभाव पा¥यो । बेलायती रेजिडेन्सीको स्थापना भएकाले त्यो बेला महामारी अन्त्य गर्न उनीहरुले विशेष भूमिका निभाए । त्यो बेलाको परिस्थितिबारे उल्लेख गर्दै गिम्लेटले लेखेका छन्,‘हैजाले भेटेका असाध्य बिरामीलाई घाटको नदी किनारामा ल्याएर छाडिन्थ्यो,सक्नेले बितेका आफन्तजन जलाए तर गरीब र तल्लोजातका शव खोलामै फ्याँकिए । कुकुर, स्याल र गिद्धले लास तानेर किनारामा ल्याउँदै लुछ्दै गरे ।’ त्यो महामारीले काठमाडौंमा मात्रै ९ हजारभन्दा बढीको मृत्यु भएको नेपाल सरकारले जानकारी दिएको थियो ।
बढ्दैछ त्रास
कोरोना कहरले सहर त्रसित हुँदा यहाँको स्वास्थ्य व्यवस्थाबारे पनि चर्चा हुन थालेको छ । पोखराको सबैभन्दा ठूलो पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिएको छ । सो अस्पतालको आइसोलेसनमा अहिले ३ जनालाई राखिएको छ । अस्पतालमा चाप बढ्दै गर्दा त्यसले दिने ओपीडीलगायका सेवा प्रभावित हुने निश्चित देखिएको छ । संक्रमण बढेमा आइसोलेसन बेड त के कुरा ? यहाँका क्वारिण्टाइनहरु पनि अपुग हुने देखिएका छन् ।
शनिबार म्यान्मारबाट नेपाल फर्किएका एक युवा कास्की भित्रिए । उनी यहाँको अन्नपूर्ण गाउँपालिकाका बासिन्दा थिए । नेपाली सेनाको गाडीमा अन्नपूर्ण गाउँपालिका भित्रिएका उनलाई घरसम्म पु¥याउने दायित्व गाउँपालिका अध्यक्ष युवराज कुँवरमाथि आइप¥यो । उनले युवालाई घरसम्म पु¥याउने गाडी खोजे । तर, गाडी चालकहरु तयार भएनन् । युवराजले गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली युवाको गाउँ सल्यान पुग्यो । जसोतसो उनलाई घर पु¥याइयो । शनिबार नै कास्कीमा दुबईबाट १४ जना भित्रिए । तीमध्ये ४ जना पोखराकै थिए । उनीहरुलाई पोखरामै राखियो । रुपा गाउँपालिकालाई गाडीमा रुपा नै पठाइयो । अन्नपूर्णका ३ जनालाई लिन युवराज आफै आए । जापानबाट आएका एकजना तथा मादीका एकजना युवतीलाई पनि पोखराको मालेपाटनमा रहेको कृषि तालिम केन्द्रमा राखियो । त्यहाँ २ जना महिलासहित २७ जना पहिल्यै थियो । वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार बाराही माविमा २१ जना बसिरहेका छन् । ‘हामी धानेसम्म गछौं, नभए पोकापुन्तुरा झुण्ड्याउनु पर्ला नि’, उनले ढोरपाटनसँग भने । यता, रुपा गाउँपालिकाले क्वारिण्टाइनमा बसेका २२ जनामध्ये २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै उनीहरुलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाएको र बाँकीको अवस्था सामान्य रहेको जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले क्वारिण्टाइनमा रहेका बाँकीको अवस्था एकदमै राम्रो रहेको जनाउँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारिण्टाइन बनाउन तथा सुुरक्षाका सबै सचेतता अपनाउन आग्रह गरेका छन्् । पोखरा महानगरले चाहिँ विदेशमा रहेका नागरिक आउने क्रम बढेपछि यहाँका होटलहरुलाई क्वारिण्टाइन बनाउने अभियान थालेको छ ।
परीक्षणको गति सुस्त
प्रदेशमा विदेशबाट नागरिकहरु भित्रिने क्रम बढ्दै गर्दा परीक्षणको गतिप्रति भने प्रश्न उठाइएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुृरुङले ३ वटा पीसीआर मेसिनबाट परीक्षण गरिने बताए पनि एउटाबाहेक मेसिनले काम गरेको छैन । परीक्षणका लागि पठाइएका स्वाबहरुको रिपोर्ट आउन ढिला हुँदै गएको छ । गण्डकी प्रदेशमा ४,६८७ जनाको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएकोमा यो समाचार तयार पार्दासम्म ७५४ को रिपोर्ट नै आएको छैन । परीक्षण भएकामध्ये ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
लकडाउन खुकुलोको माग
नेपाल सरकारले आइतबारबाट मालपोत कार्यालय खुलाउने निर्णय गरेको छ । यता, पोखराको निजी क्षेत्रले लकडाउन खुकुलो बनाउने माग राख्दै आइरहेको छ । कास्कीमा संक्रमणको दर बढ्दै जाँदा नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी तथा पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले राखेको माग कसरी लागु गर्ने भन्ने चुनौति पनि थपिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा अर्थमन्त्री किरण गुरुङ लकडाउन खुकुलो बनाउने पक्षमा देखिएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीका अनुसार संघले लकडाउन खुकुलो बनाउन र बिहान १० देखि साँझ ५ बजेसम्म सुरक्षासहित व्यवसायहरु खुला राख्न सुझाव पनि बुझाइसकेको छ । ‘खोप नबनेको हुनाले संक्रमण कहिलेसम्म रहन्छ भन्न सकिँदैन’, उनले एक कार्यक्रममा भनेका थिए,‘ अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ,सधैं बन्द गर्नु ठीक हैन भन्ने हाम्रो सुृझाव हो,सुुरक्षित रहँदै बजार गतिशिल बनाउनु नै अहिलेको आवश्यकता हो ।’




