पोखरा, २६ जेठ – गण्डकी प्रदेशसभाले सोमबार ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यो विधेयक गत माघ ७ गते विभागीय मन्त्री विकास लम्सालले प्रदेशसभामा टेबुल गरेका थिए । हिउँदे अधिवेशनमा पेस भएको विधेयक सोमबार पारित भएको हो ।
गण्डकी प्रदेशले विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन सम्बन्धी कानुन सातै प्रदेशमध्ये पहिले ल्याएको हो । विधेयकले प्रतिष्ठान स्थापना गर्ने परिकल्पना गरेको छ । प्रतिष्ठानले विज्ञान तथा प्रविधिको क्षेत्रमा ज्ञान, सीप र दक्षताको विकास गर्ने, प्राकृतिक स्रोत र साधनहरूको दिगो रूपमा उपयोग गरी जनताको आर्थिकस्तर वृद्धिमा सहयोग गर्ने, वैज्ञानिक प्रणाली र अनुसन्धानमुखी शिक्षा प्रदान गर्न सहयोग गर्ने तथा विकास र सेवाप्रवाहसँग सम्बन्धित कार्यहरू गर्ने उद्देश्य राखेको छ । 
प्रदेशका प्राथमिकताका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरी दिगो विकास लक्ष्यसँग आबद्ध गर्ने, उपभोग्य र निकासीयोग्य वस्तुको उत्पादकत्व वृद्धि गर्ने प्रविधिको विकास गर्ने, गुणस्तर मापनको प्रविधि विकास गर्ने, लगायतका कार्यहरू गर्नेछ । यसको सर्वोच्च निकायका रूपमा कार्यकारी परिषद रहनेछ, जहाँ विभागीय मन्त्री अध्यक्ष र कार्यकारी निर्देशक सदस्यसचिव रहने गरी नौ जना सदस्य रहनेछन् ।
विधेयकले छुट्टै अनुसन्धान एकाई पनि स्थापना गर्न सकिने व्यवस्था गरेको छ । प्रतिष्ठानमा विज्ञान तथा प्रविधि विषयमा अनुसन्धानका लागि आवश्यकता अनुसार यस्ता एकाई स्थापना गर्न सकिने व्यवस्था विधेयकले गरेको छ ।
प्रदेशसभाले आइतबार ‘गण्डकी प्रवाधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन विधेयक’ पारित गरेको थियो । यो विधेयकको मस्यौदा सामाजिक विकास मन्त्रालयले तयार गरेको हो । प्रदेशमा आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने भन्दै सरकारले यो विधेयक ल्याएको हो । सदन असार १ गतेसम्मलाई स्थगित भएको छ ।





