शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाकै इपिसेन्टरमा चुलिंदै चुनौती

कोरोनाकै इपिसेन्टरमा चुलिंदै चुनौती

स्थानीय तहलाई व्यवस्थापनमा हम्मे-हम्मे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७७, बुधबार

बागलुङ, २८ जेठ– पछिल्लो समय कोरोना भाइरसको केन्द्रजस्तो बनेपछि ग्रामीण क्षेत्रका गाउँपालिकामा व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्लाबाट सहज सहयोग नपाएको समेत उनीहरुले गुनासो गर्न थालेका छन् ।
बडिगाड गाउँपालिकामा १५ जना, निसीखोलामा ६ जना र बरेङमा ८ जना संक्रमित पुगेका छन् । त्यसबाहेक गलकोटमा ३, ढोरपाटन नगरपालिका र ताराखोलामा एक÷एक जना संक्रमित छन् । सदरमुकाम बागलुङ नगरपालिकाका २ जनाभने निको भएर घर फर्केका छन् । अहिलेसम्म काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा संक्रमित भेटिएका छैनन् ।
भेटिएका अधिकांस पश्चिमका छन् । उनीहरुलाई समयमा उद्दार गर्ने काममा समेत जिल्ला कमाण्ड पोष्ट गम्भिर नभएको आरोप लाग्न थालेको छ । ‘गत साता भेटिएका संक्रमितलाई दुई दिनपछि मात्र पठायौं, अहिले पनि सदरमुकामले चासो गर्दैन’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने, ‘यस पटकका संक्रमितलाई बुर्तिवाङको आइसोलेसन पठाउने निर्णय भएको छ ।’ कमाण्ड पोष्टले बनाउने भनेको १२ बेड क्षमताले बुर्तिवाङमा नपुग्ने भएपछि पश्चिमका तीन पालिकाको समेत सहभागिता हुनेगरी बुर्तिवाङमा ५० बेड क्षमताको आइसोलेसन बनाउने तयारी छ । केही बेड तयार भएर संक्रमितलाई राखिसकिएको छ । लामो समयको तयारी नभएकोले आइसोलेसन बनाए पनि शौचालय र स्नानगृह अभाव भैरहेका छन् ।
बडिगाडमा पनि यो समस्या छ । यहाँ सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । उनीहरुलाई सदरमुकाम ल्याउन पनि आलटाल गरिएको जनप्रतिनिधिले गुनासो गरे । आइसकेपछि उनीहरु धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा छन् । तर क्यामपसमा शौचालय दुर्गन्धित, एउटै हलमा सबै संक्रमित बस्नुपर्ने बाध्यता छ । अस्पताल नजिक भएकोले बिशेषज्ञ डाक्टरको सेवा तत्काल पाउनेबाहेक अन्य सेवा नभएपछि संक्रमित आत्तिएका छन् । ‘दुर्गन्धित ठाउँमा राखिएकोले संक्रमितले क्वारेन्टाइनभन्दा आइसोलेसनमा संक्रमण बढ्ने खतरा भयो भन्दै गुनासो गरेका थिए’ अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘सयौं मानिस भएकोले क्वारेन्टाइन व्यवस्थापनमा पनि चुनौती खेपेका छौं ।’ जेठ ९ गतेपछि सबैभन्दा धेरै बडिगाड गाउँपालिकामा भारतबाट भित्रिएका छन् । यहाँ झण्डै ५ सयजना भित्रिएकोले सबैलाई क्वारेन्टाइन बनाएर राख्न सास्ती परेको उनले बताए ।
निसीखोलामा पनि जेठ ९ गतेपछि ४ सय ५० जना भित्रिएको तथ्यांक रहेको वडा नं. २ का अध्यक्ष कुबिर बिकले बताए । ‘क्वारेन्टाइनबाटै संक्रमण फैलने खतरा नबनोस् भनेर रातदिन खटेर सुरक्षाका नीति बनाएका छौं’ बिकले भने, ‘एक व्यक्ति एक शौचालय बनाउन नसकेकोले बढी डर लागेको छ ।’ शौचालय प्रयोगमा बढी सचेत रहन दैनिक सफाइमा ध्यान दिने गरेको उनले बताए । बिद्यालयमा बनाइएका क्वारेन्टाइनमा ५० जनासम्मले एउटै शौचालय प्रयोग गर्न बाध्य छन् ।
बरेङका क्वारेन्टाइन तुलनात्मक व्यवस्थित बनाइएको छ । तर मंगलबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि आइसोलेसनमा पठाउने बिषय बढी जटिल भएको अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । ‘संक्रमण भएकालाई सदरमुकाम पठाउने बिषयको निर्णय गर्न १० घण्टासम्म लाग्ने बाध्यताले थप संक्रमणको जोखिममा छौं’ उनले भने, ‘आइसोलेसनको पूर्वाधार नभएकोले तोकिएको ठाउँमा पठाउनै पर्ने भयो ।’
होम आइसोलेसनको परिस्थितिसमेत आएकोले संभव हुने स्थानमा पालिका तहमै राख्ने योजना बनाइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । तर अहिलेसम्म प्रयोगमा ल्याउन नसकिएको उनले जानकारी दिए । धौलागिरी अञ्चल अस्पतालका एक स्वास्थ्यकर्मीले पनि अस्पतालमा लक्षण देखिएका बिरामी ल्याउने, संक्रमण भएपनि लक्षण नदेखिएकालाई प्रिआइसोलेसन र सम्बन्धीत पालिकाको सुरक्षित क्वारेन्टाइनमै बस्दा राम्रो हुने सल्लाह दिएको बताए । सुरक्षित शौचालय र खानेबस्ने व्यवस्थापन भएको क्वारेन्टाइनहरु अव्यवस्थित आइसोलेसनको तुलनामा सुरक्षित हुने उनले सुझाए ।
बिशेषगरी ग्रामीण पालिकाहरु संक्रमितलाई ओसार्ने सवारीसाधन पाउनबाट बञ्चित छन् । भएका सबारी धनीले पनि दोब्बर भाडा लिने, समयमा नआइदिने, एकपटक आएपछि सम्पर्क बिच्छेद गरेर बसिदिने गरेको जनप्रतिनिधिहरुले गुनासो गरे । क्वारेन्टाइनमा बसाल्न ल्याउने सवारीसमेत पाउन नसकेको उनीहरुले बताए । प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले चाहेमा जतिबेला पनि सवारी, इन्धन र अन्य जनशक्ती परिचालन गर्न सकेझै पालिकामा अधिकार नभएकोले संक्रमित भेटिंदा बढी सास्ती पर्ने गरेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->