बागलुङ, ३० जेठ – बागलुङ नगरपालिका–३ मा रहेको चिप्लेटी बसपार्कको भिरमा जथाभावी फोहोर फाल्दा प्रदुषित बनेको छ । बसपार्क संचालनमा आएको वर्षाै बितिसक्दा पनि त्यस आसपासको क्षेत्रमा तारबार नलगाउँदा मानवबस्ती र विभिन्न ठाउँबाट आउने बसहरुबाट निस्केका फोहोर भिरबाट तल फाल्दा दुर्गन्धित बनेको हो ।
जङ्गलमा दाउरा, घाँस र काठेखोलामा नुहाउन जाँदा बसपार्कभन्दा तलको बाटोमा जथाभावी फालिएको फोहोरबाट दुर्गन्ध आउने हुँदा नाकमुख छोपेर हिड्नु पर्ने अवस्था आएको स्थानीय प्रकाश किसानले गुनासो गरे । दिउँसोको समयमा मानिसको चहलपहल निकै हुने भएकाले साँझको मौका छोपेर स्थानीय तथा बसका कर्मचारीहरुले फोहोर सिधै भिरबाट फाल्ने गरेको किसान बताउँछन् ।

सहकारीले संचालन गरेको फोहोरमैला व्यवस्थापनको गाडी महिनामा १÷२ पटक मात्र आउने भएकाले लामो समयसम्म घरमै संकलित फोहोरबाट दुर्गन्ध फैलिन थालेपछि भिरबाट फाल्न स्थानीय बाध्य भएको अर्का स्थानिय कुलबहादुर किसानको भनाई छ । पटक पटक नगरपालिका तथा वडा कार्यालयमा बसपार्कको भिरालो भागमा तारबार लगाउन, जथाभाबी फालिएका फोहोर उठाउन ताकेता गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको किसानले बताए ।

फोहोर उठाउनका लागि सम्बन्धित निकायले चासो नदिएपछि बसपार्कदेखि पानी ट्याङ्की सम्मको बाटो वरिपरिको फोहोर स्वयम् व्यक्तिगत खर्चमा मजदुर परिचालन गरेर बाटो सफा गरिएको किसान बताउँछन् । स्थानियबासीलाई बसपार्कदेखि काठेखोलासम्म जाने बाटो सफा गर्न बारम्बार आग्रह गर्दा कसैले वास्ता नगरेको सामुदायिक प्रहारी सेवा गुठीका प्रहारी जवान रामचन्द्र चापागाईले बताए ।





